
राम प्रसाद पौडेल
नेपाल र भारतको बिचमा भएको १८१६ को सुगौली सन्धी र त्यसपछि १९५० को मैत्रीपुर्ण सन्धिले प्रदत्त गरेका अधिकार र सिमाहदको आधारमा नेपालीहरु भारतमा र भारतीयहरु नेपालमा गएर आफ्नो आफ्नो क्षेमतानुसार नोकरी, पेशा ब्यबसाय या कारोबारहरु गर्दै आइरहेका छन् । तर, बिगत केही समयदेखि भारतमा नोकरी गर्दै आइरहेका कतिपय असमाजिक तत्वहरुले चोरी, लुटपाट, बलात्कार र डकैती गर्नेजस्ता निकृस्ट कार्यहरु गर्दै आएका घटनाले भारतमा नेपालीहरु माथि हेरिने दृष्टिकोण र विश्वासमा नै ह्रास आउने सम्भावना बढेर गएको छ । यसै सन्दर्भमा यहि जुलाई ९, २०२३ का दिन हैदराबादमा घटाइएको घटनाले आम नेपाली समुदायको इज्जतमा दाग लागेको छ । कहिल्यै कसैका अघि नझुक्ने शिर यतिबेला सरमले झुकेको अवस्था छ ।
भारतको तेलङना राज्यको हैदराबादको सेकेन्दराबादस्थित रामगोपाल पेटको सिन्धिकोलोनीमा अबस्थित कारोबारी राहुल गोयलको घरमा चौकिदारको रुपमा काम गर्दै आएका टिकापुर नगरपालिका ८ कर्मिडाडा घर भएका ४८ बर्षिय शंकरमान साउँद र निजकी ३५ बर्षिय श्रीमति पार्बती साउँद, त्यस्तै बर्दिया निबासी २५ बर्षिय सुनिल चौधरी, बिनोद कुमार सहितको ८ जना सम्मीलित “चोरी समुह” ले ९ जुलाई २०२३ का दिन जघन्य अपराध गरेका छन् । उनीहरुले घर मालिकहरु हैदराबाद भन्दा बाहिर फार्महाउसमा गएको मौका छोपी योजनाबद्ध रुपमा ठूलो पैमानामा नगद, सुन चाँदीका आभुषण, युरो मुद्रा, डलर र दिराम गरि करिब ३ करोड भारतिय रुपैयाँ बराबरको नगद र जिन्सी चोरी गरि नेपाल तिर जाने क्रममा उत्तरप्रदेशको सिमानाका नजिकै पर्ने लखिमपुर खिरीमा सिमा सुरक्षा बलले पक्राउ गरेको थियो । लखिमपुर खिरीबाट सिमा सुरक्षा बलले हैदराबाद पुलिसलाई सुपुर्दगी गरेको छ । चोरी गिरोहका सम्पूणर् सदस्यहरुलाई कानुनी दायरामा ल्याइ आवश्यक कानुनी कारवाही हुने स्थानीय प्रशासनले बताएको छ ।
यसै सन्दर्भमा १९ जुलाई २०२३ का दिन एविसीको कार्यालयले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लगायतका अन्य संघ संस्था तथा ब्यक्तिहरुलाई बोलाएर पत्रकार सम्मेलन गरि उक्त चोरीको घटनाले आम नेपालीहरुलाई पार्ने असर र भारतीयहरुले नेपालीहरुलाई दृष्टिकोणको बारेमा अब कस्तो रबैया अपनाउने भन्ने बारेमा छलफल गरेको थियो । आम प्रवासी नेपालीहरुलाई मूल प्रवाहमा संगठित हुनुपर्नेमा नेता रतन सिंह कर्माले जोड दिनुभएको थियो । नेता कर्माले सङ्ठनले आम नेपालीलाई सचेत गराउँदै आएको र भोलिका दिनमा पनि सचेत बनाउँदै जाने बताउनु भयो । यस प्रकारका घटनामा पुलिस प्रशासनलाई सहयोग गर्ने समेत नेता कर्माले प्रतिवद्धता व्यक्त गर्नुभयो । अब आम नेपालीहरुका लागि निम्न प्रकारका चुनौतीहरु आइपर्ने निश्चित नै छ । नेपाल वा भारत दुबै देशका प्रशासन तथा जनस्तरले ‘अपराधी अपराधी नै हुन्छ, उ कसैको आफ्नो हुँदैन’ भन्ने विषयलाई गम्भिरतापूर्वक बुझ्नु पर्ने आवश्यकता छ ।
हरेक नेपालीले नेपालीको सङ्गत गर्ने, सुख दुःख आदानप्रदान गर्ने, समस्याको हल गर्न सामुहिक प्रयत्न गर्ने जसका लागि संगठित बन्दै जाने गर्नु पर्ने आवश्यकता छ ।














