लामिछानेलाई तुरुन्त गृहमन्त्रीबाट हटाउन राष्ट्रिय जनमोर्चाको माग

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सहकारीको रकम ठगीआरोपमा छानबिन भइरहेका व्यक्तिलाई गृहमन्त्री बनाएकोमा निजलाई तत्कालै हटाउन माग गरेको छ ।

अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८० चैत ५ गते सोमबार प्रेसवक्तव्य जारि गर्दै राजमोले यस्तो माग गरेको हो ।

सहकारी गठीमा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री बनाउनु पीडितमाथि अन्याय हुने भन्दै राजमोले यस्तो कार्य संसदीय मर्यादा, सुशासन र न्यायको सामान्य सिद्धान्तको समेत विरुद्ध हुने धारणा राखेको छ ।

नेपाली काङ्ग्रेसले यस प्रकरणको विरोध गरेकोमा राजमोले त्यसप्रति आफ्नो समर्थन रहेको स्पष्ट पारेको छ ।

लामिछानेलाई तत्कालै गृहमन्त्रीबाट हटाएर सहकारीपीडितको रकम फिर्ता गराउन माग गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

“राष्ट्रिय जनमोर्चाले देशका विभिन्न सहकारी संस्थाको रकम ठगी गरेको आरोपमा मुद्दा परेका र अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेतालाई गृहमन्त्री बनाउने कार्यप्रति गम्भीर आपत्ति तथा विरोध प्रकट गर्दछ । राष्ट्रिय जनमोर्चाले निजलाई तुरुन्तै त्यो पदबाट हटाउनका लागि माग गर्दछ ।

गृहमन्त्री लामिछाने मुछिएको मुद्दाको छानबिन तथा अनुसन्धान गर्ने मन्त्रालयको उनलाई मन्त्री बनाउँदा त्यो कार्यबाट मुद्दा प्रभावित हुने खतरा हुन्छ । त्यसबाट सहकारीका पीडित बचतकर्ताहरूलाई अन्याय हुन जाने छ । त्यसका साथै स्वार्थ बाझिएको विषयमा स्वार्थ बाझिएको व्यक्तिलाई नै अगाडि सार्नु संसदीय मर्यादाका विपरीत हुनुका साथै सुशासन तथा न्यायका सामान्य सिद्धान्तका समेत विरुद्ध रहेको छ ।

नेपाली काङ्ग्रेसले सहकारीको रकम ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाएकोमा त्यो कार्यको कडा विरोध गरेको छ । नेकाले गृहमन्त्रीको राजीनामाको लागि उठाएको मागलाई हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले समर्थन गर्दछ ।

प्रधानमन्त्रीले सहकारीको रकम ठगी गर्ने आरोपमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाउने कार्यले हजारौँ सहकारीका बचतकर्तामाथि थप अन्याय गर्ने काम गरेको छ । रवि लामिछानेलाई गृहमन्त्रीको पदबाट हटाएर सहकारीका बचतकर्ताको रकम फिर्ता गराउन तथा दोषीलाई कडा सजाय गर्नका लागि प्रभावकारी कदम उठाउन सरकारसँग माग गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार