चुनढुङ्गा उत्खनन्सम्बन्धी कीर्ते पत्र पठाउनेमाथि कारबाही गर्न मसालको माग

काठमाडौँ । नेकपा (मसाल) ले अर्घाखाँचीको भूमिकास्थानस्थित चुनढुङ्गा उत्खनन् गर्न स्वीकृति दिने सम्बन्धमा खानी विभागलाई पत्र पठाउने दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ ।

भूमिकास्थान नगरपालिकाकै कर्मचारीले विभागलाई कीर्ते पत्र पठाएपछि चुनढुङ्गा उत्खनन् कार्य सुरु भएको सन्दर्भमा पार्टीले यस्तो माग गरेको हो ।

महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० चैत १२ गते सोमबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले यस खालको माग गरेको छ ।

वक्तव्यमा पार्टीले मसालले सुरुदेखि नै अर्घाखाँचीमा चुनढुङ्गा उत्खनन्को विरोधमा रहेको स्मरण गराउँदै त्यहाँका जनताको सो आन्दोलनप्रति समर्थन पनि व्यक्त गरेको छ ।

यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ स्
“अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकास्थित चुनाढुङ्गाखानी उत्खनन् स्थानीय जनता, राजनीतिक दलको विरोधका कारण लामो समयदेखि बन्द थियो । अहिले चुनाढुङ्गा उत्खन्न कम्पनीले पुनः खानी सञ्चालन गरेकोसम्बन्धी विषयमा उठेको विवादप्रति नेकपा (मसाल) को गम्भीर ध्यानाकर्षण भएको छ ।

त्यहाँ चुनाढुङ्गाको उत्खनन् गर्दा कृषि, खानेपानी, पर्यटन तथा वातावरणलाई गम्भीर असर पर्ने भएको हुनाले त्यहाँका जनताले त्यसका विरुद्ध आन्दोलन गर्दै आएका छन र हाम्रो पार्टीले त्यो आन्दोलनलाई दृढतापूर्वक समर्थन गर्दै आएको थियो र अहिले पनि गर्दछ ।

भूमिकास्थान नगरपालिकाको पत्र आएको भनी अहिले त्यो चुनाढुङ्गा खानीको काम सुरु गर्ने प्रयत्न गरिएको छ । हामीले बुझ्दा नगरपालिकाले त्यो चुनाढुङ्गा उत्खनन्का लागि स्वीकृति दिएर कुनै पत्र नै पठाएको थिएन । त्यो अवस्थामा त्यस नगरपालिकाका नामबाट कसैले पत्र पठाएको भएपनि त्यो कीर्ते भएको कुरा प्रष्ट छ । नगरपालिकाको नामबाट प्रेषित त्यो कीर्तेपत्रको आधारमा त्यो खानीलाई खोल्नका लागि खानी विभागले समेत अनुमति दिएका कारण त्यहाँ स्थानीय जनतामा ठुलो विवाद पनि पैदा भएको छ ।

त्यस विषयमा वास्तविकता के हो भन्ने पत्ता लगाउँदा त्यो खानीलाई खुलाउनका लागि भूमिकास्थान नगरपालिकाले खानी विभागलाई कुनै पत्र लेखेर नदिएको कुरा थाहा भएको छ । त्यो अत्यन्त गम्भीर विषय हो । त्यसैले त्यसबारे सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न र त्यो चुनाढुङ्गा खानीलाई खोल्दा त्यहाँ वातावरणसमेतमा धेरै नकारात्मक असर पर्ने भएकाले त्यसलाई पूर्ववत् बन्द गर्नुपर्ने आवश्यकतामा पनि हाम्रो पार्टीले जोड दिन्छ ।

अन्तमा भूमिकास्थान नगरपालिकाले पनि त्यसबारे आवश्यक कानुनी कार्बाही गरी त्यसबारे कीर्ते काम गर्ने व्यक्तिलाई सजाय दिलाउन र त्यो खानीबाट वातावरणमा हानी पुग्न नदिन पूरा कोसिस गर्ने छ भन्ने हामीले आशा गरेका छौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार