पक्राउपुर्जीको विरोधमा विप्लव पक्षद्वारा आन्दोलन घोषणा

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले आफू विरुद्ध ३५ दिने पक्राउपुर्जी जारी गरेपछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले त्यसको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

२०८० मङ्सिर १९ गते मङ्गलबार प्रेसविज्ञप्ति जारी गर्दै सो पार्टीका महासचिव विप्लवले पक्राउ पुर्जी जारी गरिनु गैरकानुनी, अराजक र विध्वंसात्मक कार्य भएको बताएका हुन् ।

आन्दोलनको कार्यक्रमअन्तर्गत सो पार्टीले मङ्सिर १९ गते विरोध प्रदर्शन गर्नका साथै २० गते न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा काठमाडौँ जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर मङ्सिर १८ गते महासचिव विप्लवसहित नेताहरू खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ माइला लामालगायतका नाममा पक्राउ पुर्जी जारी गरिएको उल्लेख छ ।

‘अदालतको उक्त कार्य २०७७ फागुन २१ गते सम्पन्न तीन बुँदे सहमतिको ठाडो उल्लङ्घन मात्र होइन, देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला पनि हो’ विज्ञप्तिमा भनिएको छ– ‘राज्यको जिम्मेवार निकाय अदालतमा बसेका न्यायाधीशले प्रदर्शन गरेको यस्तो गैरकानुनी, असभ्य एवम् अराजक कार्यको पार्टी घोर भत्सना गर्दछ । साथै यस्ता वितण्डाबादी कार्य रोक्न माग गर्दछ ।’

प्रतिबन्ध हटाउदा राज्यसँग गरिएको तीन बुँदे सहमतिमा पार्टीका नेता–कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दीलाई मुक्त गर्ने विषय उल्लेख रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘राज्यका सहमतिलाई कानुनको अङ्ग बनाएर समस्यालाई समाधान गर्न मदत गर्नुपर्ने मुख्य अङ्ग अदालतले नै गैरकानुनी कदम चाल्नु भनेको देशमा शान्ति भाड्न अदालत र न्यायाधीश नै सक्रिय बनेको त होइन भन्ने आशङ्का पैदा भएको छ’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार