माओजयन्तीमा मसालको अभिनन्दन

काठमाडौँ । नेकपा (मसाल) ले एक सय एकतिसौँ जन्मजयन्तीको अवसरमा क्रान्तिकारी अभिनन्दन व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० पुस १० गते जारी प्रेसवक्तव्यमार्फत् अभिनन्दन गरिएको हो ।

माओका योगदानको बारेमा सङ्क्षिप्तमा चर्चा गरिएको प्रेसवक्तव्यमा क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन आफूहरूले प्रतिबद्धता व्यक्त गरिएको छ ।

यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

“१३१ औँ माओदिवसको उपलक्ष्यमा हामीले विश्वका सम्पूर्ण मुक्तिकामी जनताप्रति क्रान्तिकारी अभिनन्दन गर्न चाहन्छौँ ।

का. माओले क्रान्तिको सैद्धान्तिक आयामलाई फराकिलो बनाउनुका साथै अर्धऔपनिवेशिक तथा अर्धसामन्ती देशमा हुने क्रान्तिको चरित्रको निर्धारण गर्नुभएको थियो । नयाँ जनवादी क्रान्तिको अवधारणालाई स्थापना गर्दै समाजवाद, साम्यवादको दिशामा क्रान्तिलाई अगाडि बढाउनुपर्ने माओले ऐतिहासिक योगदान दिनुभएको थियो । किसानवर्गको उच्च भूमिकालाई माओले सैद्धान्तिक व्याख्या गर्नुका साथै क्रान्तिको जीवनमा व्यावहारिक रूप दिनुभएको थियो । माओले संशोधनवादी धाराका विरुद्ध सम्झौताहीन सङ्घर्ष गर्नुको साथै क्रान्तिकारी धाराको नेतृत्व गर्नुभएको थियो । सांस्कृतिक रूपान्तरणका लागि भएको महान सर्वहारा सांस्कृतिक क्रान्तिको ऐतिहसिक शिक्षालाई क्रान्तिकारीहरूले सर्वदा आत्मसात गर्ने छन् ।

अहिले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थाबाट गुज्रिरहेको छ । दक्षिणपन्थी अवसरवादले कम्युनिस्ट आन्दोलनलाई धरासायी बनाएको छ । दक्षिणपन्थी अवसरवाद लगायत विभिन्न भड्कावका विरुद्ध सम्झौताहीन वैचारिक सङ्घर्ष गरेर क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनुपर्ने गम्भीर दायित्व क्रान्तिकारी कम्युनिस्टको काँधमा रहेको छ । त्यो जिम्मेवारी पूरा गर्न हामीले प्रतिबद्धता व्यक्त गर्दछौँ र क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको विकासमा उच्च योगदान पुर्‍याउन हामीले सम्पूर्ण जनतासित हार्दिक अपिल गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार