काठमाडौं । नेकपा (मसाल) ले प्रधानमनत्री पुष्पकमल दाहालले यही जेठ १७ गतेदेखि गर्न लागेको भारत भ्रमणलाई ‘असामान्य’ रुपमा लिएको छ । प्रधानमनत्रीले चीन भ्रमणको निम्तो टारेर भारतलाई कुरेको घटनालाई सामान्य रुपमा लिन नहुने मसालको ठहर छ ।
महामन्त्री मोहनविक्रम सिंहले सोमबार जारी गर्नुभएको वक्तव्यमा नेपालको प्रधानमन्त्री भएपछि पहिले भारतको नै भ्रमण गर्नुपर्ने परम्परा गलत भएको बताउनुभएको छ ।
‘नेपालको प्रधानमन्त्री भएपछि पहिले भारतको नै भ्रमण गर्नुपर्ने परम्परालाई हामीले गलत मान्दछौँ र त्यो नेपालको स्वाभिमान र आत्मसम्मानका विरुद्धको कुरा हा’ वक्तव्यमा भनिएको छ, ‘चीनले पहिले नै नेपालका प्रधानमन्त्रीलाई चीनमा भ्रमण गर्नका लागि निमन्त्रणा दिएको थियो । तर भारतको भ्रमणलाई कुरेर चीनको भ्रमण टाल्ने नीति अपनाइयो । त्यस प्रकारको व्यवहारलाई सामान्य अर्थमा लिन सकिन्न ।’
मसालले नेपालका भारतसित कैयौँ गम्भीर समस्याहरू रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको यात्राको दौरानमा सम्बन्धित सबै प्रश्नहरूलाई गम्भीरतापूर्वक उठाउनुपर्ने आवश्यकतामा जोड दिएको छ ।
वक्तव्यमा भनिएको छ, ‘भारतले नेपालको कालापानी भूभागमा कब्जा गरेको छ। सुस्ता सहित नेपालका कैयौँ सीमाहरूमा अतिक्रमण गरेको छ। नेपालको व्यापार र पारवहनसम्बन्धी विषयहरूमा हस्तक्षेप गर्ने गरेको छ। नेपालका जलस्रोतहरूमा एकाधिकार कायम गर्ने नीति अपनाएको छ । त्यसले नेपालसित गरेका १९५० सहित कैयौँ असमान सन्धिहरूलाई खारेज गर्न अस्वीकार गर्दै आएको नेपाल र भारत दुवै देशहरूद्वारा सम्मिलित रूपमा बनेको प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई भारतीय प्रधानमन्त्रीले अहिलेसम्म बुझ्न अस्वीकार गरेका छन् । नेपालको राजनीतिमा भारतले लगातार हस्तक्षेप गर्ने गरेको छ । त्यसले तराईलाई नेपालबाट अलग गर्न योजनाबद्ध प्रकारले षडयन्त्र गर्दै आएको छ । त्यसले नेपालको संविधानलाई अहिलेसम्म स्वागत गरेको छैन । त्यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध वा परराष्ट्र नीतिलाई भारतीय स्वार्थअन्तर्गत नियन्त्रित गर्ने प्रयत्न गर्दै आएको छ ।’
यस्तै वक्तव्यमा भारतले अहिलेसम्म अपनाउँदै आएका त्यस प्रकारका नीतिहरूबाट प्रधानमन्त्री प्रचण्डको भारत यात्रा पछि पनि भारतसित जोडिएका नेपालका समस्याहरूको ठोस समाधान ननिस्कने बताएको छ । त्यो अवस्थामा भारतले कब्जा गरेको भूभागबारे अन्तर्राष्ट्रियकरण तथा नेपालमा व्यापक जनचेतना र जनआन्दोलन उठाएर नै भारतले नेपालप्रति अपनाएका गलत नीतिहरूलाई रोक्न सकिने भन्दै हाम्रो त्यही प्रयत्न हुनुपर्ने मसालको जोड छ ।