काठमाडौँ । नेकपा (मसाल) ले गणतन्त्र दिवस (जेठ १५ गते) को अवसरमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्ने कार्यतर्फ ध्यान दिन आग्रह गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० जेठ १५ गते सोमबार जारी प्रेसवक्तव्यमार्फत् पार्टीले यस्तो धारणा व्यक्त गरेको हो ।
प्रेसवक्तव्यमा अहिले गणतन्त्र र धर्मनिरपेक्षतामाथि राजावादीको तर्फबाट चौतर्फी हमला भइरहेको र त्यो अभियानमा ओली नेतृत्वको नेकपा (एमाले) पनि सामेल भएको उल्लेख छ । त्यस्तै, पार्टीले वामपन्थी सङ्कीर्णतावादी कोणबाट पनि कथित क्रान्तिकारी कोणबाट गणतन्त्र र धर्मनिरपेक्षतामाथि आक्रमण भइरहेको ठहर गरिएको छ ।
एवम् प्रकारले वक्तव्यमा सरकारको गैरजिम्मेवार कार्यशैलीका कारणले पनि गणतन्त्र र धर्मनिरपेक्षताका विरोधीका लागि अनुकूलता प्रदान गरिएको उल्लेख छ । सरकारप्रतिको जनअसन्तोषलाई प्रतिगामीहरूले उपयोग गर्न सक्नेतर्फ वक्तव्यमा ध्यान दिइएको छ ।
तत्कालै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न नसकिने अवस्थातर्फ इङ्गित गर्दै पार्टीले तत्कालका लागि गणतन्त्रको संस्थागत विकास तथा धर्मनिरपेक्षताको रक्षाको विकल्प नभएको ठहर गरेको छ । पार्टीले भनेको छ : यतिखेर गणतन्त्र र धर्मनिरपेक्षताको रक्षामा ध्यान नदिनु इतिहासलाई पछाडि धकेल्नु हो ।
यस्तो छ, वक्तव्यको पूर्ण पाठ :
“जेठ १५ गते गणतन्त्र दिवस हो । त्यो गणतन्त्र दिवसबारे सरकारी र गैरसरकारी दुवै स्तरमा देशभरि कैयौ“ कार्यक्रम गरी मनाइ“दै छ । नेपालमा गणतन्त्र नेपाली जनताको करिब एक शताब्दीको लामो सङ्घर्ष तथा त्याग र बलिदानपछि नै आएको हो तर अहिले गणतन्त्र दिवसलाई मनाउने सन्दर्भमा त्यसलाई समाप्त गर्न र पुन: राजतन्त्रको स्थापना गर्न भइरहेका प्रयत्नप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ ।
आज गणतन्त्रमाथि चौतर्फी आक्रमण भइरहेको छ । राजावादीले गणतन्त्र स्थापना भएको दिनदेखि नै गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध अभियान चलाइरहेका छन् । त्यो अभियानमा अब ओलीको नेतृत्वमा एमाले पनि सामेल भएको छ । नेपालमा गणतन्त्र ल्याउनको लागि एमालेका कार्यकर्ताको पनि ठुलो योगदान रहेको छ तर त्यो सङ्गठनको नेतृत्व गणतन्त्र र धर्मनिरपेक्षता दुवैका विरुद्ध देखा पर्दै गइरहेको छ । त्यो क्रममा त्यसको राजावादीसित पनि घनिष्ट सम्बन्ध कायम भएको छ । भारतका कट्टर हिन्दुवादी शासकवर्गले पनि धर्मनिरपेक्षता र गणतन्त्रका विरुद्ध नेपालका प्रतिगामी शक्तिलाई सहायता दिने काम गरिरहेका छन् ।
यस सन्दर्भमा यो पनि उल्लेखनीय छ कि नेपालका कतिपय वामपन्थी शक्तिले पनि ‘क्रान्तिकारी’ कोणबाट गणतन्त्रमाथि हमला गर्ने र त्यसरी त्यसका विरुद्धको प्रतिगामी सङ्घर्षलाई मदत पुर्याउने काम गरिरहेका छन् । त्यसरी नेपाली जनताले सामान्यत: एक शताब्दी र विशेषत: २०६२–६३ सालको जनआन्दोलनद्वारा प्राप्त गरेको उपलब्धिमाथि चौतर्फी रूपले हमला गर्ने काम गरिरहेका छन् । अहिले गणतन्त्र दिवस मनाउने बेलामा गणतन्त्रमाथि चौतर्फी रूपमा भइरहेको आक्रमणप्रति गणतन्त्र र धर्मनिरपेक्षता पक्षधर सबै शक्तिहरूको ध्यान जानुपर्ने आवश्यकतामा हामीले विशेष जोड दिन चाहन्छौ“ ।
विश्वको इतिहासले बारम्बार यो कुरा बताउ“दै आएको छ कि कुनै देशमा गणतन्त्र वा कुनै पनि प्रकारको निरङ्कुश शासन कायम भएपछि प्रतिगामी शक्तिले पुन: त्यसलाई उल्टाउने प्रयत्न गर्ने गरेका छन् र कतिपय अवस्थामा उनीहरूलाई त्यो कार्यमा सफलता पनि मिल्ने गरेको छ । नेपालका २०१७ साल वा २०५९ सालका उदाहरण त्यस सन्दर्भमा उल्लेखनीय छन् । विश्वको इतिहासले यो पनि बताउ“दै आएको छ कि कतिपय अवस्थामा प्रतिगामी शक्तिका त्यस प्रकारका पुनरुत्थानवादी प्रयत्न सफल भए पनि त्यो सफलता खालि अस्थायी नै हुन्छ । नेपालको इतिहासले पनि त्यो कुरा बारम्बार प्रस्ट गर्दै आएको छ । २०१७ सालमा बुहदलीय व्यवस्थालाई अन्त्य गरेर निरङ्कुश राजतन्त्र वा पञ्चायती तानाशाही व्यवस्था कायम भयो तर २०४६ सालमा त्यो निरङ्कुश शासन वा पञ्चायती तानाशाही व्यवस्थाको अन्त्य भयो । २०५९ सालमा पुन: निरङ्कुश राजतन्त्र पुनस्र्थापना गरियो तर २०६२–६३ को आन्दोलनद्वारा राजतन्त्रसमेतको अन्त्य गरेर गणतन्त्र स्थापना भयो ।
त्यस प्रकारको पृष्ठभूमिमा अहिले गणतन्त्र वा धर्मनिरपेक्षता समाप्त गर्नका लागि भइरहेका प्रयत्नको पनि परिणाम के हुने छ ? त्यो कुरा बुझ्न गार्हो पर्दैन । प्रथमत: त्यस प्रकारका प्रयत्न असफल हुने छन् र खास परिस्थितिमा प्रतिगामी शक्तिलाई आंशिक रूपमा केही सफलता प्राप्त भइहाले पनि त्यो सफलता खालि अस्थायी प्रकारको मात्र हुने छ र त्यसले झन् उच्च स्तरको क्रान्तिकारी परिवर्तनलाई जन्म दिने छ; जस्तै कि २०४६ सालमा भन्दा २०६२–६३ सालको आन्दोलनले राजतन्त्रसमेतलाई समाप्त गरेर देशलाई गणतन्त्रको अवस्थामा पुर्याएको थियो ।
अहिले बहुदलीय पक्षधर राजनीतिक शक्तिद्वारा बनेको सरकारका गलत प्रकारका, भ्रष्ट वा गैरजिम्मेवार प्रकारको कार्यविधिबाट जनतामा व्यापक असन्तोष पैदा भएको छ । त्यो असन्तोषमाथि खेलेर प्रतिगामी शक्तिहरूले बहुदलीय व्यवस्था वा गणतन्त्रलाई नै समाप्त गर्ने प्रयत्न गरिरहेका छन् । त्यो क्रममा पूर्व राजाले विभिन्न मन्दिरमा गएर गरिरहेको आजापूजा वा अभिनन्दन कार्यक्रमको माध्यमद्वारा बहुदलीय व्यवस्था र धर्मनिरपेक्षतासमेत माथि खुला रूपले आक्रमण गरिरहेको कार्यप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ ।
