प्रतिपक्षी दलको दाबी गर्दै राजमोले दर्ता गरायो संसद् सचिवालयमा निवेदन

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले संसद् सचिवालयमा विपक्षी दलको नेताको दाबी गर्दै लिखित निवेदन दर्ता गराएको छ ।

२०७९ पुस २६ गते दिउसो १२ बजे राष्ट्रिय जनमोर्चाले संसद् सचिवालय सिंहदरबारमा पुगी निवेदन दर्ता गराएको हो ।

“सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन–२०७३” अन्तर्गत राजमोले विपक्षी दलको नेताको दाबी गरेको हो ।

राजमो केन्द्रीय कार्यालयका अनुसार सो ऐनले मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद गठन गर्न समर्थन गर्ने दलबाहेकका दलले मात्र विपक्षी दलको नेतामा दाबी गर्ने अधिकार प्रदान गरेको छ ।

यस सम्बन्धमा राजमोको भनाइ छ– ‘नेकपा (माओवादी केन्द्र) सहितकाले राष्ट्रपतिकहाँ सरकार गठनका लागि दलीय समर्थन बुझाएको र त्यस आधारमा विश्वासको मतसमेत संसद्बाट सत्ता गठबन्धनले दिनुका साथै नेपाली काङ्ग्रेसले समेत दलीय आधारमा नै माओवादी केन्द्र नेतृत्वको गठबन्धन सरकारलाई संसद्मा विश्वासको मत दिई समर्थन गरेको हुनाले कानुनी रूपमा काङ्ग्रेसले विपक्षी दलको हैसियत प्राप्त गर्न सक्दैन ।’

गत पुस २६ गते प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले प्रस्तुत गरेको विश्वासमतको प्रस्तावको पक्षमा संसद्भित्रका सरकारमा सामेल नभएकामेत १० ओटा दलले समर्थन गरेका थिए । राष्ट्रिय जनमोर्चाले भने विश्वसमतको विपक्षमा मतदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार