
काठमाडौं । राष्ट्रिय सभा सदस्य तुलबहादुर विश्वकर्मा (राजेश विक)ले दलित शब्द हटाउँदैमा भेदभाव तथा छुवाछुत अन्त्य नहुने बताउनुभएको छ ।
आइतबार राष्ट्रिय सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद विकले ब्राम्हणवादी सोच र मनोविज्ञानमा परिवर्तन हुनुपर्ने बताउनुभयो ।
संविधानबाट दलित भन्ने शब्द हटाउन र आरक्षणको व्यवस्था खारेज गर्न आजाज उठिरहेका बेला सांसद विकको यस्तो धारणा आएको हो ।
उहाँले भन्नुभयो–
‘केहीदिन अगाडि हामीहरुले यही सदनबाट संकल्प प्रस्ताव पास गरि सकेका छौं । तर पनि समाजमा दलितमाथि हुँदै आएका भेदभाव छुवाछुत र उत्पीडनका घटनाहरु दिनदिनै बढ्दै गएका छन् । केही हप्ता अगाडि तराईमा एकजना उपाध्यय बुबा वा आमाको मृत्यु संस्कार उम्किने दिनमा जुन प्रकारको छुवाछूत गर्न दबाब दिने काम गरियो ठीक त्यही प्रकारको घटना काठमाडौंमा पनि घटेको कुरा समाचार माध्यमहरुबाट आएका छन् । एकजना कुनै अमुक व्यक्तिको चौरासी पुजामा बाजा बजाउन बोलाइयो र बाजा बजाउने कार्यक्रम भइसकेपछि त्यहाँ खानपिनको अवस्था आएपछि त्यो समयमा उहाँहरूमाथि त्यही प्रकारको भेदभाव गरियो । ती कुराहरु पनि पत्रिकामा आएको छ ।
यसरी दिनदिनै छुवाछूतका घटनाहरु बढ्दै जानुको पछाडि हाम्रो संविधान र कानुन क्रियाशील रहेको छैन भन्ने कुराको त्यो प्रमाण हो भन्ने म बुझ्दछु । र सरकारले आफूले गरेका वाचाहरु, संविधानमा लेखिएका बुदाँहरु र त्यसलाई कार्यान्वयन गर्नका लागि बनेका ऐनहरु तदारुकताका साथ व्यावहारमा लागू गर्नको लागि आवश्यक सञ्जाल निर्माण गरेर कुन विधि वा प्रक्रियाबाट त्यसलाई चाँडो भन्दा चाँडो समाजमा लागू गर्न सकिन्छ र दलित उत्पीडित समुदायलाई अनुभूत हुने गरेर त्यसको कार्यान्वयन गर्न सकिन्छ भन्ने कुरालाई तत्काल त्यतापट्टि ध्यानाकर्षण गर्न चाहन्छु ।
संविधानमा, कानुनमा जे जति कुराहरु अहिले आएका छन् वास्तवमा दलित समुदायको मुक्तिको लागि पर्याप्त छैनन् । आज पनि कतिपय हक अधिकारहरु लेखिनुपर्ने पाउनुपर्ने र उनीहरुले आशा गरेका कुराहरू बाँकी नै छन् ।
यही रोष्टममा केही समयअगाडि एकजना माननीयले दलितले पाउनुपर्ने हक अधिकार र कर्तव्य भन्ने शब्द नै हटाउनुपर्ने भन्ने शब्द राख्नुभयो । त्यो शब्द हटाएर दलित भन्ने शब्द राखेर समाजमा भेदभाव भएको हो वा हिन्दू ब्राहमणवादी चिन्तन र मनोविज्ञानको कारणले समाजमा भेदभाव कायम रहेको हो ? त्यो कुरामा हामीले प्रष्ट हुनुपर्छ कि भन्ने मलाई लाग्छ । यदि दलित शब्द प्रयोग गरेकै हुनाले दलित भएको हो भने भोलिबाट दलित नभनौं । तपाईलाई दलित शब्द नराख्दैमा कुनै नचिनेको ठाउँमा समानताको व्यवहार गर्ला तर तपाईंको गाउँठाउँमा फलानो दलितको बाउबाजे दलित थियो भनेर तपाईंमाथि भेदभाव त होला । त्यसैले यस शब्द हटाउँदैमा, संविधानमा उल्लेख नगर्दैमा छुवाछुत समाजबाट हट्ने हैन ।
उहाँले क्रान्तिकारी कुरा गरेर जानु भो, साम्यवादको कुरा गरेर जानु भयो, आजीवन कारावासको कुरा गर्नु भयो । त्यो आजीवन कारावास गराउन पनि कुनै कानुन त चाहिन्छ होला नि ? केही उल्लेख त गर्नुपर्छ होला नि ? त्यसकारणले यस सम्मानीय सदन मार्फत के अनुरोध गर्छु भने अहिले बनेका कानूनहरूलाई कसरी उत्पीडित समुदाय, दलित समुदायले महसुस गरेर त्यसलाई लागू गर्ने ? त्यसखालको सञ्जाल तयार पारौँ । त्यसखालको नीतिनियममा के त्रुटि छ त्यसलाई बनाउँ र यसलाई छिटो भन्दा छिटो समाजमा जुन रुपमा जगडिएको मनोविज्ञान छ यो मनस्थितिलाई बदल्नको लागि हामीले तदारुकताका साथ कदम चालिएन भने यही हिन्दू ब्राहमणवादीहरुले आज सम्पूर्ण दलित जनजातिहरु सबै क्रिश्चियन भएको भनेर रुने दिन नआउला भन्न सकिँदैन । ’
















