रुसी सेनामा भर्ना भएका नेपालीको मृत्युबारे छानबिन गर्न मसालको आग्रह

काठमाडौँ । नेकपा (मसाल) ले रुसी सेनामा भर्ना भई रुस–युक्रेन युद्धमा मृत्यु भएका छ जना नेपालीको सम्बन्धमा छानबिन गर्न आग्रह गरेको छ ।

प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०८० मङ्सिर २० गते बुधबार जारी वक्तव्यमा पार्टीले यस्तो आवश्यकतामा जोड दिएको हो ।
वक्तव्यमार्फत पार्टी घटनाको छानबिन गर्दै दोषीमाथि कडा कारबाही गर्न माग पनि गरेको छ ।

त्यसैगरी, वक्तव्यमा रुसमा मात्र नभएर भारत, ब्रिटिसलगायत संसारका कुनै पनि देशको सेनामा नेपाली युवालाई भर्ती गराउन नहुने धारणासमेत व्यक्त गरेको छ ।

यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

“रुस–युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको मृत्यु भएको विभिन्न सञ्चारमा सार्वजनिक भएका छन् । अझै २०० भन्दा बढी नेपाली रुसी सेनामा रहेका आशङ्का गरिएका समाचार पनि प्रकाशित भएका छन् । नेपालीलाई त्यसरी रुसी सेनामा पठाउने कार्य कसरी र कुन रूपमा भइरहेको छ ? यस विषयमा गम्भीर छानबिन भई दोषीमाथि कडा कारबाही चलाउनुपर्दछ ।

यस सिलसिलामा रुसी सेनामा नेपालीलाई पठाउने गिरोहका कतिपय व्यक्ति पक्राउ परेको समाचार पनि प्रकाशित भएका छन् तर त्यस विषयमा अझ गम्भीर छानबिन हुनुपर्ने आवश्यकतामा हामीले जोड दिन चाहन्छौँ । रुसमा मात्र होइन, भारत, ब्रिटिसलगायत संसारमा कुनै पनि मुलुकमा नेपालीलाई सेनामा भर्ती गराउने कार्य हुनुहुँदैन । त्यस प्रकारका सबै गतिविधिलाई बन्द गराउनका लागि हामीले सरकारको ध्यान गम्भीर रूपमा आकर्षित गर्न चाहन्छौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार