प्रतिगामी खतरा विरुद्ध राजमोद्वारा सम्पूर्ण जनताको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रतिगामी खतराका विरुद्ध सम्पूर्ण नेपाली जनताको ध्यान आकर्षित गराएको छ ।

मङ्सिर ७ गतेयता प्रतिगामी शक्तिहरूको चलखेल बढेको भन्दै राजमोले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताका पक्षधर सम्पूर्ण जनतासित यस्तो अपिल गरेको हो ।

अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८० मङ्सिर १२ गते मङ्गलबार जारी प्रेसवक्तव्यमा यस्तो आह्वान गरिएको छ ।

कुशासन र भ्रष्टाचारले गर्दा देशले अग्रगति लिन नसकिरहेको तथ्य स्मरण गर्दै राजमोले त्यसको विकल्प प्रतिगमन हुन नसक्ने राजमोले प्रष्ट पारेको छ । राजमोको भनाइ छ– प्रतिगामी शक्तिहरूलाई देशलाई अँध्यारो युगतिर फर्काउने छन् ।

यस्तो छ, प्रेसवक्तव्य को पूर्ण पाठ :

“अहिले देशमा भइरहेका प्रतिगामी चलखेल र गतिविधिप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको छ ।

काठमाडौँ लगायत देशका विभिन्न स्थानमा प्रतिगामीहरूले गरिरहेका गतिविधि देशमा लोकतन्त्र, गणतन्त्र तथा धर्मनिरपेक्षताका विरुद्ध लक्षित रहेका छन् । उनीहरूले जनआन्दोलन तथा जनताको महान् बलिदानद्वारा प्राप्त उपलब्धिलाई समाप्त गरेर देशमा प्रतिगमन ल्याउन लगातार अभियान चलाउँदै आएका छन् । मङ्सिर ७ गतेपछि देशमा भइरहेका राजावादीका विभिन्न गतिविधिले देशमा प्रतिगमनका लागि प्रयत्न भइरहेको कुराको नै पुष्टि गर्दछन् । गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्नका लागि प्रतिगामीले चलाइरहेको त्यस प्रकारको अभियानलाई भारतको कट्टरपन्थी हिन्दुवादी शासकवर्गले पनि प्रोत्साहित गर्दै आएको छ ।

हाम्रो पार्टीले गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रतिगामीद्वारा गम्भीर खतरा रहेको कुरा बारम्बार स्पष्ट गर्दै आएको छ । राजावादीले अहिले देशमा गरिरहेका गतिविधिले देशमा प्रतिगमनको खतरा बढिरहेको कुरालाई थप पुष्टि गर्दछ । यो अवस्थामा हाम्रो पार्टीले प्रतिगमनका विरुद्धमा एकताबद्ध हुनका लागि सम्पूर्ण लोकतन्त्रवादी तथा वामपन्थी शक्तिको ध्यान आकर्षित गर्दछ । नेपालको सामाजिक तथा राजनीतिक परिवर्तनका लागि भूमिका खेलेका लोकतान्त्रिक तथा वामपन्थी शक्तिले नै त्यस प्रकारका प्रतिगामी प्रयत्नलाई पराजित गरेर लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताको समेत रक्षा हुने छ भन्ने हामीलाई पूरा विश्वास छ ।

कुशासन र भ्रष्टाचारले गर्दा देशले अग्रगति लिन नसकिरहेको पक्षप्रति पनि हाम्रो ध्यान रहेको छ । अहिले देशमा कुशासन र भ्रष्टाचारले गर्दा जनताको जीवनस्तरमा धेरै नै गिरावट आएको छ । देशको अर्थतन्त्र गम्भीर सङ्कटमा पुगेको छ र बेरोजगारको अवस्था गम्भीर छ । त्यसले गर्दा जनतामा निराशा र असन्तोष बढ्न गएको छ तर त्यसको समाधानको उपाय कुशासन र भ्रष्टाचारको अन्त्य गरी सुशासन र सुदृढ गणतान्त्रिक व्यवस्थाबाट नै सम्भव हुन्छ ।

गणतन्त्र र धर्मनिरपेक्षतालाई चुनौती दिने वा त्यसका विरुद्धमा उभिने शक्तिहरू कुनै पनि अवस्थामा समस्याको समाधान गर्ने विकल्प हुन सक्दैनन् । प्रतिगामी शक्तिले जनतामा बढ्दै गइरहेको असन्तोषको फाइदा उठाएर जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई समाप्त मात्र गर्ने छन् र देशलाई अँध्यारो युगतिर फर्काउने छन् । त्यसरी देश अधोगति, विनाश र निरङ्कुशतातिर जाने कुरा निश्चित छ । त्यो अवस्थामा प्रतिगामीका प्रतिगमनको प्रयत्नलाई पूर्ण रूपले असफल पारेर जनआन्दोलनका उपलब्धिको रक्षा गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले सम्पूर्ण न्यायप्रेमी जनताको ध्यान आकर्षित गर्दछ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार