अहिलेको यो सरकारलाई समर्थन गर्न सकिन्न : केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद चित्रबहादुर केसीले वर्तमान पुष्पकमल दाहाल सरकारलाई समर्थन गर्न नसकिने बताउनुभएको छ ।

२०८० फागुन ३० गते बुधबार प्रतिनिधि सभामा विश्वासमत प्राप्त गर्नेसम्बन्धी बैठकमा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

अध्यक्ष केसीले मन्तव्यको क्रममा काङ्ग्रेस, एमाले, माओवादी केन्द्र सबैलाई आफूले चिनेको बताउनुभयो ।

गत वर्ष पुस १० गते एमालेको समर्थनमा बहालवाला प्रधानमन्त्रीलाई राजमोबाहेक सबैले समर्थन गरेको प्रसङ्ग जोड्दै अध्यक्ष केसीले राजमोले यस खालको गैरसैद्धान्तिक राजनीतिक नगर्ने आसय व्यक्त गर्नुभयो ।

संसदवादी राजनीतिको विकृतिबारे चर्चा गर्दै उहाँले वर्तमान सरकाले विकृति, विसङ्गतिलाई प्रश्रय दिने भाव व्यक्त गर्नुभयो ।

यस्तो छ, अध्यक्ष केसीद्वारा संसद्मा प्रस्तुत मन्तव्यको सम्पादित अंश :

आज यो सरकारले विश्वासको मत मागेको छ । यो समेत गरेर तीनपटक हुन्छ विश्वासको मत मागेको ।

पोहोर साल पुस १० गते काङ्ग्रेस र वर्तमान प्रधानमन्त्रीमाझ को प्रधा मन्त्री हुने भन्ने ठुलो डिसकस भएको थियो । मैले भनेको थिएँ– तपाईंहरू दुई जनामध्ये जो बालकोट गए पनि राष्ट्रिय जनमोर्चाले तपाईंहरूलाई भोट दिन्न ।

यो संसदीय व्यवस्था त के भयो भनेर भन्दाखेरी जसरी पनि जति खर्च गरेर हुन्छ, चुनावमा जितेर आउनुपर्ने । यहाँ आइसकेपछि जसरी भए पनि सरकारमा सामेल हुनुपर्ने । सरकारमा सामेल भएर टेबुल माथिबाट भए पनि, टेबुल तलबाट जहाँबाट भए पनि चुनावमा खर्च गरेको पैसा असुल गर्नुपर्‍यो नि त । यसकारणले सरकारमा जानुपर्ने, समर्थन दिनुपर्ने, सरकारमा जान नपाए भट्टेसराप गर्ने । यो प्रवृत्ति छ । यो संसदीय व्यवस्थाको नकारात्मक पक्ष हो । यसको हामी सबै सिकार भएका छौँ ।

एउटा गाउँमा दुई जना मान्छे रहेछन् । एक जना अलि गरिब मान्छे रहेछ । अर्को एक जना अलि घरमा खान पुग्ने मान्छे रहेछन् ।

ती दुई जना भएर माछा मार्न गएछन् । दुवालो दुईटैले थुने । माछा दुईटैले मारे । माछा एकै ठाउँ राखे । माछा खासै धेरै मरेन ।

नमरेपछि अर्काे अलि कमजोर मान्छेले के भन्यो भने तपार्इंलाई पनि छाक नपुग्ने, मलाई पनि छाक नपुग्ने । यो माछा मलाई बेच्नुहोस् ।

त्यसपछि अलि हुनेखाने मान्छेले अर्काे गरिब मान्छेलाई एक मोहोरमा त्यो माछा बेच्यो तर कहिल्यै पनि बेच्ने मान्छले पैसा दिँदै दिन्न ।

माछा बेच्नेले के भन्दो रहेछ भने तिमी कति बेइमानी हौ । त्यति दु:ख गरेर मैले माछा मारे, तिमीले उधारो लग्यौ । पैसा त दिँदै दिन्नौँ भन्दो रहेछ माछा बेच्नेले । माछा लगेर खानेले के भन्दो रहेछ भने म जस्तो गरिबलाई ऋणमा पारेर जहाँ पनि पैसा माग्ने ? मेरो कति बेइज्जत भएको छ भन्दो रहेछ जवाफमा

गत पुसमा सबै बालकोट पुगेको हैन ? ९९ सय प्रतिशतले समर्थन गरेको हैन ? वर्तमान प्रधानमन्त्रीलाई के देख्नुभएको थियो र समर्थन गर्नुभयो तपाईंहरूले ल भन्नुस् । राष्ट्रिय जनमोर्चाले समर्थन गरेन नि ।

तपाईंहरूले भन्दा राष्ट्रिय जनमोर्चाले वर्तमान प्रधानमन्त्रीसँग लामो सङ्गत गरेको छ । चिन्दछौँ हामीले उहाँलाई । फेरि बालकोटबाट फर्केपछि फेरि समर्थन गर्‍यौँ नि त । त्यसो हुनाले संसद्मा भएको आफ्नो ६४ प्रतिशत मत छओटा प्रदेशमा आफ्नो सरकार, त्यसलाई बालकोटले के गर्‍ये ? छातीमा हात राखेर भन्नुहोस् त साथीहरू, त्यो ठिक थियो ? भत्काउन हुन्थ्यो ? गठबन्धन बन्नुको कारण के हो ? त्यसकारण यो गठबन्धन भत्काउनैपर्ने जोड के हो भने यसमा त काङ्ग्रेस छ नि ।

सम्भव थियो २०४६ सालमा काङ्ग्रेस नमिसिएको भए पञ्चायत फाल्न ? मैले काङ्ग्रेसको तारिफ गरेको हैन । काङ्ग्रेससित म पनि भुक्तभोगी छु । यस्तो सिद्धान्तको कुरा गर्नुहुन्छ तपाईंले । गर्नुभएन यो एक वर्षभित्र नागरिकता दुईटा भएको मान्छे, पासपोर्ट दुईटा भएको मान्छेलाई तपाईंहरू वर्तमान प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री भएर उपप्रधानमन्त्री र गृहमन्त्री दुईटा बनाएको हैन ?

जसलाई अहिले गृहमन्त्री बनाउनु भएको छ, उहाँले सहरकारीको करोडौँ रुपिया ठगी गरेको कुरा आएको छ कि छैन ? तपाईंहरू कस्तालाई योग्य मान्नुहुन्छ ? त्यो उधारो माछा खानेले भनेको कुरा मलाई अहिले घत लागिरहेको छ । तपाईंहरू त गतिला हो र ? म जस्तो गरिब टाँट पल्टेको मान्छेलाई किन बेच्ने नि उधारो माछा भने जस्तो तपाईंहरूले के देखेर ९९ प्रतिशतले भोट हाल्नु भयो पोहोर ?

तपाईंहरूलाई के लागेको थियो भने यहाँ समर्थन गरेपछि मन्त्री पाइन्छ । मन्त्री पाएपछि चुनावको खर्च सावाब्याजसहित उठाउन पाइन्छ । त्यो के गरेर हुन्छ, सुन चोरेर, भ्रष्टाचार गरेर, गर्नुनगर्नु गरेर असुल गर्नुछ । चुनावको खर्च उठाएर फेरि २०८४ लाई खर्च जोहो गर्नुपर्‍यो नि ! त्यही उद्देश्य हो तपाईंहरूको । राजनीति त्यस्तो हो र ?

त्यसो हुनाले कुरै फालियोस्, तपाईंहामी रिसाउनुपरेन । तपाईंहामीप्रति अहिले जनताले कसरी घृणा गर्दछन् ? त्यसै हो र राजनीतिलाई सबैभन्दा असल नीति भन्ने ? तर राजनीतिलाई कसैले सुन चोर्ने, कसैले सहकारी चोर्ने, कसैले मिटरब्याजी ठग्ने बनाइयो । नेताहरू संरक्षक नभएर त्यो मिटरब्याजीले त्यो बदमासी गरेका छन् र ? सहकारीमा स्वयम् राजनीति गर्ने मान्छे जिम्मेवार नभएर त्यो जनताको अर्बौं रुपिया हिनामिना भएको छ । हामी जोडिएका छैनौँ भन्न पो भएन ।

पोहोर साल ९९ प्रतिशतले समर्थन गर्दा त मैले, हाम्रो पार्टीले समर्थन गरेको थिएन भने आज समर्थन गर्ने कुरा आउन्न । मैले नेपाली काङ्ग्रेसलाई पनि खेलाएको छु । अहिले हाम्रो समस्या भनेको के हो त भन्दाखेरी यो लुछाचुँडी, यस्तो क्रियाकलापबाट लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि अत्यन्तै खतरा छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार