सङ्कटमा परेको सारङ्गीको संरक्षण गरिँदै

गोकर्ण पौडेल 

तुलसीपुर, असार १६ गते । तुलसीपुर उपमहानगरपालिका –४ रक्षाचौर नजिकै एउटा गन्धर्व टोल छ । करिब ६३ घरधुरीमध्ये सारङ्गी बनाउन र बजाउन औँलामा सीमित व्यक्तिलाई मात्रै आउँछ । अब महानगरले नै बजेट छुट्याएर यसको संरक्षण गर्ने भएपछि गन्धर्व समुदाय खुसी भएको छ ।

औँलामा गनिने सङ्ख्या बढाउने अभियानमा प्रदेश सरकार रहेको छ । लुम्बिनी प्रदेशको उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पर्यटन डिभिजन कार्यालयले सङ्कटको पेसा बचाउने अभियान सुरु गरेको छ ।

सीमित व्यक्तिमा रहेको सीपलाई युवापुस्तामाझ पुगाउन कार्यालयले सारङ्गी बनाउने सीपको प्रवर्धन गरेको छ । त्यही टोलका  सारङ्गी बनाउने र बजाउने सीप भएकामध्येका एक हुनुहुन्छ शालिग्राम गन्धर्व (७०) । उहाँलाई यो पेसा नै कतै लोपोन्मुख अवस्थामै पुग्छ कि चिन्ता छ ।

शालिग्रामले भन्नुभयो, “सारङ्गी बाजामा चार वटा तार र त्यसबाट ३६ वटा स्वर निकाल्न सकिन्छ यसमा त राष्ट्रियता पो झल्किन्छ । बाजा बनाउनेका लागि सीप सिकाउँदै आउनुभएका गणेश गन्धर्व खमारी, मालागेडी, खिर्रो, काठको मुर्रा, बाख्राको छाला र सल्लाको खोटो आवश्यक सारङ्गी बनाउन सकिने बताउनुभयो ।

सीप सिकाउँदै २५ वटा सारङ्गी उहाँले तयार पार्नुभएको छ । उहाँहरूले बनाएका सारङ्गीको बजार मूल्य पाँचदेखि ३५ हजार पर्छ । एउटा सारङ्गी पाँच दिनसम्म बनाउन सकिने गणेश गन्धर्वले बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यको तर्फबाट सीप प्रवर्धनका साथै बजारीकरणमा समेत विशेष सहयोग भए मात्रै सङ्कटको सारङ्गी बचाउन सकिन्छ ।

पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख दिनेश अधिकारीले लुम्बिनी प्रदेशका तीन वटा जिल्लामा सारङ्गी बाजाका लागि सङ्गीत कक्षा र सारङ्गी बनाउने सीप प्रवर्धन गरिएको बताउनुभयो । उत्पादन गरिएका सारङ्गीको बजारीकरण गरिने उहाँको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सङ्कटमा परेको बाजा बचाउनका लागि पालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको बताउनुभयो । गन्धर्व समुदायको सङ्कटमा परेको पेसा बचाउने दायित्व सरकारको भएको उहाँको भनाइ छ । नगरप्रमुख खड्काले राष्ट्रिय बाजाका रूपमा रहेको सारङ्गी बनाउन र बजाउने सीपको प्रवर्धन गरेर व्यावसायिक रूपमा अघि बढाउन सकिने बताउनुभयो ।

गोर्खापत्रबाट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार