लेनिनवादी सङ्गठनात्मक स्वरूपबारे

आनन्द शर्मा ##

पेरिस कम्युनिदेखि रुस, चीनलगायतका संसारभरिका महान् क्रान्तिबाट थाहा हुन्छ कि क्रान्तिकारी कम्युनिस्ट पार्टीबिना क्रान्ति सम्भव हुँदैन । क्रान्ति सम्पन्न गर्न र त्यसलाई टिकाइराख्नका लागि क्रान्तिकारी पार्टी महत्त्वपूर्ण हुन्छ ।

सही सिद्धान्त र राजनीतिक कार्यदिशा निश्चित गरिसकेपछि पार्टी सङ्गठन महत्त्वपूर्ण बन्न जान्छ । जतिसुकै सही सिद्धान्त र राजनीति अख्तियार गरे पनि अनुशासित र बलियो सङ्गठन भएन भने त्यो कागजी बन्ने खतरा हुन्छ । त्यसैले सही सिद्धान्त र राजनीतिका साथै अनुशासित र मिलिट्यान्ट पार्टी सङ्गठनले पनि त्यत्तिकै महत्त्व राख्दछ ।

कस्तो प्रकारको वा कस्तो चरित्रको सङ्गठन बनाउने भन्ने कुरा पार्टीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा निर्भर गर्दछ । संसारमा पार्टी सङ्गठन सञ्चालन गर्नका लागि मुख्य रूपमा दुई प्रकारका प्रणाली अपनाएको पाइन्छ : प्रथम– सामाजिक जनवादी प्रणाली र द्वितीय– लेनिनवादी सङ्गठनात्मक प्रणाली । सामाजिक जनवादी प्रणाली मूलत: बुर्जुवा संसदवादी पार्टीले अपनाएको पाइन्छ भने क्रान्तिकारी कम्युनिस्ट पार्टीले लेनिनवादी सङ्गठनात्मक प्रणाली अपनाउँदै आएका छन् । सामाजिक जनवादी प्रणालीको तुलनामा लेनिनवादी सङ्गठनात्मक प्रणाली गुणात्मक रूपमा नै भिन्न हुन्छ ।

वर्तमान परिस्थितिमा विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको छ । रुस, चीनलगायतका देशमा समाजवादको पराजयपश्चात् विश्व कम्युनिस्ट आन्दोलन कमजोर बन्न पुगेको छ तर ती देशमा भएको समाजवादको हार र विश्व कम्युनिस्ट आन्दोलनको कमजोर अवस्था दुवै अस्थायी कुरा हुन् । साम्राज्यवादको अन्त्य र साम्यवादी समाजको निर्माण अवश्यम्भावी छ ।

नेपालका कम्युनिस्टले नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नुको विकल्प छैन । त्यसका लागि अजेय मार्क्सवाद–लेनिनवाद–माओत्सेतुङ विचारधाराले पथप्रदर्शन गर्दछ । क्रान्तिकरी उद्देश्य हासिल गर्नका लागि लेनिनवादी सङ्गठनात्मक सिद्धान्तका आधारमा पार्टीसङ्गठन निर्माण गर्नु अनिवार्य बन्न जान्छ । आफूलाई कम्युनिस्ट पार्टी बताउने एमाले, माओवादीलगायतका संशोधनवादी र अवसरवादी पार्टीले लेनिनवादी सङ्गठनात्मक सिद्धान्त छाडिसकेका छन् । उनीहरूलाई यसको अब आवश्यकता छैन । क्रान्ति गर्नका लागि लेनिनवादी सङ्गठनात्मक प्रणालीमा आधारित सङ्गठन आवश्यकता पर्दछ । क्रान्तिको नेतृत्व गर्न र सुनिश्चित गर्न सक्ने पार्टीसङ्गठन आवश्यक पर्दछ । जसलाई क्रान्ति गर्नु छैन, जसले साम्राज्यवादसामु घुँडा टेकिसकेका छन्, उनीहरूको लागि लेनिनवादी सङ्गठनात्मक सिद्धान्तको अब कुनै औचित्यता बाँकी रहेको छैन ।

मार्क्स र एङ्गेल्सले दर्शन र सिद्धान्तका क्षेत्रमा नै बढी योगदान गर्नुभयो । माक्र्सवादलाई लागु गर्ने दौरानमा सङ्गठनात्मक प्रश्नमा लेनिनले विस्तृत रूपमा व्याख्या गर्नुभयो । प्रथम र द्वितीय अन्तर्राष्ट्रियको समयमा कम्युनिस्ट पार्टीको कुनै मौलिक सङ्गठनात्मक नीति र सिद्धान्त थिएन । कम्युनिस्ट पार्टीको सङ्गठनात्मक स्वरूप पनि मूलत: बुर्जुवा पार्टीको सामाजिक प्रजातन्त्रवादी प्रकारको जस्तै रहेको थियो । कम्युनिस्ट अन्तर्राष्ट्रियभित्र पनि विभिन्न गुट वा समूहले बेग्लाबेग्लै प्रकारले काम गर्दथे । विभिन्न गुट र उनीहरूको क्रियाकलापकै कारणले प्रथम अन्तर्राष्ट्रिय विघटन गनुपरेको थियो ।

मार्क्सको मृत्युपछि एङ्गेल्स र कार्ल काउत्स्कीको नेतृत्वमा गठित द्वितीय अन्तर्राष्ट्रियमा पनि सङ्गठनात्मक अवस्था उस्तै थियो । एङ्गेल्सको मृत्युपश्चात् दोस्रो अन्तर्राष्ट्रियले दक्षिणपन्थी बाटो समात्न पुग्यो । दोस्रो अन्तर्राष्ट्रिय दक्षिणपन्थी दिशामा गएपछि लेनिनले दोस्रो अन्तर्राष्ट्रियसँग सम्बन्ध तोडेर नयाँ ढङ्गको कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्ने विचार अगाडि सार्नुभयो । सशस्त्र सेनासहित निकै बलियो अवस्थामा रहेको प्रतिक्रियावादी राज्यव्यवस्थालाई ध्वस्त गर्नका लागि सामान्य प्रकारको पार्टी सङ्गठनले सम्भव हुँदैन । त्यसका लागि विशेष प्रकारको नियम र अनुशासनमा आधारित मिलिटेन्ट सङ्गठन आवश्यकता पर्दछ । लेनिनले क्रान्तिकारी सिद्धान्त र राजनीतिका साथै नयाँ ढङ्गको पार्टीसङ्गठन निर्माण गर्ने कुरामा जोड दिनुभयो ।

त्यो बेलामा रुसको पार्टीको अवस्था पनि सङ्गठनात्मक रूपमा अन्तर्राष्ट्रियकै जस्तो थियो । विभिन्न समूह थिए । बेग्लाबेग्लै समुहमा विभाजित भद्रगोल प्रकारको पार्टीसङ्गठनका ठाउँमा केन्द्रीकृत अनुशासित सङ्गठन निर्माण गरेर नै क्रान्तिकारी भूमिका खेल्न सम्भव हुन्थ्यो । सन् १९०३ मा सम्पन्न रुसको पार्टीको दोस्रो महाधिवेशनमा नयाँ ढङ्गको पार्टी सङ्गठन निर्माण गर्ने ठोस प्रस्ताव प्रस्तुत गर्नुभयो । लेनिनले अगाडि सार्नुभएको सो प्रस्तावमा मार्तोभलगायतले तीव्र विरोध गरे । महाधिवेशनमा लेनिनका प्रस्तावका विषयमा तीव्र मतभेद देखा पर्‍यो । मतभेदका बिच महाधिवेशनमा लेनिनकोे प्रस्ताव बहुमतद्वारा पारित भयो । सोही मतभेदका कारण रुसको पार्टी विभाजितसमेत भयो तर लेनिनले सङ्गठनात्मक नीतिको विषयमा सम्झौता गर्नुभएन । लेनिनले निर्माण गरेको नयाँ ढङ्गको कम्युनिस्ट पार्टीकै नेतृत्वमा सन् १९१७ मा महान अक्टोबर क्रान्ति सम्पन्न भयो ।

सन् १९२१ मा रुसमा सम्पन्न कम्युनिस्ट अन्तर्राष्ट्रियको तेस्रो महाधिवेशनमा लेनिनले ‘कम्युनिस्ट पार्टीको सङ्गठन र यसको स्वरूप’ सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभयो र महाधिवेशनले लेनिनको सो प्रस्तावलाई स्वीकार गर्‍यो । यसरी लेनिनवादी सङ्गठनात्मक सिद्धान्तको निर्माण भयो । स्टालिन र माओले लेनिनवादी सङ्गठनात्मक सिद्धान्तलाई थप विकास गर्नुभयो ।

लेनिनले कम्युनिस्ट पार्टीको सङ्गठनलाई सर्वहारा वर्गको अग्रदस्ता, क्रान्तिको माध्यम र नेताहरूको सङ्गठन बताउनुभएको छ । कम्युनिस्ट पार्टीले सर्वहारा वर्गको प्रतिनिधित्व गर्दछ । सर्वहारा वर्ग आधुनिक युगको सबैभन्दा उन्नत, विकसित, आधुनिक र क्रान्तिकारी वर्ग हो । कम्युनिस्ट पार्टी त्यसको अग्रदस्ता हो । बेग्लाबेग्लै देशका फरक फरक ठाउँका आआफ्ना विशेषता हुन्छन् । परिस्थिति पनि फरक फरक हुन सक्छ । पार्टीसङ्गठनलाई प्रथम पार्टीको उद्देश्यको आधारमा र द्वितीय सङ्घर्षको परिस्थितिअनुरूप ढाल्नुपर्दछ तर ती सबै अवस्थामा पार्टीसङ्गठनलाई सर्वहारा वर्गको अग्रदस्ताको रूपमा उभ्याउन सक्नुपर्दछ । पार्टीका लागि कहिले अनुकूल स्थिति हुन्छ भने कहिले प्रतिकूल हुन्छ । कहिले खुला परिस्थिति हुन्छ, कहिले भूमिगत हुन्छ तर सबै परिस्थितिमा पार्टीसङ्गठनले श्रमिक वर्गको अगुवाको रूपमा परिचालन गर्नुपर्दछ ।

पार्टी सङ्गठन जडताबाट बच्नुपर्दछ । परिस्थितिको मूल्याङ्कन गरी बदलिएको परिस्थितिमा सङ्घर्षको अगुवाइ गर्ने गरी गतिशील बनाउनुपर्दछ । पार्टीसङ्गठनलाई गतिशील र परिमार्जित रूपमा अगाडि बढाउने दौरानमा सङ्गठनका आधारभूत सिद्धान्तलाई केन्द्रमा राखेर नै काम गर्नुपर्दछ । सङ्घर्षको अवस्था र बदलिएको परिस्थितिअनुरूप ढाल्न नसक्ने हो भने सर्वहारा वर्गको अग्रदस्ताको रूपमा भूमिका खेल्न सम्भव हुँदैन ।

जस्तो कि लेनिन भन्नुहुन्छ : “पार्टीसङ्गठनलाई परिस्थिति र पार्टीको उद्देश्यअनुरूप ढाल्नुपर्दछ । क्रान्तिकारी वर्गसङ्घर्षको सबै परिस्थितिमा तथा समाजवादको स्थापना वा साम्यवादी समाजको पहिलो चरणतिर अग्रसर हुँदै त्यसपछिको सङ्क्रमणकालमा कम्युनिस्ट पार्टीले अग्रदस्ता, सर्वहारा वर्गको अग्रचौकीको कार्य गर्नुपर्दछ” (कम्युनिस्ट पार्टी का संगठन और उसका ढाँचा, पृष्ठ ५) ।
प्रतिक्रियावादी सत्ताका विरुद्ध सङ्घर्ष गरेर उसलाई ध्वस्त गर्नु र उसको हातबाट सत्ता खोसेर लिनु नै कम्युुनिस्ट पार्टीको मुख्य कार्यभार हो । प्रतिक्रियावादीको हातबाट सत्ता नखोसिकन राष्ट्र र जनताको मुक्ति सम्भव हुँदैन । त्यसका लागि आम श्रमिक वर्गलाई सङ्गठित गर्नु, प्रशिक्षित पार्नु र सङ्घर्षमा परिचालन गर्ने कार्य सङ्गठनको माध्यमबाट गर्नुपर्छ ।

लेनिनले पार्टीसङ्गठनलाई क्रान्तिको माध्यम भएको बताउनुभएको छ । प्रतिक्रियावादीको हातबाट सर्वहारा वर्गले सत्ता खोस्ने माध्यमको रूपमा कम्युनिस्ट पार्टीले काम गर्दछ । कम्युनिस्ट पार्टीको हतियार सङ्गठन हो । लेनिनको शब्दमा “….पार्टीको हरेक सदस्य र क्रान्तिकारी मजदुरको भावी क्रान्तिकारी सेनाको सम्भावित सैनिकको रूपमा हेर्नुपर्दछ” (उही, पृ. ४०) । यसरी पार्टीसङ्गठन अनुशासित र मिलिटेन्ट हुनुपर्ने कुरामा लेनिनवादी सङ्गठनात्मक पद्धतिले जोड दिन्छ ।

कम्युनिस्ट पार्टी नेताहरूको सङ्गठन भएको कुरा लेनिनले बताउनुभएको छ । कम्युनिस्ट पार्टीका सदस्यहरू आम जनताभन्दा चेतनाको स्तर माथि उठेको हुनुपर्दछ । सर्वहारा दृष्टिकोण र विचारद्वारा प्रशिक्षित गरेर मात्र पार्टीमा भर्ती गर्नुपर्ने हुन्छ । जथाभावी व्यक्तिलाई पार्टीमा भर्ती गर्ने कुरा कम्युनिस्ट आन्दोलनमा घातक हुन्छ । सबै प्रकारका मानिसलाई पार्टीमा सामेल गर्ने कार्यले पार्टीलाई भुत्ते बनाउने मात्र होइन, कम्युनिस्ट पार्टी पतनको कारण पनि बन्न सक्छ ।

नेपालका सन्दर्भमा एमाले र माओवादीको उदाहरण हाम्राअगाडि छ । उनीहरूले पार्टीमा सबै प्रकारका मानिसलाई सामेल गरेर सङ्ख्यात्मक रूपमा केही ठुलो पार्टी त बनाए तर ती पार्टीले कुनै क्रान्तिकारी भूमिका खेल्न नसक्ने मात्र होइन, उनीहरूको चरित्र प्रतिक्रियावादीको जस्तो बन्दै गएको छ । जनताको सङ्घर्षबाट खारिएका र क्रान्तिकारी चेतनाको स्तर माथि उठेका व्यक्तिलाई मात्र पार्टीमा सामेल गर्नुपर्ने कुरामा लेनिनले जोड दिनुभएको छ ।

नेतृत्वको बारेमा लेनिन भन्नुहुन्छ : “बढीभन्दा बढी सम्भावित प्रहारको क्षमता तथा बदलिदो सङ्घर्षको परिस्थितिअनुरूप ढाल्ने कम्युनिस्ट पार्टी र यसको नेतृत्वदायी कमिटीको क्षमता—यी दुईको जीवन्त योगदान नै वर्गसङ्घर्षमा नेतृत्वको अर्थ हो । यसका अलावा सफल नेतृत्वका लागि सर्वहारा जनतासँग निकट सम्बन्ध नितान्त आवश्यक हुन्छ । यस प्रकारको सम्बन्धबिना नेतृत्वले जनताको अगुवाइ गर्न सक्दैन । बढीभन्दा बढी जनताको पछि पछि जान सक्दछ” (उही, पृ. ८) ।

माथिको भनाइबाट पार्टीसङ्गठन र नेतृत्वमा प्रथम आवश्यकताअनुसार बढीभन्दा बढी प्रहार गर्न सक्ने क्षमता र बदलिएको सङ्घर्षको परिस्थितिअनुकूल आफूलाई ढाल्न सक्ने क्षमताको समिश्रण तथा श्रमिक जनतासँग निकटतम सम्बन्ध बनाइराख्ने क्षमता हुनु आवश्यक हुन्छ ।

लेनिनवादी सङ्गठनात्मक सिद्धान्तको दुईओटा मुख्य पक्ष रहेका छन् : प्रथम– जनवादी केन्द्रीयता, द्वितीय– छलफलमा स्वतन्त्रता काममा एकता । जनवाद र केन्द्रीयताको समिश्रण नै जनवादी केन्द्रीयता हो । जनवाद स्वतन्त्रता वा अधिकारसँग सम्बन्धित छ ।

जनवाद तलबाट लागु हुन्छ । केन्द्रीयता माथिबाट लागु हुन्छ र स्वतन्त्रतालाई सीमित गर्ने कुरासँग सम्बन्धित छ । यसरी हेर्दा जनवाद र केन्द्रीयता विपरीत तत्त्व जस्तो देखिन्छ । यी दुई विपरीत तत्त्वको समिश्रणबाट जनवादी केन्द्रीयताको नियम बनेको छ । जनवादी केन्द्रीयतामा केन्द्रीयता भनेको औपचारिक र यान्त्रिक हुनुहुँदैन । त्यसैगरी, जनवाद भन्नाले सर्वहारा जनवाद भन्ने बुझ्नुपर्दछ ।

प्रतिक्रियावादीहरूले जनवादी केन्द्रीयता सिद्धान्तको सुरुदेखि नै विरोध गर्दै आएका छन् । व्यक्ति समितिको मातहतमा, अल्पमत बहुमतको मातहतमा, तल्ला समिति माथिल्लो समितिको मातहतमा, सम्पूर्ण समिति केन्द्रीय समितिको मातहत र केन्द्रीय समिति महाधिवेशनको मातहत हुन्छ । दुई महाधिवेशनको बिचमा केन्द्रीय समिति सर्वोच्च निकाय हुन्छ भने महाधिवेशन चलेको बेलामा महाधिवेशन सर्वोच्च निकाय हुन्छ । यो केन्द्रीयता हो ।

आफूलाई लागेका विषय वा मत आफ्नो सम्बन्धित समितिमा राख्न पाउने, आफूभन्दा माथिल्लो समिति वा सिधै केन्द्रमा राख्न पाउने वा फोरम चलेको बेलामा सम्पूर्ण पार्टीव्यापी रूपमा छलफल चलाउन मिल्दछ । प्रत्येक सदस्यको चुन्ने र चुनिन पाउने अधिकार सुरक्षित हुन्छ । सबै तहका समिति तलबाट आएका प्रतिनिधिहारा निर्वाचित हुने व्यवस्था हुन्छ । यो जनवाद हो ।

जनवादी केन्द्रीयता सिद्धान्तको विषयमा दुई प्रकारका समस्या भएको पाइन्छ : प्रथम– घोषित रूपमै विरोध गर्ने प्रवृत्ति† द्वितीय– सिद्धान्तत: स्वीकार गर्ने तर व्यवहारमा लागु नगर्ने ।

पहिलो प्रकारको विरोध सबै खाले प्रतिक्रियावादी र सशोधनवादी तथा अवसरवादीले गर्ने गर्दछन् । उनीहरूले केन्द्रीयताका कारण तानाशाही हुन्छ; व्यक्तिगत स्वतन्त्रताको समाप्त हुन्छ; सर्वहारा वर्ग र जनतामाथि तानाशाही लगाउँछन् भन्ने प्रकारको दुष्प्रचार गर्ने गरेका छन् । कम्युनिस्ट पार्टीमा लागु हुने केन्द्रीयता सर्वहारा जनवादसमेतको केन्द्रीयता हुन्छ । त्यसकारण त्यो तानाशाही हुने प्रश्न आउँदैन ।

यस सम्बन्धमा लेनिनले भन्नुभएको छ– “कम्युनिस्ट पार्टीसङ्गठनमा केन्द्रीकरणको मतलब औपचारिक र यन्त्रिक केन्द्रीकरण हुँदैन । त्यो कम्युनिस्ट गतिविधिको केन्द्रीकरण हुन्छ । यसको मतलब यस्तो एउटा नेतृत्वको निर्माण हुन्छ, जुन युद्धका लागि तयार हुनुका साथै आफूलाई जुनसुकै परिस्थितिअनुकूल ढाल्ने क्षमता राख्दछ” (उही, पृ. ८) ।

प्रतिक्रियावादी राज्यव्यवस्था सेनापुलिससहित धेरै नै सङ्गठित र व्यवस्थित रूपमा हतियारद्वारा लेस भएको हुन्छ । त्यस प्रकारको बलियो राज्यव्यवस्थालाई उखेलेर फाल्नका लागि सामान्य प्रकारको सङ्गठनले सक्दैन । त्यसका लागि अनुशासित र मिलिट्यान्ट सङ्गठन आवश्यकता पर्दछ । त्यस प्रकारको अनुशासित, मिलिट्यान्ट पार्टीसङ्गठन निर्माणका क्रममा नै लेनिनको नेतृत्वमा लेनिनवादी सङ्गठनात्मक सिद्धान्तको विकास भयो । सो सिद्धान्तको महत्त्वपूर्ण पक्ष जनवादी केन्द्रीयता हो । यसमा जनवाद र केन्द्रीयताको उचित सम्मिलन हुन्छ ।

जनवादी केन्द्रियताका विषयमा अर्को पक्षप्रति पनि हाम्रो ध्यान जान जरुरी हुन्छ । त्यो हो– अराजकता र नोकरशाही प्रवृत्ति । केन्द्रीयता बढी भयो भने अर्थात् यान्त्रिक प्रकारको केन्द्रीयता अपनाइयो भने त्यसले नोकरशाही रूप लिन्छ । त्यसैगरी जनवादमा मात्र बढी जोड दिइन्छ र केन्द्रीयतालाई एक वा अर्को रूपमा अस्वीकार गरिन्छ भने अराजकता पैदा हुन्छ । लेनिनवादी सङ्गठनात्मक सिद्धान्तले

अराजता र नोकरशाही दुवैलाई दृढतापूर्वक अस्वीकार गर्दछ र विरोध गर्दछ । पार्टीभित्र प्रायश: यस्ता समस्या देखा परिरहने गर्दछन् । एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्र जनवादी केन्द्रीयतालाई सही ढङ्गले अपनाउन सक्दछ ।

लेनिनवादी सङ्गठनात्मक प्रणालीको अर्को महत्त्वपूर्ण सिद्धान्त हो– छलफलमा स्वतन्त्रता, काममा एकता ।

निर्णयप्रक्रियाका समयमा आफ्ना विचार राख्न सबै सदस्य स्वतन्त्र हुन्छन् । निर्णय नहुँदासम्म आफ्नो मत वा विचारको बारेमा स्वीकृत नियमभित्र रहेर छलफल चलाउन पाउनु पार्टीसदस्यको जनवादी अधिकार हुन्छ । एकपटक निर्णय भइसकेपछि त्यसलाई लागु गर्ने कुरामा एकमना एकताका साथ दृढतापूर्वक लाग्नु पर्दछ । आफ्नो मत पारित नभएता पनि आफ्नो कमिटीमा मत सुरक्षित राख्न पाइन्छ तर आफ्नो मत पारित नभएकाले काममा एकता कायम नगर्ने, एक वा अर्को प्रकारले कार्यान्वयनमा बाधा पुर्‍याउने छुट हुँदैन ।

विगतमा पार्टीमा छलफलमा स्वतन्त्रता, काममा एकताको सिद्धान्तको उल्लङ्घन गरेका कारणले पार्टीमा क्षति पुग्ने गरेको छ । आफूले चाहे जस्तो निर्णय भयो भने काममा लाग्ने तर सोबमोजिमको निर्णय भएन भने कार्यान्वयनमा बाधा पुर्‍याउने, गुटबन्दी गर्ने, पार्टीको नीति र निर्णयलाई होच्याउने जस्तो प्रवृत्ति विगतमा देखा पर्ने गरेका छन् । त्यस प्रकारका प्रवृत्तिका विरुद्ध सिङ्गो पार्टी पङ्क्ति सधैँ चनाखो रहनुपर्ने आवश्यकता हुन्छ ।

रुसको पार्टीको दोस्रो महाधिवेशनद्वारा स्वीकृत निर्णयको मेन्सेभिकले उल्लङ्घन गरेपछि उनीहरूले भनेका थिए– ‘के महाधिवेशन भगवान् हो ?’ त्यस्तो प्रवृत्ति हाम्रो पार्टीमा पनि कैयन्पटक देखा पर्ने गर्दछ । छलफलमा स्वतन्त्रता, काममा एकताको सिद्धान्तलाई पार्टीभित्र कडाइपूर्वक कार्यान्वयन गरेर जानुपर्दछ ।

नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले ऐतिहासिक तीन अभियानका दौरानमा कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रूपान्तरण गर्ने निर्णय गरेको छ । क्रान्तिकारी रूपान्तरण पार्टीसङ्गठनका क्षेत्रमा पनि गर्ने कुरालाई जोड दिइएको छ । देशका अन्य राजनीतिक दलका तुलनामा नेकपा (मसाल) को सङ्गठनको अनुशासन, चरित्र र स्तर माथि छ तर लेनिनवादी सङ्गठनात्मक स्वरूपको स्तरमा नभएको कुरा पार्टीले स्वीकार गरेको छ ।

हाम्रो देश अहिले पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको छ । देशको अर्धसामन्ती र अर्धऔपनिवेशिक तथा पिछडिएको अवस्थाबाट मुक्त गर्नका लागि नयाँ जनवादी क्रान्ति आवश्यक छ । नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नका लागि तदनुरूपको सही सिद्धान्त र राजनीतिका साथै लेनिनवादी स्वरूपको पार्टीसङ्गठनको पनि त्यत्तिकै आवश्यकता छ । त्यसका लागि अहिलेको सङ्गठनात्मक स्वरूपमा क्रान्तिकारी रूपान्तरण गर्नु अनिवार्य आवश्यकता बन्न गएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार