काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले सरकार बन्नुभन्दा अघि ठूला-ठूला कुरा गर्ने दल र सांसदका यथार्थ सरकार बनेपछि सार्वजनिक भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा सम्बोधन गर्दै केसीले अहिलेको संसद्को तस्बिर असाध्यै डरलाग्दो देखिएको बताएका हुन् ।
लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षी हुने भए पनि प्रधानमन्त्रीको चुनावमा नाटक देखाएको केसीले बताए । उनले भने, ‘संसद्मा सत्तापक्ष हुन्छ, प्रतिपक्षी हुन्छ । हामीले अन्त देखेको पनि त्यही हो, नेपालमा पनि पहिले देखेको त्यही हो । तर प्रधानमन्त्रीको चुनावमा नाटक देखियो ।’
त्यस्तै केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछाने र सहरी विकासमन्त्री विक्रम पाण्डेप्रति इंगित गर्दै भने, ‘सरकार बन्नुभन्दा अगाडि कस्ता-कस्ता ठूला-ठूला कुरा आएका थिए । सरकार बनेपछि कसको के छ रेकर्ड ? गृहमन्त्रीको के छ रेकर्ड ? सहरिया मन्त्रीको के छ रेकर्ड ?’
नेपालको लोकतन्त्र धराप परेको र यसलाई बचाउन आवश्यक रहेको उनले बताए । त्यस्तै चुनावमा गरिएका वाचा पनि दल र नेताहरूले बिर्सिएर गठबन्धन बनाएको उनको भनाइ छ । ‘सत्ताका लागि इमानजमानको कुरा पनि नहुने,जनतासँग गरेका प्रतिबद्धताका कुरा पनि नहुने,’ उनले भने ।
केसीले संसदमा बोलेको मत्व्यः
‘आज हामीहरुले सभामुखको निर्वाचन गर्दैछौं । यस भन्दा अघि सभामुखको निर्वाचन गरेको अनुभव पनि हामीसँग छ । यस पटक पहिलेपहिले भन्दा संसदको तस्वीर असाध्य डरलाग्दो देखिएको छ । किनभने संसदमा सत्तापक्ष हुन्छ । प्रतिपक्ष हुन्छ । हामीले संसदीय प्रणाली नेपालमा पनि देख्दै आएको हौं । र, अन्त पनि देख्दै आएका छौं । यहाँ त के भयो भने हलो काटन भनेर सात भाई वन गएका थिए बन्चरो लिएर । हलो काटने रुख रहेछ । के विचार गरेछन भने यो रुखलाई ढलेर तल भयो भने काठ सबै काम लाग्दैन । त्यसो भएर २ भाईले चाँही डोरी कम्मरमा बाँधेर रुख माथि तान्ने, पाँच भाईले फेद काटने । त्यसो भएपछि रुख तल जान्न । र, हलो चाँही सग्लासग्ली बाँडन पाईन्छ भनेर निर्णय गरेछन । ५ भाई फेदमा गएर गिँडन थालेछन । दुई भाई त्यत्रो रुख तान्न बसेको त रुख त गड्याम्म झ-यो तल । ५ भाई चाँही गईहाले रुखसित । अनि माथि जेब्राले बाँधेर बसेका पनि के भएछ रे भने हामीले हलो काटने, यिनीहरु राम्राराम्रा दार रोज्न यिनीहरु पो गए भनेर ती २ भाई पनि गएछन हेर्नुस । त्यस्तै भयो अहिले । प्रधानमन्त्री चुनावमा देखिएको यो नाटक त्यही हलो काटन गएका सात भाईको हविगत मैले देखे । सरकार बन्नुभन्दा पहिले ठूलाठूला कुरा गरेका साथीहरु सरकार बनेपछिको कसकसको कस्तो, कस्तो रेकर्ड आएको छ ।
हेर्नुस्त, गृहमन्त्रीको के छ रेकर्ड ? सहरी विकास मन्त्रीको के छ रेकर्ड ? विभिन्न मन्त्रीहरुको हेर्नुस्त रेकर्ड के–के छन ? कसरी आई राखेको छ । त्यसो हुनाले अहिले मुलुक एउटा अप्ठ्यारो संकटमा छ । त्यो चाँही सत्ताको लागि सिद्धान्तको कुरा पनि नहुने, इमानजमानको कुरा पनि नहुने, जनतासँग कवुल गरेको कुरा पनि पालना गर्न नपर्ने र विशुद्ध सत्ता र सत्ताका लागि जोसँग पनि शरण पर्ने, जोसँग पनि सामेल हुने । त्यसो हुनाले अहिलेको यो लोकतन्त्र छ, गणतन्त्र छ । यो अत्यन्त धरापमा परेको देखिएको छ । यसलाई बचाउन अत्यन्तै गाह्रो छ । यो मौका छोपेर शक्ति केन्द्रहरुले आफूले चाहेको खेल चाँही नेपालमा खेल्ने छन भोली । त्यसो हुनाले अव कुरा गरौं भने साथीहरुको चित्त फाट्ला । अहिले जो देखियो सरकारको तस्वीर । साथीहरुले यहाँ पेश गर्नु भएको छ । त्यो तस्वीरले के गर्छ भने त्यही हलोको रुख तल झरेपछि हलो रोज्न गएको स्थिति मुलुकको देखिएको छ । त्यसो हुनाले आजको यो सभामुखको चुनावमा धेरै साथीहरुले धेरै कुरा गर्नु भयो ।
प्रजातन्त्रको दुनिया पाठ पढाउनु भयो । विगतका सभामुखज्यूहरुको पनि कुराहरु गर्नु भयो । पहिले भन्दा यस पालीको संसदको वनावट, संसदीय प्रक्रिया, सरकार बनेको प्रक्रिया, सरकारमा सामेल भएका साथीहरुको विगत र वर्तमानले के देखाउँछ भने हामी झनझन अप्ठ्यारो स्थितिमा गएका छौं । यो किन भइराखेको छ भन्दाखेरी हामीले राणाशासनको विरुद्धमा, पञ्चायती शासनको विरुद्धमा, राजतन्त्रका विरुद्धमा हामी लड्यौं । तर यो उपलब्धि जुन हामीले ल्यायौं । यसलाई हामीले संस्थागत गर्न सकेनौं । हामीले अव बेकम्मा भयौं । सर्वसाधारण जनताको अगाडि पनि यी गणतन्त्रका लागि लडेका, पञ्चायती व्यवस्थाको विरुद्धमा लडेका, यी सबै नालायक भईसके । अव नयाँ नयाँ मान्छे आउनुपर्छ भनेर हल्ला भईराखेको थियो । नयाँ आउने वित्तिकै नयाँ को त देखि हालियो तस्वीर । फेदमा बस्ने पनि त्यो स्थिति । रुख तान्न बस्नेको पनि त्यो स्थिति । जे भएपनि राष्ट्रिय जनमोर्चाले अहिले पनि प्रतिगमन सच्चिएको छ भन्ने मुलुकमा भन्ने पक्षमा छैन । त्यसो भएर जुन पहिलेको गठबन्धन छ । पहिलेको गठबन्धन मध्येको नेपाली काँग्रेसले आफूलाई प्रतिपक्ष भनिरहेको छ । उसलाई चाँही प्रतिपक्ष नै भएर सरकारलाई समर्थन नगरी किन बस्न सकेन ? किन सकेन भने अघि गएकाल हलो त रोज्छन सोझासोझा भनेर ऊ पनि सामेल भयो । यो स्थितिमा जे भएपनि जस्तो भएपनि छातीमा मुड्कीले हानेर ईश्वरी न्यौपानेजीलाई राष्ट्रिय जनमोर्चाले सहयोग गर्छ ।’