वर्तमान सत्तापक्षबाट जनतामाथि गरिएका सबै प्रकारका गलत वा गैरजिम्मेवार नीतिको विरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ तर त्यसको विकल्प राजतन्त्र वा कुनै प्रकारको निरङ्कुश शासन होइन । नेपालमा राजतन्त्रअन्तर्गत लामो शासनकालमा कति धेरै अन्याय, अत्याचार र विभिन्न प्रकारका काण्ड भए त्यो कुरा नेपालको इतिहासबाट लुकेको छैन । राणाहरूको निरङ्कुश शासनलाई पनि नेपाली जनताले राम्रैसित भोगेका छन् । ३० वर्षको पञ्चायती तानाशाही शासनको इतिहास पनि हाम्राअगाडि छ । नारायणहिटी हत्याकाण्डले पनि राजतन्त्रअन्तर्गत देशमा कति धेरै राजनीतिक अस्थिरता हुन्छ त्यो कुरामा कुनै शङ्का रहन्न । कालापानीमा भारतीय सेना नेपालमा राजाको शासन भएको बेलामा नै आएको हो । त्यसबाट पनि राजतन्त्रको पुनस्र्थापना भएमा देशमा विदेशी हस्तक्षेप हुन्न वा राष्ट्रियताको रक्षा हुन्छ भन्ने राजावादीको दाबीमा कुनै सत्यता नभएको कुरा प्रस्ट हुन्छ ।
माथिका विभिन्न ऐतिहासिक तथ्यमाथि विचार गर्दा नेपालमा राजतन्त्रको पुनस्र्थापना भएमा देशलाई अरू बर्बादी र विनाशतर्फ लैजाने कुरामा कुनै शङ्का रहन्न । त्यसकारण राजतन्त्रको पुनस्र्थापना गर्ने प्रयत्नका विरुद्ध नेपाली जनताले सम्झौताहीन सङ्घर्ष गर्नुपर्ने र त्यसका लागि व्यापक एकता कायम गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले सम्पूर्ण नेपाली जनताको ध्यान आकर्षित गर्न चाहन्छ ।
अन्त्यमा, हामीले यो कुरा पनि स्पष्ट गर्न चाहन्छौ“ कि अहिले देशमा कायम भएको गणतन्त्र पु“जीवादी प्रकारको नै हो र त्यसद्वारा जनताका आधारभूत समस्याको समाधान नहुने र देशका दिगो विकास नहुने कुरा प्रष्ट छ । त्यसका लागि अहिलेको गणतन्त्रभन्दा उच्च प्रकारको नया“ जनवादी गणतन्त्रको स्थापना गर्नुपर्ने आवश्यकता छ । त्यस प्रकारको गणतन्त्र ल्याउनका लागि परिस्थिति र आधार तयार पार्ने प्रयत्न गर्दै देशमा अहिले कायम भएको गणतन्त्रलाई बचाउन पनि हामीले प्रयत्न गर्नुपर्दछ किनभने कुनै प्रकारको राजतन्त्र, निरङ्कुश वा फासिस्ट शासनभन्दा विद्यमान गणतन्त्र प्रगतिशील छ । अहिले त्यो गणतन्त्रको अन्त्य भयो भने देशमा तुरुन्तै नया“ जनवाद आउने छैन तर पुरानो सामन्ती प्रकारको राजतन्त्र नै आउने छ र त्यसले देशको इतिहासलाई दसकौ“ पछाडि धकेल्ने छ ।
त्यसैले विद्यमान बहुदलीय व्यवस्था, गणतन्त्र वा धर्मनिरपेक्षताको रक्षाको लागि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । आज गणतन्त्र दिवसको अवसरमा हामीले त्यसका लागि प्रतिबद्धता प्रकट गर्नुपर्दछ ।”