भ्रष्टाचार गरेर कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ : महासचिव भट्ट

पाल्पा । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले भ्रष्टाचार गरेर कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय जनमोर्चा पाल्पाको पाचौ जिल्ला सम्मेलनको उद्घाटन गर्दै महासचिव भट्टले राज्यको उच्चतहमा बस्नेहरु नै भ्रष्टाचारमा लिप्त रहेको बताउनुभयो । उहाँले सरकारले नै वैधानिक रुपमा भ्रष्टाचार गर्दै आएको अहिले प्रमाणित भएको बताउनुभयो ।

‘देशका उपप्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव नै भ्रष्टचारको आरोपमा पक्राउ पर्नु नै राज्यले संगठित रुपमै भ्रष्टचार गर्दै आएको पुष्टि भएको छ’ भट्टले भन्नुभयो, ‘भ्रष्टाचारमा संलग्न कोही कसैलाई पनि छोड्न हुँदैन । र, हदैसम्मको कारबाही गरी भ्रष्टाचार गरेर कमाएको अकुत सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ ।’

उहाँले भ्रष्टाचारीलाई उन्मुक्ति दिन खोजे राजमोले त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

अर्को प्रशंगमा नेता भट्टले संघीयताका कारण देशको ढुकुटी रित्तिएकाले देश आर्थिक रुपले टाट पल्टिँदै गएको बताउनुभयो । तत्काल प्रदेश खारेज गरी स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा राजमोका केन्द्रीय सदस्य सोमकुमार कार्कीले नेपाली नागरिकलाई गैर नागरिक बनाउने अपराधीलाई कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।

सम्मेलनमा अखिल (छैठौंं)का सचिव पुरन पोखरेल, अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष निरु थापा, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य नर्मती सिंजाली, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष कमल थापा लगायत नेताहरुले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

जिल्ला अध्यक्ष विशाल दर्लामीको अध्यक्षता, उपाध्यक्ष मानबहादुर बयम्वुको स्वागत र सचिव तिलक गाहाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका महासचिव हेमराज आश्रमको टिमले जनवादी गीत र नृत्य प्रस्तुत गरेको थियो ।

शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ ।

निर्वाचित व्यक्तिहरु सम्मानित
सम्मेलनका दौरानमा निर्वाचित जनप्रतिनिधि तथा स्ववियु प्रतिनिधिलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा रिब्दिकोट गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष सोमकुमार कार्की, रैनादेबिछहरा–३ का वडा सदस्य विष्णुप्रसाद ज्ञवाली, तानसेन नगरपालिका–११ का वडासदस्य लालबहादुर खाती, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियु सदस्य पुरन पोख्रेल र त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाकी स्वबियु सदस्य अंशु ठडराईलाई सम्मान गरियो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् राजमो महासचिव मनोज भट्ट र जिल्ला अध्यक्ष विशाल दर्लामीले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार