काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले नवनिर्वाचित राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई बधाई दिनुभएको छ ।
२०८० फागुन ३० गते बुधबार राष्ट्रियसभामा मन्तव्य राख्दै उहाँले अध्यक्ष दाहाललाई बधाई दिनुभएको हो । मन्तव्यको क्रममा सांसद विश्वकर्माले पुराना दिन स्मरण गर्नुभयो ।
‘म सम्झन्छु, हामी कुनै बेला एउटै पार्टीमा थियौँ २०४२ सालसम्म’ उहाँले अगाडि भन्नुभयो– ‘म तत्कालीन अखिल भारत नेपाली वामपन्थी युवक मोर्चाको महासचिव थिएँ, उहाँ तत्कालीन अखिल भारत नेपाली एकता समाजको सचिव हुनुहुन्थ्यो ।’
उहाँले त्यहाँदेखि लामो राजनीतिक यात्रा पार गरेर राष्ट्रियसभाको अध्यक्ष जस्तो गरिमामय पदमा आसिन हुनुभएकोमा सांसद विश्वकर्माले सफल कार्यकालको बधाई दिनुभयो ।
सो क्रममा उहाँले देशमा बेरोजगारी, विद्यार्थी पलायन, बढ्दो महङ्गी, सीमा समस्या जस्ता जटिल समस्या अहिले पनि यथावत् रहेको भन्दै त्यसलाई यथाशीघ्र समाधान गर्न नवनिर्वाचित अध्यक्ष दाहालको ध्यानाकर्षण गराउनुभयो ।
त्यस्तै, रुसयुक्रेन युद्धमा नेपाली युवाको प्रयोगबारे पनि उहाँले राष्ट्रियसभाको ध्यानाकर्षण गराउनुभयो । त्यस सन्दर्भमा उहाँले रुसी सेनामा नेपाली युवाको भर्ती रोक्न, मृतकको शव नेपाल ल्याउन तथा आवश्यक क्षतिपूर्ति दिलाउने विषयमा पहल गर्न आग्रह गर्नुभयो ।
वर्तमान विश्व तेस्रो विश्वयुद्धको नजिक नजिक रहेको स्मरण गर्दै उहाँले भन्नुभयो– ‘रुस–युक्रेन तथा इजरायलको प्यालेस्टाइनमाथिको आक्रमणले वर्तमान विश्व तेस्रो विश्वयुद्धको नजिक नजिक पुगेको छ ।’
उक्त युद्धले आणविक युद्धको रूपमा विकास गर्न सक्ने सम्भावना उल्लेख गर्दै सांसद विश्वकर्माले त्यसको मारमा नेपाल पनि पर्ने धारणा व्यक्त गर्नुभयो । त्यस सन्दर्भमा उहाँले नेपालले एमसिसी पास गरिएको सन्दर्भ पनि जोड्नुभयो ।
उहाँले अहिलेका विश्व महाशक्ति अमेरिका, चीन र रुसको द्व्रन्द्वले नेपाल पनि प्रभावित हुने भन्दै सरकारले सन्तुलित कूटनीति अपनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
मन्तव्यको अन्तमा उहाँले भन्नुभयो– ‘पूर्व अध्यक्षको कार्यकालमा गम्भीर महत्त्वका थुप्रै विधेयक, सङ्कल्प प्रस्ताव पारित भएका छन् । त्यसलाई लागु गरियोस् । संसद्मा टेबुल भएका विधेयकहरू पारित गरियोस् ।’
उहाँले थप्नुभयो– ‘म आशा गर्दछु, राष्ट्रियसभाले आफ्नो ओज र गरिमालाई यथावत् राख्ने छ ।’