भट्ट दम्पतीको घोषणा : राष्ट्रिय जनमोर्चालाई सात धुर जग्गा र १० लाख रुपैयाँ दिने

धनगढी । राष्ट्रिय जनमोर्चा, कैलाली जिल्ला सदस्य शोभामणि भट्ट र उहाँका श्रीमान विष्णुदत्त भट्टले पार्टी कार्यालय निर्माणका लागि सात धुर जग्गा र १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

पुत्रशोकमा रहेका भट्ट दम्पतीले बिहीबार आयोजित एक कार्यक्रममा यस्तो घोषणा गर्नुभएको हो ।

छोरा शिवराज भट्टको स्मृतिमा पार्टी कार्यालय निर्माण गर्न जग्गा र नगद सहयोग गरेको शोभामणिले बताउनुभयो । भट्ट दम्पतीका छोरा शिवराजको २८ वर्षको उमेरमा २०७९ पुस २१ गते निधन भएको थियो ।

‘बाबुको स्मरण रहिरहोस् भनेर पार्टी अफिसका लागि जग्गा दान गरेका हौँ’ राजमो जिल्ला सदस्यसमेत रहेकी भट्टले युगदर्शनसँग भन्नुभयो, ‘छोराको स्मृति प्रतिष्ठान बनोस् भन्ने चाहना हो ।’

कैलालीको धनगढी उपमहानगरपालिका वडा नं ३ विशालनगर निवासी भट्ट दम्पतीले घरसँगै जोडिएको जग्गा पार्टीलाई दिन लाग्नुभएको हो। पार्टी कार्यालयमा एउटा कोठामा छोराको तस्बिर राखेर स्मरणमा राखिराख्ने उहाँको चाहना छ ।

जग्गा प्राप्ति भएसँगै पार्टी कार्यालय भवन निर्माण थालिने राजमो कैलालीका अध्यक्ष जगतप्रसाद जोशीले बताउनुभयो ।

‘हामीले भवन अभावले कार्यालय भवन बनाउन सकेका थिएनौँ । अब निर्माण सुरु गर्छौं’ जोशीले भन्नुभयो, ‘केही सामग्रीको व्यवस्था भइसकेको छ । साथीहरु श्रमदान गर्न तयार हुनुहुन्छ ।’

जग्गा र नगद दिनुहुने भट्ट परिवारलाई राजमोले विशेष धन्यवाद दिएको छ । अध्यक्ष जोशीले उहाँहरुको पार्टीप्रतिको योगदान अनुकरणीय रहेको बताउनुभयो ।

शोभामणि लामो समयदेखि राजमोको राजनीतिसँग जोडिनुभएको छ । पार्टीले आयोजना गर्ने हरेक संघर्षमा अग्रपंक्तिमा उभिनुहुने शोभामणिले काठमाडौंको कपनस्थित केन्द्रीय कार्यालय भवन खरिद गर्दा र बुटवलको क्षत्रीय कार्यालय निर्माणमा समेत योगदान दिनुभएको थियो ।

शोभामणि नेत्री चन्द्रबदन श्रेष्ठको बहिनी हुनुहुन्छ । संघर्षशील महिला नेत्री चन्द्रबदनको अखिल नेपाल महिला संघको केन्द्रीय सल्लाहकार रहेकै बेला करिब दुई वर्षअघि निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार