
काठमाडौं । पुराना दलको विकल्पका रुपमा उभ्याएर आगामी निर्वाचनमा वुहमत जुटाउने दावी गरिरहेका रवि लामिछानेको पार्टीमा पुराना पार्टीको भन्दा अस्वस्थ टकराव देखिन थालेको छ ।
स्थापना भएको ६ महिनाभित्र प्रतिनिधि सभामा 21 सिट जितेको रास्वपाभित्र अहिले सभापति रवि लामिछाने र सांसद डा. स्वर्णिम वाग्लेबीच शक्तिको लडाँइ सुरु भएको छ । अर्कोतर्फ जिल्ला तनहुँमा नेता कार्यकर्ता हानाहानमा उत्रिएका छन् ।
रुपन्देहीमा रास्वपाका दुई गुटमा हानाहान भएको छ । गत वुधवार राती पार्टीको सैनामैना नगर समितिको कार्यालयमै दुई पक्षिय कार्यकर्ताको कुटाकुट भएको जनाईएको छ । मंसिरमा हुन लागेको अधिवेशनमा कस्ले नेतृत्व गर्ने भन्ने विषयमा त्यहाँ विवाद देखिएको छ।
पार्टी स्थापना समयदेखि पार्टीमा आवद्ध कार्यकर्ताको सदस्यता खारेजी गरेको भन्दै सुरु भएको विवाद कुटपिटमा पुगेको जनाईएको छ । लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरे, रुपन्देही संयोजक प्रकाश ज्ञवाली र रुपन्देही २ का क्षेत्रीय सदस्य विक्रम तिवारीसहितले गत बुधवार राति आफुहरुलाई पार्टी कार्यालयमै बोलाएर कुटपिट गरेको सैनामैना र्यापिड एक्सन टिम संयोजक दामोदर खत्रीले दावी गरे ।
तिलोत्तमा नगरपालिका–१७ पिपरहियास्थित बालविकास आधारभूत विद्यालयका शिक्षक समेत रहेका जिल्ला संयोजक ज्ञवालीले पार्टीमा गुटबन्दी गरेको र विधान अनुसार पार्टी चलाउँ भन्दा कुटपिट गरेको आरोप उनले लगाए।
कुटपिट आरोपपछि रास्वपा जिल्ला संयोजक ज्ञवालीले भने खत्री पार्टीमै नरहेको जिकिर गरे। पार्टीमै नरहेका व्यक्तिले कार्यालयमा आएर हुलदंगा गरेपछि प्रहरीमा उजुरी दिएको उनको भनाई छ।
इप्रका बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले रास्वापका केही नेताहरुले उजुरी लिएर आएको बताउँदै यसबारे आज छलफल हुने बताएका छन्।














