टी–२० क्रिकेट विश्वकपमा छनोट भएकोमा राजमोको बधाइ

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले टी–२० क्रिकेट विश्वकपका लागि नेपाल छनोट भएकोमा बधाइ ज्ञापन गरेको छ ।

उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८० कात्तिक २१ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै राजमोले बधाइ दिएको हो ।

वक्तव्यमा राजमोले आगामी जुनमा हुने टी–२० विश्वकपमा सफलताका लागि पनि अग्रिम शुभकामना दिएको छ ।

नेपालमा खेलकुद क्षेत्रमा कैयौँ प्रतिकूलता रहेको स्मरण गर्दैै वक्तव्यमा त्यसका बाबजुद खेलाडीको प्रयासलाई सकारात्मक मानेको छ ।

यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

“पछिल्लो समयमा नेपालले क्रिकेट खेलमा एकपछि अर्को सफलता प्राप्त गर्दै गएको छ । गत कात्तिक १८ गते नेपालले युएईलाई हराउँदै टी–२० विश्वकपका लागि छनोट भएको छ । यो धेरै नै खुसीको विषय हो । राष्ट्रिय जनमोर्चाले टी–२० विश्वकपमा छनोट भएकोमा नेपाली क्रिकेट टिमलाई बधाई दिन चाहान्छ र आगामी वर्ष २०२४ को जुन महिनामा हुने टी–२० विश्वकपमा सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछ ।

नेपालमा क्रिकेटसहित सम्पूर्ण खेलकुदका लागि कैयौँ प्रतिकूलता छन् । खेलाडीका लागि जीवननिर्वाहयोग्य पारिश्रमिकको समस्या, उचित तालिमको अभाव, खेलकुदका लागि भौतिक पूर्वाधारको अभावलगायतका विभिन्न समस्यासित नेपाली खेलकुद क्षेत्र जुझिरहेको छ । त्यसका बाबजुद नेपाली खेलाडीले लगातार खेलकुदमा राम्रो सफलता हासिल गरिरहेका छन् । पछिल्लो समयमा क्रिक्रेट क्षेत्रमा प्राप्त भएको सफलता त्यही प्रकारको सफलता हो ।

राष्ट्रिय जनमोर्चाले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक ध्यान दिन सरकारसित आग्रह गर्दछ । त्यसका साथै खेलाडीहरूले जुन प्रकारले सफलता प्राप्त गरिरहेका छन्, त्यो प्रयासलाई निरन्तर अगाडि बढाउनुपर्ने आवश्यकतामा पनि जोड दिन चाहान्छ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार