चिदम्बरम, २७ सेप्टेम्बर। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समिति अन्तर्गत कल्लाकुर्ची एरिया समितिको १०औं बार्षिक एरिया सम्मेलन सम्पन्न भएको छ ।
जीवन शर्माको सञ्चालन तोयनाथ शर्माको अध्यक्षता, केन्द्रीय सदस्य बालाकृष्ण गायक, क्षेत्रीय सदस्य नारायण शर्मा, नगर सदस्य गोकुल बहादुर गायकको अतिथि आसनग्रहण पश्चत ज्ञात अज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारण गरि अघि बढेको सो सम्मेलनमा उपस्थित सम्पूर्ण जनसमुदायहरूलाई शब्दद्वारा रमाकान्त शर्माले स्वागत गर्नु भएको थियो ।
सम्मेलनको उद्घाटन प्रमुख अतिथि केन्द्रीय सदस्य बालाकृष्ण गायकले गर्नु भएको थियो । गायकले उदघाटन मन्तव्य राख्दै – ‘मूल प्रवाह सम्पूर्ण भारतस्थित प्रवासी नेपालीहरुको स्पष्ट लक्ष्य र उद्देश्य बोकेको एक मात्र परिवर्तनशील संगठन हो, फुटपरस्त तत्वहरुले भारतस्थित नेपालीहरुलाई भ्रम छर्ने कोशिस गरिरहेका छन् ।’ नेता गायकले भन्नु भयो- ‘देशको राष्ट्रियता माथि विदेशी हस्तक्षेप बढेकोले राष्ट्रियता बचाउन मूल प्रवाहका सम्पूर्ण स्तरका कार्यकर्ताहरु स्वदेश फर्किनु पर्ने आवश्यक छ ।’
यतिवेला कतिपय तत्वहरुले राष्ट्रियता र जनतन्त्र भन्दा पनि आफ्नो महत्वाकांक्षालाई माथि राखेर गतिविधि गर्ने कोशिस गरिरेहको गायकले बताउनु भयो । त्यसरी उनीहरुले राजनीतिक पार्टीहरुको खास गरेर नेकपा (मसाल) र त्यस निकटका विभिन्न मोर्चाहरुमाथि विभिन्न प्रकारका लान्छना लगाएर आफूहरु खाँटी बन्ने कोशिस गरेता पनि त्यसको प्रत्येक्ष योगदान प्रतिगामी र साम्राज्यवादी तत्वहरुलाई पुर्याइरहेको नेता गायकले बताउनु भयो ।
उक्त सम्मेलनलाई नगर सदस्य गोकुल बहादुर गायकले सफलताको शुभकामना मन्तव्य दिनु भएको थियो।
सो सम्मेलनले तोयनाथ शर्माको अध्यक्षतामा एक स्थान रिक्त राख्दै ९ सदस्सीय एरिया समिति चयन गरेको छ । जसमा- सचिव जीवन शर्मा, कोषाध्यक्ष रमाकान्त शर्मा, सदस्यहरुमा- खेम प्रसाद शर्मा, नारायण शर्मा, गुमा देवि शर्मा, सिता नेपाली र होम सिंह नेपाली रहनु भएको छ ।
सम्मेलनद्धारा निर्वाचित नयाँ समितिका कार्यकारिणीहरुलाई क्षेत्रीय सदस्य नारायण शर्माले बधाई दिनु भएको थियो ।