गृहमन्त्री लामिछानेलाई तुरन्तै हटाई सहकारीपीडितको रकम फिर्ता गर्न मसालको माग

काठमाडौँ । नेकपा (मसाल) ले गृहमन्त्री रवि लामिछानेलाई तुरन्तै हटाएर सहकारीपीडितको रकम फिर्ता गराउन सरकारसित माग गरेको छ ।

महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० चैत ४ गते आइतबार राती जारी प्रेसवक्तव्यमार्फत् पार्टीले यस्तो माग गरेको हो ।
वक्तव्यमा यस खालको आर्थिक अनियमिततामा सामेल व्यक्तिलाई गृहमन्त्री बनाउनु संसदीय कार्यपद्धति र नैतिकतासमेतको विरुद्ध भएको स्मरण गराइएको छ ।

संसद्मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गृहमन्त्री लामिछानेलाई तुरुन्त हटाउन माग गरेको उल्लेख गर्दै वक्तव्यमा यस सम्बन्धमा नेपाली काङ्ग्रेसले संसद् अवरुद्ध गरेकोमा त्यसप्रति समर्थन जनाइएको छ ।

यस्तो छ प्रेसवक्तव्यको पूर्ण पाठ :
“नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले सहकारी ठगीको मुद्दामा छानबिन भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेतालाई गृहमन्त्री बनाउने कार्यप्रति गम्भीर आपत्ति प्रकट गर्दछ र उनलाई तुरुन्तै त्यो पदबाट हटाउनका लागि माग गर्दछ ।

जुन विषयमा उनी मुछिएका छन्, त्यही विषयको छानबिन गर्ने मन्त्रालयको उनलाई मन्त्री बनाउँदा उनका विरुद्धको छानबिन प्रभावित हुने कुरा निश्चित छ । त्यस प्रकारको कार्य संसदीय कार्यपद्धति र नैतिकताका पनि विरुद्ध छ ।

उक्त विषयमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष कामरेड चित्रबहादुर केसीले पनि जोडदार प्रकारले संसद्मा आवाज उठाउनुभएको छ र त्यस प्रकारको विवादग्रस्त व्यक्तिलाई तुरुन्तै गृहमन्त्री पदबाट हटाउनको लागि माग गर्नुभएको छ । राष्ट्रिय जनमोर्चाको त्यो मागलाई हाम्रो पार्टीले पूरा समर्थन गर्दछ ।

नेपाली काङ्ग्रेसले पनि उक्त व्यक्तिलाई गृहमन्त्री बनाएकोमा कडा विरोध गरेको छ र उनको राजीनामाको माग गर्दै संसद्समेत अवरुद्ध गरिरहेको छ । नेकाको त्यो मागलाई हाम्रो पार्टीले दृढतापूर्वक समर्थन गर्दछ ।

अन्तमा, त्यस प्रकारको विवादग्रस्त व्यक्तिलाई गृहमन्त्री जस्तो महŒवपूर्ण पदमा राखेर प्रधानमन्त्री पुष्पकमल दाहालले गम्भीर गल्ती गरेका छन् । त्यसकारण हामीले त्यस प्रकारको व्यक्तिलाई तुरुन्तै गृहमन्त्रीको पदबाट हटाएर सहकारीका वचतकर्ताहरूको जुन ठुलो धनराशि ठगी भएको छ । त्यसबारे तुरुन्तै कारबाही गर्न र पीडितको रकम फिर्ता गर्नको लागि प्रभाविशाली कदम उठाउन माग गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार