राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्व चितवन उपनिर्वाचनमा होमियो

कृष्ण केसी,

नारायणगढ । चितवन प्रतिनिधि सभा क्षेत्र नं. २ को उपनिर्वाचनमा आफ्नो उम्मेदवारलाई विजयी गराउन राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्व होमिएको छ । राजमोले त्यस क्षेत्रबाट केन्द्रीय उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाएको छ ।

चुनावी अभियानलाई गति दिने क्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको उपस्थितिमा आज २०७९ चैत १८ गते शनिबार भरतपुरमा प्रशिक्षणात्मक भेला सम्पन्न भएको छ ।

कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै महामन्त्री सिंहले साम्राज्यवाद सधैँ एकै प्रकारले नआउने बताउनुभयो । अमेरिकी साम्राज्यवादको नेपाल प्रवेशको सन्दर्भमा उहाँले भन्नुभयो– ‘पहिले पहिले अमेरिकी साम्राज्यवाद भारतीय साम्राज्यवादसहित आउँथ्यो, अहिले प्रत्यक्ष रूपमै आएको छ ।’

रवि छामिछाने नेतृत्वको कथित राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकी साम्राज्यवादको इन्टे«स्टमा गठन भएको बताउँदै उहाँले त्यसका विरुद्ध राजनीतिक आन्दोलनलाई अघि बढाउन राजमोको नेतृत्वमा चितवनमा उपचुनाव लडिएको बताउनुभयो ।

महामन्त्री सिंहले चितवन उपचुनावको प्रकृति आफैमा स्थानीय भए पनि अहिले त्यसको स्वरूप राष्ट्रिय भएको तथा त्यसले सिधै नेपालको राष्ट्रियतासित सम्बन्ध राख्ने बताउनुभयो । यस अर्थमा यो चुनावलाई पार्टीले गम्भीर रूपमा लिएको उहाँको भनाइ थियो ।

राजमो उपाध्यक्ष तथा उम्मेदवार जनकराज शर्माले आफूले जहिले पनि देश, जनता र क्रान्तिकारी पार्टीको हितमा काम गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘देश र जनताको पक्षमा काम गर्नका लागि पार्टीले मलाई जे जति जिम्मा दिएको छ, त्यसलाई पूरा गर्न म पूरै शक्तिका साथ लाग्ने गरेको छु ।’

सिङ्गो नेपाली जनताको पक्षमा आफूले काम गर्दै आएको बताउँदै उहाँले आगामी दिनमा चितवनबासी जनताको विकास, निर्माण तथा हकहित र अधिकारको पक्षमा निरन्तर आवाज उठाइरहने प्रतिबद्धतासमेत प्रकट गर्नुभयो ।

राजमोको चुनावी अभियान सुरु भइसकेको बताउँदै उहाँले देशको एक मात्र सही क्रान्तिकारी पार्टी राष्ट्रिय जनमोर्चाको चुनाव चिह्न गिलासमा मतदान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै राजमो महासचिव मनोज भट्टले जहिले पनि राजमो अप्ठ्यारोको सामना गर्न तयार रहेको बताउनुभयो ।

आफ्नो पार्टीले जहिले देश र जनताको हितलाई सर्वोपरि राखेको बताउँदै उहाँले चितवन उपचुनावको राष्ट्रिय महत्त्व रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘हाम्रा लागि चितवन उपचुनाव अमेरिकी साम्राज्यवाद विरुद्ध सङ्घर्षको एउटा मोर्चा हो । हामीले अमेरिकी साम्राज्यवादी प्रभावका विरुद्ध यहाँ चुनावमा विशेष अभियान चलाउने छौँ ।’

कार्यक्रममा मन्तव्य राख्दै वामपन्थी नेता आनन्द शर्माले चितवनमा उच्च मनोबलका साथ काम गर्न राजमोका नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो ।

‘चितवनको चुनाव विशुद्ध चुनावी गतिविधि मात्र नभएर अमेरिकी साम्राज्यवाद विरुद्धको एउटा आन्दोलन भएकाले नेता–कार्यकर्ताहरू त्यही रूपमा सक्रिय हुन आग्रह गर्दछु’ उहाँले भन्नुभयो ।

चुनावमा प्रतिस्पर्धा सामान्य भए पनि अरू सबैले भन्दा अमेरिकी साम्राज्यवाद विरुद्ध राजमोको भूमिका बेग्लै रहेको उहाँको भनाइ थियो ।

उहाँले चुनावसम्म अमेरिकी साम्राज्यवाद विरोधी मनस्थितिका साथ जनताको घरदैलोमा पुग्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

कार्यक्रममा राजमो केन्द्रीय सदस्यहरू दीपक पाण्डे र भागिरथ भट्टराई, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष शालिकराज सापकोटा र जापान नेपाली एकता समाजका संस्थापक अध्यक्ष यमलाल सापकोटाको आतिथ्य रहेको थियो ।

राजमो चितवनको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य डम्मर पुरीले तथा सञ्चालन अर्का केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाले गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित सहभागीलाई राजमो नेतृ देवी शर्माले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार