इमेजका बचतकर्ताको रकम फिर्ता गर्छु : ढोरपाटनका फरार मेयर

काठमाडौं । नौ महिनादेखि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली घरजग्गा बेचेर इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम फिर्त गर्ने दोहोर्याएका छन् ।

माघ १९ गतेको मितिमा सार्वजनिक अपिल जारी गर्दै उनले आफू र श्रीमतीका नाममा रहेको सम्पूर्ण चलअचल सम्पत्ति सहकारीको नाममा गरिदिने प्रतिबद्धता दोहोर्याएका हुन्। यसअघि मंसिर ५ गते पनि उनले सामाजिक सञ्जालमार्फत् पीडितहरुको बचत फिर्ता गर्न आफ्नो सम्पत्ति बेच्न तयार रहेको बताएका थिए।

उनले आफू र श्रीमतीको नाममा रहेको जग्गाको कित्ता नम्बरसमेत उल्लेख गर्दै ती जग्गा र सम्पत्ति केही व्यक्तिगत कमाइ र केही सहकारीकै सेयर सदस्यहरूको रकमबाट किनिएको स्वीकारेका छन्।

इमेज बचत तथा ऋण सहकारीका संस्थापक रहेका नेपाली बचतकर्ताको रकम हिनामिना गरी करिब ९ महिनादेखि फरार छन्। उनीमाथि पोखरा र बागलुङका बचतकर्ताको १ अर्ब ५६ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ।

त्यसबाहेक नेपालीले ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र गरिमा विकास बैंकको गरी झण्डै ३५ करोड ऋण लिएको देखिएको छ।

नेपालीविरुद्ध १ हजार ५५० जनाले जिल्ला अदालतमा सहकारी ठगीको मुद्दा दिएका छन्। उनीहरुको १ अर्ब ६० करोड रकम हिनामिना भएको जाहेरीमा उल्लेख छ। यता पोखरामा ५२४ बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन्।

उजुरी दिने बचतकर्ताले ५७ करोड ९४ लाख रुपैयाँ ठगी गरेको दाबी गरेका छन्।

यसअघि इमेज बचतकर्ता पीडितहरुले संघर्ष समिति नै बनाएर उनको सम्पत्ति लिलामीको घोषणा गरेका थिए।

उनीविरुद्ध प्रहरीले रेडकर्नर नोटिस पनि जारी भएको छ।

   

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार