बाबुरामलाई छोडेर प्रचण्डले गरे महिन्द्र यादवसँग एकता गर्ने सहमति

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकता गर्ने सहमति भएको छ ।
डा. बाबुराम भट्टराई अध्यक्ष रहेको नेसपाका अर्का अध्यक्ष महिन्द्र यादव पक्षले मओवादीसँग एकताका लागि सहमति पत्रमा हस्ताक्षर गरेको छ ।

शुक्रबार बिहान बसेको दुई पार्टीको शीर्ष तहबीचको बैठकपछि दुई पार्टीका महासचिवले संयुक्त विज्ञप्ति जारी गरी पार्टी एकताको सहमति गरिएको जानकारी गराएका हुन्।

माआवादी महासचिव देव गुरुङ र नेसपा महासचिव रमेशप्रसाद यादवको संयुक्त वक्तव्यमा भनिएको छ, ‘बैठकले दुवै पार्टीका बीचमा पार्टी एकता गर्ने सहमति गरेको छ, एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरिएको छ।’

दुई पार्टीको बैठकले पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल पनि गठन गरेको छ।

जसमा माओवादी केन्द्रका तर्फबाट महासचिव गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेपाल समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव यादव छन्।

पार्टी एकताको सहमति गर्ने बैठकमा नेकपा माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङ सहभागी थिए भने नेसपाका तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव उपस्थित थिए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेसपा अध्यक्ष डा. भट्टराई भने पार्टी एकता गर्न हुँदैन भन्ने पक्षमा थिए। सोही कारण अर्का अध्यक्ष र उनीबीच पार्टीभित्र टकराव बढ्दै गएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार