साम्राज्यवादविरुद्ध राजमोको मेची महाकाली अभियानका दुई टोली धनगढी र पोखरामा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादविरुद्ध सुरु गरेको मेची–महाकाली अभियानको दोस्रो दिन मंगलबार धनगढी र पोखरामा विरोध सभाको आयोजना हुँदैछ ।

हिजो महेन्द्रनगरमा उद्घाटन भएर अघि बढेको टोलीले आज धनगढीमा कार्यक्रम गर्दैछ । कार्यक्रम साँझ ४ बजे हसनपुरमा हुने राजमोका केन्द्रीय सचिवालय सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज नन्दराज भट्टले जानकारी दिनुभयो ।

राजमो महासचिव मनोज भट्टको नेतृत्वमा रहेको पश्चिमी क्षेत्रको टोलीमा केन्द्रीय सचिवालय सदस्य नन्दराज भट्ट, अखिल नेपाल युवक संघका अध्यक्ष कृष्ण पाण्डे, राजमो नेता हरिकृष्ण पाण्डेलगायत सहभागी रहनुभएको छ ।

सो टोलीले सोमबार विहान महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी दिउँसो मदनचोकको कार्यक्रमबाट औपचारिक सुरुवात गरेको थियो ।

मदनचोकमा आयोजित सभामा महासचिव मनोज भट्टले अभियानको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा राजमो सुदूरपश्चिम इन्चार्ज भट्ट, युवक संघका अध्यक्ष पाण्डे, राजमो नेता राजाराम चौधरी, कञ्चनपुरका जिल्ला अध्यक्ष रामबहादुर कार्की, नेकपा (मसाल) का जिल्ला प्रवक्ता लक्ष्मीदत्त बडूलगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

आज धनगढीमा विरोध सभा गरी सो टोली डोटी प्रस्थान गर्नेछ । दिपायलमा भोलि बिहान पत्रकार सम्मेलन गरेपछि टोलीले डडेल्धुरामा कार्यक्रम गर्दै अघि बढ्नेछ ।

यस्तै, बागलुङबाट उद्घाटन भएर सुरु भएको अर्को टोलीले आज पोखरामा सभाको आयोजना गर्दैछ । आज मध्याह्न पृथ्वीचोकमा सभाको आयोजना गरिएको टोलीमा सहभागी अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले जानकारी दिनुभयो ।

राजमो पूर्वसचिव कृष्ण अधिकारी नेतृत्वको सो टोलीमा राजमो केन्द्रीय सदस्य एवम् बागलुङ जिल्ला अध्यक्ष राजेन्द्र ढुंगाना, राजमो नेता गौरीश्वर पाण्डे, कुलबहादुर छन्त्याल, विद्यार्थी नेता गणेश अधिकारीलगायत सहभागी हुनुहुन्छ ।

सो टोलीले आज पोखरामा कार्यक्रम गरेपछि तनहुँको दमौलीमा समेत कार्यक्रम गर्नेछ । टोली आज साँझ नवलपुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादविरुद्ध १६ दिने मेची महाकाली अभियान सञ्चालन गरेको हो ।

‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, संघीयताको विरोध गरौँ, अमेरिकी साम्राज्यवाद विरुद्ध मेची–महाकाली अभियान सफल पारौँ’ भन्ने नारासहित महेन्द्रनगर र बागलुङबाट एकै साथ सुरुवात भएको सो अभियान देशका विभिन्न भागमा कार्यक्रम गर्दै जेठ १५ गते बुटवल र काठमाडौंमा समापन गरिने राजमो केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार