काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानमा जबर्जस्ती संघीयता घुसाउँदा त्यसको दुष्परिणाम देखिन थालेको बताउनुभएको छ । कोशी प्रदेशमा देखिएको जातिवादी ‘गाइजात्रा’ संघीयताकै उपज भएको केसीले बताउनुभयो ।
बुधबार पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित राजमो बूढानीलकण्ठ नगर सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले आफ्नो पार्टीले सुरुवात देखि नै संघीयताको विरोध गरेको स्मरण गर्नुभयो ।
‘अहिले तपाइँहरुले कोशीमा जातिवादीहरुका गतिविधि देखिरहनुभएको छ, प्रदेश सभाको दुई तिहाईले निर्णय गरेर प्रदेशको नाम ‘कोशी राख्यो । तर, त्यसका विरुद्ध जातिवादीहरु जातीय नामाकरण गर्न पर्यो भनेर उफ्रिराखेका छन्’ केसीले भन्नुभयो, ‘यो सबै संघीयताको परिणाम हो । हाम्रो पार्टीले यस्तै अवस्था हुन्छ भनेरै सुरुदेखि नै संघीयताको विरोध गर्दै आएको थियो ।’
अध्यक्ष केसीले वर्तमान संविधानमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता जस्ता कतिपय उपलब्धिहरु रहेको चर्चा गर्दै संविधानको रक्षा गर्नुपर्ने बताउनुभयो । तर, संविधामाथि प्रतिगामी कोणबाट आक्रमण भइरहेको र लोकतन्त्रकै लागि लडेका दलहरु संविधानको रक्षाप्रति उदासिन बनेको उहाँले बताउनुभयो । नागरिकता सम्बन्धी ऐन संशोधन गरेर दलहरुले संविधानलाई कुरुप बनाएको पनि केसीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै राजमो नेता आनन्द शर्माले राष्ट्रिय जनमोर्चाले संगठनात्मक अभियान सञ्चालन गरिरहेको जानकारी दिँदै असोज महिनाभर सदस्यता वितरण, संगठन निर्माण लगायत गतिविधि जारी राख्ने बताउनुभयो ।
राजमो नगर अध्यक्ष छवि खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीलगायत नेताहरुको उपस्थिती रहेको छ ।
चौथो नगर सम्मेलनले छवि खनालको अध्यक्षतामा ११ सदस्यीय नगर समिति पुनर्गठन गरेको छ । समितिको उपाध्यक्षमा प्रदिप प्रधान, सचिव मधु क्षेत्री, सहसचिव भुवन खनाल र कोषाध्यक्षमा चन्द्रा श्रीस चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा लक्ष्मी चौधरी, सुवास आर्चाय, राम वियोगी, शुधा शर्मा, गौरव चौधरी र मदन पाण्डे रहनुभएको छ ।