नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रियता परिवर्तन गम्भीर विषय : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रियता परिवर्तन हुनु गम्भीर विषय भएको बताएको छ । पार्टीका अनुसार यो प्रकरणको कारणले नेपाल अन्तर्राष्ट्रिय रूपमा नै बद्नाम भएको पार्टीको ठहर छ ।

महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० वैशाख ३० गते शनिबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले यस्तो अवधारणा व्यक्त गरेको हो ।

पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने र दोषीमाथि कारबाही हुनुपर्ने तथा कसैलाई बदलाको भावनाका साथ फसाउन नहुनेतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।

अहिले भ्रष्टाचारको सन्दर्भमा व्यक्त जनअसन्तोषले प्रतिगामी दिशा नलेओस् भन्नेतर्फ आफूहरूको ध्यान रहेको बताउँदै पार्टीले २०१७ सालको राजनीतिक कू र जर्मनमा हिटलर फासिवादको उदयको सन्दर्भ जोडेको छ । यस सन्दर्भमा पार्टीले देशमा लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा तथा अमेरिकी साम्राज्यवादको विरुद्ध उच्चस्तरको सतर्कतामा पनि जोड दिएको छ ।

यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

“नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दा अहिले देशको गम्भीर राजनीतिक मुद्दा भएको छ । त्यसबाट देशमा भ्रष्टाचारले उच्च राजनीतिक तह वा प्रशासनसम्म पनि गम्भीर रूपले जरा हालेको कुरा त प्रस्ट हुन्छ नै तर यो मुद्दा खालि भ्रष्टाचारसित मात्र सम्बन्धित छैन । नक्कली भुटानी शरणार्थी बनाउने क्रममा नेपालीको नागरिकता वा राष्ट्रियतामा नै परिवर्तन गरिएको छ । यो गम्भीर अपराध हो । त्यो कार्यबाट नेपाल अन्तर्राष्ट्रिय रूपमा नै बद्नाम भएको छ । त्यस प्रकारका अपराधजन्य कारवाहीहरुमा संलग्न व्यक्तिलाई निष्पक्षतापूर्वक छानबिन गरेर उनीहरूका विरुद्ध आवश्यक कारबाही गरिनुपर्दछ भन्ने कुरामा हाम्रो पार्टीको स्पष्ट र दृढ मत छ तर त्यस सिलसिलामा कुनै निर्दोष व्यक्तिका विरुद्ध बदलाको भावनाले कुनै कारबाही हुन नपाओस्—त्यसबारे पनि उच्च सतर्कता अपनाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।

अहिले नक्कली भुटानी शरणार्थीको मुद्दामा जुन विरोधको स्वर उठिरहेको छ । त्यसलाई हामीले समर्थन गर्दछौँ तर त्यसका साथसाथै अहिले भुटानी शरणार्थी प्रकरणका आडमा देशमा प्रतिगमनको दिशामा जाने खतराप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यान गएको छ । राजावादीहरूले अहिले भुटानी शरणार्थीको प्रश्नलाई उठाएर विद्यमान गणतन्त्रलाई नै गलत सावित गर्ने र राजतन्त्र पुनस्र्थापनाका लागि अभियान चलाइरहेका छन् । अमेरिकी साम्राज्यवादपरस्त तत्त्वहरूले पनि विद्यमान व्यवस्था सम्पूर्ण रूपले भ्रष्ट भएको प्रमाणित गर्ने प्रयत्न गरिरहेका छन् र त्यो क्रममा उनीहरू नै अहिलेको भ्रष्ट प्रणालीको विकल्प भएको बताउँदै त्यसको विकल्प उनीहरू नै भएको भ्रम दिने प्रयत्न गर्दै छन् तर यो कुरा दिनको उज्यालो झैँ छर्लङ्ग छ कि उनीहरूको मुख्य उद्देश्य अमेरिकी साम्राज्यवादको सेवा गर्नु नै हो । त्यस प्रकारको पृष्ठभूमिमा हामीले एकातिर, नक्कली भुटानी प्रकरणमा देखा परेको भ्रष्टाचारको कडा शब्दमा विरोध गर्दै, अर्कातिर, त्यो प्रकरणको आडमा नेपाललाई प्रतिगमन वा अमेरिकी साम्राज्यवादको पक्षमा लैजाने सबै प्रयत्नका विरुद्ध पनि सम्झौताहीन प्रकारले सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।

त्यस सन्दर्भमा प्रतिगमन वा अमेरिकी साम्राज्यवादका विरुद्ध आउने शक्तिसित अन्य प्रश्नमा उनीहरूसित भएका आफ्ना मतभेदलाई कायम राख्दै गणतन्त्र र राष्ट्रियताको प्रश्नमा जुन हदसम्म हाम्रा सोचाइले मेल खान्छन्, उनीहरूसित समझदारी कायम गर्ने हाम्रो नीति हुने छ र हुनुपर्दछ ।

अहिलेको नक्कली भुटानी शरणार्थी प्रकरणमा देशका कतिपय ठुला राजनीतिक पार्टीमा देखा परेको गम्भीर प्रकारको भ्रष्टाचार वा त्यसमाथि टिकेको व्यवस्थाको सही विकल्प राजावादी वा अमेरिकापरस्त तत्त्वहरू होइन, राष्ट्रिय जनमोर्चा नै हुन सक्दछ । यो आम रूपमा थाहा भएको कुरा हो कि राष्ट्रिय जनमोर्चाको सम्पूर्ण इतिहास र चरित्र निष्कलङ्क रहने गरेको छ ।

हाम्रो यो स्पष्ट विचार छ कि अहिलेको सही विकल्प भनेको रणनीतिक रूपमा नयाँ जनवादी व्यवस्था नै हो तर कार्यनीतिक रूपमा हामीले गणतन्त्र र राष्ट्रियताको रक्षा तथा सङ्घीयताको खारेजीको सङ्घर्षमा जोड दिइरहेका छौँ र त्यसका लागि हामीले लगातार सङ्घर्ष पनि गरिरहेका छौँ । राष्ट्रिय जनमोर्चाले पनि अहिलेसम्मको संसद्बाहिर वा संसद्भित्रको गतिविधिमा कुनै प्रकारको भ्रष्टाचार वा कुनै प्रकारको दाग लाग्ने काम गरेको छैन । त्यस प्रकारको पार्टीको नीति र कार्यक्रम देशको लागि सही विकल्प हुन सक्छन् ।

अन्तमा नेपालमा अहिले देखा परेको विशिष्ट परिस्थितिको सन्दर्भमा एउटा अन्तर्राष्ट्रिय उदाहरणको चर्चा गर्नु सायद अप्रासङ्गिक हुने छैन । जर्मनीमा हिटलरको फासिस्ट शासन कायम हुनुभन्दा पहिले त्यहाँको सरकार र प्रशासनसमेतका गलत नीति र कार्यविधिबाट जनता व्यापक रूपले असन्तुष्ट थिए र उनीहरूले एउटा विकल्प खोजिरहेका थिए । त्यही प्रकारको जनअसन्तोषबाट फाइदा उठाएर हिटलर जनताको ठुलो समर्थन जुटाउन सफल भयो र त्यसको परिणामस्वरूप त्यहाँ फासिस्ट शासन कायम भयो । त्यसबाट सम्पूर्ण विश्व र स्वयम् जर्मनीसमेतलाई कति धेरै क्षति पुग्यो, विश्वको इतिहास त्यसको साक्षी छ । त्यही प्रकारले अहिले देशमा देखा परिरहेको व्यापक जनअसन्तोषबाट फाइदा उठाएर प्रतिगामी वा साम्राज्यवादी शक्तिहरू अगाडि आउन सफल भए भने त्यसका व्यापक दुष्परिणाम हुने कुरा अवश्यम्भावी छ । त्यसकारण त्यस्तो हुन नदिन उच्च सतर्कता अपनाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहन्छ ।

यस सन्दर्भमा २०१७ पुस १ गतेको प्रतिक्रान्तिको उल्लेख गर्नु पनि अप्रासङ्गिक हुने छैन । त्यो बेला देशमा बी.पी. कोइरालाको सरकार थियो ।

त्यो सरकारका विभिन्न गलत नीति र कार्यका कारणले जनतामा व्यापक असन्तोष थियो । खास गरेर कट्टर हिन्दुवादी संस्थाले नेपाली काङ्ग्रेसको सरकारका विरुद्ध आन्दोलन सञ्चालन गरिरहेका थिए । पुस १ गतेको घटना भएपछि देशका कैयौँ भागमा जनताले हर्षबढाइ र दीपावलीसमेत गरेका थिए तर पुस १ गतेको घटनाको परिणामस्वरूप राजाको निरङ्कुश र पञ्चायती शासन कायम भयो । त्यसका विरुद्ध जनताले ३० वर्षसम्म लामो र कडा सङ्घर्ष गर्नुपरेको थियो । त्यही प्रकारले अहिले नक्कली भुटानी शरणार्थीसहित देशमा व्यापक रूपमा भ्रष्टाचार र गलत नीति तथा अव्यवस्थासमेतका विरुद्ध सङ्घर्ष गर्ने बेलामा देशमा पुन: २०१७ सालपछिको इतिहास दोहोरिने मात्र होइन, देशमा अमेरिकी साम्राज्यवादको प्रभुत्व कायम हुन नपुगोस्–त्यसप्रति पनि हामीले देश र जनताको गम्भीर ध्यान आकर्षित गर्न चाहन्छौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार