धार्मिक र साम्प्रदायिक तनावलाई राजावादीहरूले उपयोग गर्न खोजे : मसाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले देशका केही स्थानमा देखा परेको धार्मिक तथा जातीय तनावलाई राजावादीहरूले देशब्यापी रुप दिन खोजेको आरोप लगाएको छ ।

कोशी प्रदेशमा बढिरहेको इसाईहरुको प्रभाव र, भारतबाट आएका राष्ट्रिय स्वयंसेवक संघका कार्यकर्ताहरुको गतिविधिका कारणले त्यहाँ साम्प्रदायिक तनाव बढ्दै गइरहेको भन्दै मसालले राजावादीहरुले सो तनावलाई देशब्यापी रुप दिन खोजेको बताएको हो ।

त्यसको उद्देश्य राजतन्त्रको पुनर्स्थापना र, धर्मनिरपेक्षतालाई समाप्त गर्ने रहेको मसालले स्पष्ट पारेको छ ।

प्रवक्ता रामप्रकाश पुरीले शुक्रबार (२०८० भदौ २९ गते) जारी गर्नुभएको प्रेश विज्ञप्तिमा लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षताका रक्षाका लागि प्रतिगमनका विरुद्ध आउने शक्तिहरु एकजुट हुन आह्वान गरिएको छ ।

यस्तो छ, वक्तव्य
“कोशी प्रदेशमा जातीय आधारमा देखा परेको तनावलाई अवाञ्छित बताउँदै हामीले त्यसको विरोध गरेका थियौं । एकातिर, कोशी प्रदेशमा बढिरहेको इसाईहरुको प्रभाव र, अर्कातिर, भारतबाट आएका राष्ट्रिय स्वयंसेवक संघका कार्यकर्ताहरुको गतिविधिका कारणले त्यहाँ साम्प्रदायिक तनाव बढ्दै गइरहेको थियो । त्यो बेला हामीले कोशी प्रदेशमा देखा परेको त्यस प्रकारको साम्प्रदायिक तनावले देशव्यापी रूप लिन सक्ने सम्भावनातिर पनि संकेत गरेका थियौं । अहिले त्यही भइरहेको छ र त्यसलाई हाम्रो पार्टीले गम्भीर रूपमा लिएको छ ।

कोशी प्रदेशमा देखा परेको साम्प्रदायिक तनावलाई राजावादीहरुले देशव्यापी रूप दिने प्रयत्न गरिरहेका छन् । यो कुनै लुकेको कुरा होइन कि त्यसका पछाडिको उनीहरुको उद्देश्य एकातिर, राजतन्त्रको पुनर्स्थापना गर्ने र, अर्कातिर, धर्मनिरपेक्षतालाई समाप्त गर्ने नै रहेको छ । त्यसरी आज प्रतिगमनको गम्भीर खतरा देखा परेको छ ।

त्यसबाट नेपाली जनताले करिब एक शताब्दीसम्म सङ्घर्ष तथा महान त्याग र बलिदान गरेर प्राप्त गरेका उपलब्धीहरू समाप्त हुने सम्भावना देखा परेको छ । त्यो अवस्थामा प्रतिगमनका विरुद्ध आउने सबै शक्तिहरुका बिचमा व्यापक एकता अहिले देशको राष्ट्रिय आवश्यकता भएको छ । त्यस प्रकारको एकताले नै देशमा बढ्दै गइरहेको साम्प्रदायिक तनावलाई रोक्न तथा लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न सक्ने छ । त्यसका लागि ने.क.पा. (मसाल) ले सम्पूर्ण देश र जनतासित अपील गर्दछ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार