धादिङ दुर्घटनाका मृतकहरूप्रति राजमोद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले धादिङ दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै राजमोले घाइतेको शीघ्रस्वास्थ्यलाभको कामना तथा यथाशीघ्र उपचारको व्यवस्था गर्न पनि माग गरेको छ ।

उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८० फागुन २३ गते बुधबार प्रेसवक्तव्य जारी गर्दै राजमोले जानकारी गराएको हो ।

पछिल्लो समयमा दुर्घटना बढ्दै गइरहेको बताउँदै राजमोले त्यसलाई रोक्न सरकारले तत्कालै ठोस कदम उठाउन माग गरेको छ ।

यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

“कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस २०८० फागुन २३ गते बुधबार बिहान धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेसीमा दुर्घटना हुँदा हालसम्म एक महिलासहित सात जनाको मृत्यु तथा ३० जनाभन्दा बढी घाइते भएको जानकारी प्राप्त भएको छ ।

राष्ट्रिय जनमोर्चाले उक्त घटनाप्रति दु:ख व्यक्त गर्दै त्यसमा ज्यान गुमाउने मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । त्यसका साथै हामी मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दछौँ । घाइते यथाशीघ्र उपचारको व्यवस्था मिलाउन पनि सम्बन्धित प्रशासनसित माग गर्दछौँ ।

देशमा पछिल्लो समयमा सडक दुर्घटनाहरू बढेर गएका छन् । त्यसले गर्दा ठुलो सङ्ख्यामा जनधनको क्षति भइरहेको छ । यसरी देशमा दुर्घटना बढेर जानु चिन्ताको विषय हो । यस खालका दुर्घटना रोक्नेतर्फ सरकारको ध्यान जानुपर्दछ । यस सम्बन्धमा तत्कालै ठोस कदम उठाउनुपर्ने आवश्यकताप्रति हाम्रो पार्टीले सरकारको ध्यानाकर्षण गराउन चाहान्छ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार