हिउँ पग्लनु विश्वकै समस्या हो : महामन्त्री सिंह (फोटासहित)

काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले हिउँ पग्लनु नेपालको मात्रै नभएर विश्वकै समस्या भएको बताउनुभएको छ ।

नेकपा (मसाल) केन्द्रीय कार्यालयको आयोजनामा २०८० मङ्सिर २३ गते शनिबार राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपनमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

सम्बोधनको क्रममा उहाँले भन्नुभयो– ‘नेपालको हिँउ पग्लनु नेपालको मात्रै समस्या होइन, त्यो त विश्वकै समस्या हो ।’

हिउँ पग्लदा समुद्री सतह पनि बढ्ने र यसरी विश्वका कैयौँ भूभाग छिट्टै डुब्ने तर्क गर्दै उहाँले जलवायु परिवर्तनले विश्व मानव समुदाय नै समाप्त हुने बताउनुभयो ।

महामन्त्री सिंहले भन्नुभयो– ‘यसरी हिमालको हिउँ पग्लदै जाने हो भने केही समयपछि मानव समुदायको अस्तित्व नै सङ्कटमा पर्ने छ ।’
उहाँले जलवायु परिवर्तनको प्रत्यक्ष असर कृषि उत्पादनमा पनि परेको दाबी गर्नुभयो ।

‘जलवायु परिवर्तनको असर कृषिक्षेत्रमा पनि परेको छ’ उहाँले भन्नुभयो– ‘जलवायु परिवर्तनले गर्दा अनावृष्टि, अतिवृष्टि र खण्डवृष्टि हुने, फलस्वरूप अत्यधिक गर्मी वा अत्यधिक जाडो बढ्ने जस्ता समस्याले गर्दा कृषिक्षेत्र प्रत्यक्ष रूपमा प्रभावित भएको छ ।’

उहाँले नेपालमा आवश्यकताको तुलनामा वातावरणबारे सचेतना कम रहेको पनि बताउनुभयो ।

‘केही वर्षपहिले माधव नेपाल प्रधानमन्त्री भएका बेला कालापत्थरमा मन्त्रिपरिषद्को बैठक बसेर नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान खिच्ने प्रयास भएको थियो’ उहाँले भन्नुभयो ।

त्यसका अतिरिक्त भने सरकारी तबरबाट वातावरण सचेतनाको पक्षमा तथा वातावरण विरुद्धका क्रियाकलाप रोक्न प्रयास नभएकोमा उहाँले चिन्तासमेत व्यक्त गर्नुभयो ।

सम्बोधनको क्रममा उहाँले मसालबाट राजनीतिक विषयमा प्रशस्त ध्यान दिदै गर्दा पर्यावरण सचेतनाबारे कम काम भएको स्वीकार गर्नुभयो ।

‘हाम्रो पार्टीले राजनीतिक सचेतनाको क्षेत्रमा थुप्रै काम गरेको छ’ उहाँले भन्नुभयो– ‘तर त्यही अनुपातमा हामीले पनि पर्यावरण सचेतनाको पक्षमा काम गर्न सकेका छैनौँ । यो वास्तविकतालाई हामीले स्वीकार्नुपर्दछ ।’

उहाँले मसालको तर्फबाट भू तथा पर्यावरण संरक्षण अभियान गठन भई केही गतिविधि गरेको र अन्य वातावरण संरक्षणसम्बन्धी कतिपय काम गरे पनि त्यो आवश्यकताको तुलनामा पर्याप्त नभएको बताउनुभयो ।

सचेतनाले नै वातावरणीय बिपत्बाट बचाउँछ : गाबी

कार्यक्रममा जर्मन कम्युनिस्ट पार्टी (एमएलपिडी) का नेता गावीले वातावरणीय सचेतनाले नै वातावरणीय बिपत्बाट बचाउने धारणा राख्नुपर्ने बताउनुभयो ।

उहाँले पछिल्लो केही दसकयता प्रकृति र मानव समुदायमाझको सम्बन्ध खलबलिएको बताउँदै त्यसका लागि वातावरणीय सचेतना आवश्यक रहेको बताउनुभयो ।

पुँजीवादी, साम्राज्यवादीहरूले वातावरण रक्षाको विषय उठाए पनि उनीहरूले नै त्यसको विपक्षमा काम गरेको आरोप उहाँले लगाउनुभयो ।

भर्खरै दुबईमा सम्पन्न कोप–२८ विश्व सम्मेलनको प्रसङ्ग उठाउँदै उहाँले पुँजीवादीहरू व्यवहारमा भने त्यसको विरुद्धमा गएको आरोप लगाउनुभयो ।

‘कोप–२८ सम्मेलनले सय मिलियन डलरजतिको जलवायु कोष कायम गर्ने भनेको छ’ उहाँले भन्नुभयो– ‘तर अहिलेसम्म २७० मिलियन डलरभन्दा बढी क्षति भइसकेको छ ।’

सय मिलियन डलरको कोष खडा गर्दैमा विश्वको वातावरण नजोगिने तर्क गर्दै उहाँले त्यसका लागि ऊर्जाको क्षेत्रमा हाइड्रोपावर र सौर्य ऊर्जाको उपयोग जस्ता विषयतर्फ विश्वको ध्यान जानुपर्ने बताउनुभयो ।

सम्बोधनको क्रममा उहाँले पुँजीवादीहरूले आफ्नो मुनाफा रक्षाका लागि वातावरण विनाश गर्नु स्वाभाविक रहेको बताउँदै त्यस दौरानमा वैज्ञानिक समाजवादी आन्दोलन र वातावरण रक्षाको आन्दोलनलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताउनुभयो ।

त्यस्तै, उहाँले वातावरण विनाशको क्रियाकलाप विश्वव्यापी रूपमा भइरहेको बताउँदै कुनै दिन यसै विषयलाई लिएर विश्वयुद्धसमेत हुन सक्ने चेतावनी दिनुभयो ।

‘साम्राज्यवादीहरूले मुनाफाका लागि चौतर्फी रूपमा वातावरण विनाश गरिरहेका छन् । त्यस क्रममा जङ्गलमा डढेलो लागेको छ; खानेपानीको अभाव भएको छ; खाद्यान्नको अभाव भएको छ; यी सबैको परिणामस्वरूप कार्बन उत्सर्जन बढेको छ’ उहाँले भन्नुभयो– ‘यस खालको वातावरणीय बिपत्ले तेस्रो विश्वयुद्धको सम्भावनालाई निम्त्याइरहेको छ ।’

कार्यक्रममा सम्बोधन गर्दै उहाँले पुँजीवादीहरूले जुन ५ मा विश्व वातावरण दिवस मनाउने गरेकोमा त्यसका अतिरिक्त आइकोर (क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा सङ्गठनको अन्तर्राष्ट्रिय समन्वय) ले डिसेम्बर ९ गतेलाई विश्व वातावरण दिवसको रूपमा मनाउने ठेगान गरेको जानकारी दिनुभयो ।

सोही निर्णयअनुसार मसालले आज यो कार्यक्रम सम्पन्न गरेकोमा उहाँले धन्यवादसमेत दिनुभयो ।

आइकोर एसिया समितिका प्रतिनिधि भैरवराज रेग्मीको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी सङ्घका अध्यक्ष प्राडा श्रीधर गौतमले पनि मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन साम्राज्यवाद र फासिवाद विरोधी मोर्चा (युनाइटेड फ्रन्ट) का उपाध्यक्ष सुवास जिसीले गर्नुभएको थियो ।

अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का महासचिव भीष्म जोशीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा एमएलपिडीका थोमस र क्लाउजको पनि आतिथ्य रहेको थियो ।

कार्यक्रममा जोशीले अङ्ग्रेजीबाट नेपालीमा भाषान्तर पनि गर्नुभएको थियो ।

पुस्तकबारे जानकारी

सोही कार्यक्रमको अर्को सेसनमा एमएलपिडीका नेता स्टेफन एङ्गेलद्वारा लिखित पुस्तकबारे जानकारी दिइएको थियो ।

‘बुर्जुवा प्रकृति विज्ञानको सङ्कट’ (द क्राइसिस अफ बोर्गियस नेचुरल साइन्स) शीर्षकको सो पुस्तकको विषयवस्तुबारे एमलपिडीकै अर्का नेता थोमसले जानकारी गराउनुभएको थियो ।

थोमसको उक्त प्रस्तुतिको नेपाली भाषान्तर प्राडा गौतमले गर्नुभएको थियो ।

    

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार