‘लोकतन्त्रका लागि लडेका व्यक्तिहरू मानव तस्करीमा लाग्नु लाजमर्दो’

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिगतमा जस्तै नयाँ काण्ड आएपछि शरणार्थी प्रकरण हराउने त होइन भनी आशंका गर्नुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा धारणा राख्दै अध्यक्ष केसीले बिगतमा भ्रष्टाचारका विभिन्न घटना यत्तिकै सामसुम भएको भन्दै शरणार्थी प्रकरणमा दोषीलाई कारबाही हुने कुरामा आश्वस्त हुन नसकिएको बताउनुभयो ।

उहाँले मानव तस्करीको कुरा विभिन्न बहानामा पहिल्यैदेखि हुने गरेको भएपनि शरणार्थी प्रकरणमा नागरिकलाई अनागरिक बनाएर बेचविखन गर्दा अन्तर्राष्ट्रिय जगतमा नेपालको छबि धुमिल भएको बताउनुभयो ।

‘अहिले नेपालमा मानव तस्करहरु को बारेमा धेरै चर्चाहरु भइरहेका छन् । पहिले पहिले यस्ता अपराधका घटनाहरू नेपाल र नेपालीहरुसँग मात्र सम्बन्धित हुन्थ्यो’ केसीले भन्नुभयो, ‘हुनत नेपालीहरुलाई विदेशमा बेच्ने प्रक्रिया नयाँ कुरा होइन । वीरशमशेरको पालादेखि नै साम्राज्यवादको रक्षा गर्नको लागि नेपाली युवाहरूलाई गोर्खा भर्ती केन्द्र भनेर बेचविखन गर्ने काम र सम्झौता गरियो ।’

केसीले लोकतन्त्र र गणतन्त्रका लागि लडेका व्यक्तिहरु नै मानव तस्करीमा लागेको घटना लज्जास्पद भएको बताउनुभयो ।
‘गणतन्त्रको लागि, लोकतन्त्रको लागि लडेका भन्ने साथीहरु आज जुन प्रकारले सत्ता र शक्तिको केन्द्रमा बसेर नागरिकहरूलाई अनागरिक गराएर मान्छेको जुन व्यापार गरिरहेका छन्, यसलाई निष्पक्ष भएर छानबिन गर्नुपर्छ ।’

उहाँले मानव तस्करी जस्तो जघन्य अपराधमा छुट दिन नसकिने उल्लेख गर्नुभयो ।

‘आजको एक्काइसौं शताब्दीमा आफ्ना दाजुभाइ बेचेर पैसा कुम्ल्याएर आफ्नो मौज मस्ति गर्ने ?’ केसीले भन्नुभयो, ‘त्यसखालको अपराधपूर्ण गतिविधिलाई कुनै मूल्यमा कुनै हालतमा छुट दिनु हुँदैन र उनीहरूको गम्भीर रुपले अनुसन्धान हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार