बडादसैँ गयो, तिहार आयो, दुखीको घर अँध्यारोको अँध्यारै

धनवीर पुनमगर ##

हिन्दु धर्मावलम्वीको महान् चाडको रूपमा परिचित बडादसैँ भर्खरै बिदा भई तिहार घरआँगनमा आइपुगेको छ । रोजगारी, व्यवसाय र अध्ययन आदिका लागि टाढा टाढा पुगेकाहरू बडादसैँ मनाउन थातथलो फर्किएका कैयौँ पुन: आफ्नो दैनिकीका लागि फर्किसकेका छन् भने कतिपय तिहारको पर्खाइमा गाउँघरमै छन् ।

परदेशीको आगमनले परिवारभित्र मात्रै सीमित नभएर गाउँटोलमा नै छाउने उल्लास यसपटक उनै परदेशीका परिवारमा पनि छाएन । जेनतेन घर सिँगारिए; सफासुग्घर बनाइए; घरआँगन रङ्गीन भए तर घरमुलीको अनुहार मलिन नै रह्यो ।

विगतका वर्षमा अधिक किनबेच हुने भएकाले बडादसैँले बजारलाई समेत चलायमान बनाउँथ्यो । घुमफिर गर्ने संस्कारको रूपमा पनि स्थापित हुँदै गएको बडादसैँ यो वर्ष भने ठिङ्ग उभिइरह्यो । नमनाउने र मनाउन नमिल्ने अवस्थाका परिवार बडादसैँ बिदामा घुम्न टाढासम्म निस्कने गरेको देखिन्थ्यो विगतमा । यो वर्षको बडादसैँ रावणको पुत्ला जस्तै उभिरह्यो, जसको आभास जोकसैले पनि गर्न सक्थ्यो । बजार मौन, मन्दिर मौन, पर्यटकीय स्थल मौन, टीकाटालाका दौरानमा हुने दक्षिणा पनि मौन, समग्रमा भन्नुपर्दा खल्ती नै मौन, जसको मारले बडाबडादसैँ नै मौन ।

बडादसैँ टीकाको दिन घरघरमा पहेँलपुर जमरा आफैमा मुर्झाएका थिए । किनमेलमै मुर्झाएको बडादसैँ नवरात्रीभरि नै अँध्यारो मुख लगाइरह्यो । उज्याला थिए त केवल निर्जीव मूर्तिहरू, जसलाई विभिन्न शक्तिपीठका नाममा पूजाआराधना गर्ने र बत्ती सल्काउनेसम्मको कार्य भएका थिए । यसको मुख्य कारण थियो पुँजीवाद । पुँजीवादले बजारलाई काल्पनीक दुर्गादेवीले महिसासुर राक्षसलाई वध गरे जस्तै गरी नाङ्गो रूपमा शोषणरूपी हतियारले गरिबदुखी, निमुखाको वध गरिरहेको थियो, जसको उदाङ्गो रूप यातायात पनि देखिन्थ्यो ।

यातायात व्यवसायीले सहरदेखि गाउँ फर्कनेसँग मनोमानी भाडा असुलिरहेका थिए । सामानको भाडा, यात्रीको भाडा गरी प्रतिव्यक्ति दिन दुई गुना, रात चौगुनाको रूपमा असुल गरिरहेका थिए । त्यो दृष्यले लाग्थ्यो, देशमा व्यापारी र हुनेखानेहरू नाङ्गो नाच नाचिरहेका छन्, अरू सबै मूकदर्शक बनिरहेका छन् । आउजाउ गर्नेहरूको चाप बढी हुने यही बेलालाई यातायात व्यवसायीले कमाउने मौकाको रूपमा लिन्छन् । सरकारले प्रभावकारी रूपमा अनुगमन, नियमन गरेर उपभोक्तालाई हरसम्भव राहत दिने प्रयास गर्नुपर्ने हुन्छ तर चाडपर्वको बेला यात्रुको सुरक्षालाई सामान्य ध्यान दिनसमेत राज्य गम्भीर देखिँदैन ।

चाडपर्व मनाउन घर जाने र फर्कने क्रममा यात्रुको चाप बढी हुने भएकाले यातायात व्यवसायीले यात्रु कोचेर थोत्रो गाडीसमेत चलाइरहेका हुन्छन् । जतिसक्दो बढी खेप लगाउने होडमा चालकले राम्ररी आरामसमेत नगरी गाडी कुदाइरहेका हुन्छन्, जसको मारबाट आम सर्वसाधारण नै पिल्सिनुपरेको हुन्छ । यो अवधिमा हुने दुर्घटनाले चाडपर्वलाई खुसियालीभन्दा पनि दु:खको पहाडको रूपमा स्वीकार्नुपर्ने बाध्यता नेपालीको लागि नियती नै भएको छ ।

सकेसम्म राम्रो लगाएर, मिठोमसिनो खाएर आफ्ना दु:खपीडा भुल्दै रमाइलोसँग बडादसैँ मनाउने सबैको चाहना हुन्छ । यो वर्ष पनि कैयौँका घरमा बडादसैँ दसाको रूपमा सहनुपर्‍यो । अमेरिकी साम्राज्यवादले कैयौँ मुलुकमाथि प्रत्यक्ष वा अप्रत्यक्ष हुकुमत चलाउने क्रममा विभिन्न मुलुकमा कैयौँ निमुखाले अनाहकमै ज्यान गुमाउनुपरेको छ । साम्राज्यवादले आफ्नो क्रिडास्थलको रूपमा प्रयोग गर्दै आएको गाजा र इजरायलबिचको युद्धको मार यसपटक हामी नेपालीले पनि खेप्नुपर्‍यो । अध्ययनका लागि इजरायल गएका १० जना विद्यार्थीले बडादसैँकै मुखमा अनहाकमै ज्यान गुमाए । त्यसले पनि कैयौँका घरमा बडादसैँको रौनकभन्दा पनि मृत्युको शोक छायो । दु:खको पीडामा डुबेका सजल नेत्र देख्दा कैयौँ छिमेकीले पनि बडादसैँ मनाउन पाएनन् तर आर्थिक अवस्था कमजोर भएका मानिसका लागि बडादसैँले तनाव नै दिइरह्यो । त्यसमाथि आउँदै गरेको तिहार पनि कम्ती चिन्ताको विषय छैन ।

हुन त तिहार आफैमा चिन्ता हैन, बढ्दो महङ्गी र त्यसको मार नै चिन्ता हो । त्यसैले देखासिकी खर्चिलो हुनेभन्दा पनि गच्छेअनुसार मितव्ययी ढङ्गले मनाउने गरे सबै पर्व रमाइलो हुने थियो तर कतिपय व्यापारी–व्यवसायीले बढी किनमेल हुने चाडको मौका पारेर मूल्य, गुणस्तर र तौलमा ठग्ने प्रवृत्ति पनि कम्ती समस्या छैन । यसतर्फ राज्यले ध्यान दिए चाडपर्व सर्वसाधारणले पनि मनाउन सक्ने गरी बजार व्यवस्थापन गरे जनताले वर्षको एकदुई दिन मात्रै भए पनि खुसियालीको अनुभूति गर्न पाउने थिए ।

खाद्य सामग्रीलगायत दैनिक उपभोग्य सामग्रीको उच्च महङ्गीले समाजमा एउटा आक्रोशपूर्ण मनोविज्ञानलाई जन्म दिइरहेको छ । गरिब त यसै गरिब नै भए, सहरिया निम्न तथा मध्यमवर्गीय परिवारलाई समेत यसले आफ्नो बाहुपासमा कस्दै लगिरहेको देखिन्थ्यो । अनौठो के छ भने यति साह्रो महङ्गी बढ्दा पनि राजनीतिक तथा सामाजिक मुद्दामा मुखर भएर बोल्ने एकाध पार्टीबाहेक विभिन्न सामाजिक तप्कासमेत लामो समयदेखि मौन छ ।

एकातर्फ राज्यले न्यूनतम सामाजिक सुरक्षाको ग्यारेन्टी गर्न सकेको छैन भने अर्कोतर्फ, सामाजिक सुरक्षाबाट वञ्चित समुदायको आफ्नो बलियो आवाज पनि छैन, न त उनीहरूको पक्षमा कुनै सरोकारवाला अभियन्ताले मुखर भएर बोल्न सकेका छन् । त्यसकारण शोषण, दमन, अन्याय अत्याचारमा पिल्सिएकाहरू एकजुट भई सबै खाले अन्यायका विरुद्ध सङ्गठित आन्दोलनमा अगाडि बढ्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार