“कामरेड जलजला” उपन्यासबारे दुर्गा पौडेलद्वारा जानकारी

काठमाडौँ । नेकपा (मसाल) का महामन्त्रीसमेत रहनुभएका प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहद्वारा लिखित बहुचर्चित अन्तर्राष्ट्रिय महाउपन्यास “कामरेड जलजला” बारे दुर्गा पौडेलले जानकारी प्रकाशित गर्नुभएको छ । पौडेलले त्यस क्रममा एउटा ब्रोसर सार्वजनिक गर्नुभएको हो ।

ब्रोसरमा उपन्यास २०८१ सालको दशैँतिर प्रकाशन हुने जानकारी दिइएको छ । दुई खण्ड, आठ भाग र ८० परिच्छेद रहेको “कामरेड जलजला” उपन्यासको यतिखेर अङ्ग्रेजीमा अनुवाद भइरहेको, त्यस क्रममा ८० मध्ये २४ परिच्छेदको अनुवाद भइसकेको जानकारी दिइएको छ । त्यससँगै उक्त उपन्यासमा हिन्दीमा पनि अनुवाद गरी प्रकाशन गर्ने योजना रहेको पौडेलले बताउनुभएको छ ।

करिब १५ सय पृष्ठको हुने अनुमान गरिएको सो उपन्यासको मूल्य तीन हजारभन्दा बढी हुने तथा अग्रिम रकम उपलब्ध गराउनेलाई ३० प्रतिशतजति छुट दिन सकिने पनि ब्रोसरमा उल्लेख छ ।

यस्तो छ ब्रोसर :

कामरेड जलजला उपन्यास अर्को सालको दशैँतिहारमा प्रकाशित हुने छ । कामरेड मोहनविक्रम सिंहद्वारा लेखिएको कामरेड जलजला उपन्यास बारम्बार प्रकाशित हुने कुरा हुँदै आएको छ तर त्यसको प्रकाशन बारम्बार स्थगित हुँदै आएको छ । जे होस्, अब अन्तमा त्यो पुस्तक प्रकाशित हुँदै छ । आगामी वर्ष २०८१ मा उहाँ ९० वर्षमा लाग्नु हुने छ र त्यही सालमा त्यो उपन्यास पनि प्रकाशित हुने छ । त्यो उपन्यास प्रकाशित हुने ठिक मिति त्यो उपन्यास प्रेसमा गएपछि दिने छौँ ।

त्यो उपन्यासको शीर्षकबाट नै प्रस्ट छ कि त्यो मुख्य रूपले जलजलासित नै सम्बन्धित हुने छ र त्यसको विषय प्रेम पनि हुने छ तर त्यो पुस्तक पढेपछि थाहा हुने छ– त्यसको मुख्य विषयवस्तु प्रेम नभएर समग्र रूपमा विश्वदर्शन हो । विश्वको दर्शनको अर्थ हो– त्यो उपन्यासमा सम्पूर्ण पृथ्वीदेखि सुदूर अन्तरिक्षसम्मको परिचय दिने प्रयत्न गरिएको छ । त्यस सिलसिलामा यो प्रश्न पनि उठाइएको छ : विद्यमान ज्ञात विश्वबाहेक अरू असङ्ख्य विश्व त छैनन् ? वर्तमान विश्व र यहाँका ग्रहबारे नै मानिसलाई पूरा ज्ञान भइसकेको छैन । के मानिसले वर्तमान विश्व र अज्ञात विश्वबारे ज्ञान प्राप्त गर्नु कहिल्यै सम्भव हुने छ ? सायद त्यसका लागि लाखौँ, करोडौँ वर्ष लाग्ने छ तर त्यस प्रकारको ज्ञान प्राप्त गर्नुभन्दा पहिले नै मानवजाति पूरै नष्ट हुने त होइन ?

पूरै उपन्यास पढ्नुभयो भने त्यो उपन्यासका दुई मुख्य पात्रहरू कामरेड जलजला र कामरेड अजितको उपन्यासको पहिलो परिच्छेदबाहेक अन्त कतै भेट हुँदैन । उपन्यासको पूरै कथाप्रवाह उपन्यासकी तेस्री मुख्य पात्र सुनन्दाबाट नै अगाडि बढ्छ । उनी कुमाउँकी छोरी र दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयकी इतिहासकी शोधछात्रा हुन् ।

उपन्यासको प्रारम्भ कुमाउँको कौसानीबाट सुरु हुन्छ र रोल्पाको थवाङमा पुगेर समाप्त हुन्छ । सुनन्दा कौसानीदेखि थवाङसम्म पूरै संलग्न हुन्छिन् । त्यसैले उपन्यासको प्राक्कथनमा भनिएको छ : “सुनन्दाबिना उपन्यासको गति अगाडि बढ्न नै सक्दैन ।”

उपन्यासको विषयवस्तु मुख्य रूपले अन्तर्राष्ट्रिय नै छ । प्रस्तुत उपन्यास उच्च प्रकारको दार्शनिक चिन्तन र क्रान्तिकारी दृष्टिकोणद्वारा अभिप्रेरित छ । उपन्यासका सम्पूर्ण कथावस्तु र पात्रलाई त्यही ढाँचामा निर्माण वा चित्रण गर्ने प्रयत्न गरिएको छ । निश्चय नै त्यसका साथै उपन्यासमा विपरीत प्रकारको दृष्टिकोण राख्ने खलनायक पात्रको पनि चित्रण गरिएको छ । त्यस्ता पात्रको निर्माणको उद्देश्य पनि नकारात्मक उदाहरणद्वारा उच्च विश्वदृष्टिकोणलाई सकारात्मक रूपले मजबुत धरातलमा स्थापित गर्नु नै हो ।

उपन्यासमा प्रेमको पनि विभिन्न रूपमा चर्चा गरिएको छ तर त्यस प्रकारको प्रेमलाई परिष्कृत, उच्च वैचारिक र क्रान्तिकारी धरातलमा नै स्थापित गर्ने प्रयत्न गरिएको छ ।

उपन्यासमा सम्पूर्ण पृथ्वी, पृथ्वीका सबै महाद्वीप र महासागर तथा त्यहाँ बस्ने मानिस, उनीहरूको सभ्यता, इतिहास, संस्कृति, आन्दोलन तथा विभिन्न देशमा चल्ने क्रान्तिकारी आन्दोलन र कम्युनिस्ट आन्दोलनसमेतको परिचय दिने र विश्लेषण पनि गर्ने प्रयत्न गरिएको छ ।

उपन्यासमा जम्मा दुई खण्ड, आठ भाग र ८० परिच्छेद छन् ।

उपन्यासको पहिलो भाग पूरै कुमाउँसित सम्बन्धित छ । त्यसमा कुमाउँको इतिहास, सभ्यता, संस्कृति र अन्य विभिन्न पक्षको उल्लेख गरिएको छ, जसमा त्यहाँको राजतन्त्र विरोधी आन्दोलन र पर्यावरण आन्दोलन मुख्य छन् । कुमाउँबाट नै उपन्यासकी एउटी मुख्य पात्र सुनन्दा आउँछिन् । त्यो उपन्यासमा गढवाल, कुमाउँका चन्द्रसिंह गढवाली र कामरेड गढवाली जस्ता कम्युनिस्ट नेताको पनि चित्रण गरिएको छ ।

उपन्यासमा त्यो बेलाको नेपालको पञ्चायती राजको तथ्यगत प्रकारले विस्तृत रूपले अध्ययन गर्ने प्रयत्न गरिएको छ । त्यसका साथै वृद्धाश्रमको जीवन, योगमाया, काठमाडौँ उपत्यकाको इतिहास र संस्कृति, खास गरेर अष्टमातृकाको संस्कृतिबारे पनि प्रकाश हाल्ने प्रयत्न गरिएको छ । धर्मले अष्टमातृकालाई देवीहरूको रूपमा प्रतिस्थापित गरेको छ तर वास्तवमा उनीहरूले नारीशक्तिको उच्च रूपमा प्रतिनिधित्व गर्दछन् । उपन्यासमा त्यही अर्थमा नै अष्टमातृकालाई व्याख्या गर्ने प्रयत्न गरिएको छ ।

उपन्यासमा नेपालको ढुङ्गेयुगीन सभ्यता, रामापिथेकस तथा रुपन्देही र कपिलवस्तुको बौद्ध सभ्यताबारे पनि अध्ययन गर्ने प्रयत्न गरिएको छ । त्यस सिलसिलामा नवलपुरको डन्डामा प्राप्त ढुङ्गेयुगीन औजार बुटवलनजिकै तिनाउ नदीको छेउमा प्राप्त रामापिथेकसको बङ्गरा रूपन्देही र कपिलवस्तुका पुरातात्त्विक र ऐतिहासिक महत्त्वका स्थान, दाङदेउखुरीको ढुङ्गेयुगीन सभ्यताबारे पनि प्रकाश हाल्ने प्रयत्न गरिएको छ । त्यस सिलसिलामा उपन्यासले कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका सबै प्राचीन वा बौद्धकालीन स्थानलाई मिलाएर बृहत्तर पुरातात्त्विक बौद्ध सहरको निर्माण गर्नुपर्ने अवधारणा पनि अगाडि ल्याएको छ ।

उपन्यासमा थारू, मगर र खसजातिको प्राचीन इतिहास, सभ्यता र संस्कृतिसमेतको अध्ययन गर्ने प्रयत्न गरिएको छ । निश्चय नै थारू र मगरजातिका इतिहाससम्बन्धी सामग्री कम प्राप्त भएको हुनाले त्यससम्बन्धी विवरण तुलनात्मक रूपले कम छ ।

उपन्यासमा कर्णाली प्रदेशको इतिहास, सभ्यता र संस्कृतिसमेतको पनि अध्ययन गर्ने प्रयत्न गरिएको छ । त्यस सिलसिलामा कर्णाली प्रदेशको प्राचीन इतिहासका साथै मतवाली क्षेत्री, मष्टो त्यहाँको संस्कृतिको पनि अध्ययन गर्ने प्रयत्न गरिएको छ ।

युरोपमा दर्शन, क्रान्ति र बलिदानको गौरवपर््णू इतिहास रहेको छ । त्यसको पनि अध्ययन गर्ने प्रयत्न गरिएको छ । त्यस सिलसिलामा खास गरेर फ्रान्सको राजतन्त्रविरोधी र पेरिसको कम्युन आन्दोलन, पेरिसको कला र संस्कृतिको भव्य सङ्ग्रहालय, जर्मनीको हिटलरको नेतृत्वको फासिवाद र त्यसका विरुद्धको त्यहाँका जनताको वीरतापूर्ण सङ्घर्ष, रुसमा समाजवादको पतन तथा लेनिनग्राद र स्टालिनग्रादका फासिवादका विरुद्धका महान् वीरतापूर्ण युद्ध तथा युनानको प्राचीन दार्शनिक परम्पराको समेत गहन अध्ययन गर्ने प्रयत्न गरिएको छ ।

उपन्यासको आठौँ भागमा प्युठानको रातामाटाको जनता शिक्षण शिविर, त्यहाँको कम्युनिस्ट आन्दोलन, नारिकोटको फागुन २४ गतेको ऐतिहासिक किसान सङ्घर्ष, ओखरकोटका भुरेटाकुरे राजा र विकासका सम्भावना, गौमुखी, पूजा, दियाल्ना, टिमुरचौरसमेतका पर्यटकीय महत्त्वका स्थानसमेतको उल्लेख गरिएको छ । त्यस सिलसिलामा इस्नाथानको पूजाको विश्लेषण गर्दै त्यो पूजा प्राचीन मानवजाति वा ढुङ्गेयुगीन मानवको चालचलनको अवशेष त होइन भन्ने प्रश्न पनि उठाइएको छ ।

उपन्यासको अन्तमा माडिखोला, सुनछहरी, जलजला र थवाङको समेत विशेष रूपले उल्लेख गरिएको छ र थवाङमा गएर नै उपन्यासको अन्त पनि हुन्छ ।

त्यो उपन्यासको नेपाली संस्करण प्रकाशित भएपछि त्यसलाई अङ्ग्रेजी र हिन्दीमा पनि प्रकाशित गर्ने योजना बनेको छ । अङ्ग्रेजी अनुवादको काम भइरहेको छ । त्यसका ८० परिच्छेदमध्ये २४ परिच्छेदको अनुवाद सकिएको छ । सम्भवतः त्यसपछि नै हामी हिन्दी अनुवादको काममा लाग्ने छौँ । उक्त योजना पूरा गर्नका लागि हामीलाई ठुलो धनराशि आवश्यक पर्ने छ । त्यसले गर्दा हामीलाई आफ्नो योजना पूरा गर्न धेरै नै अप्ठ्यारो परेको छ तैपनि उपन्यासको नेपाली संस्करण निर्धारित समयमा नै प्रकाशित हुने छ र त्यसका लागि आवश्यक व्यवस्था भइसकेको छ तर अङ्ग्रेजी र हिन्दी प्रकाशनका लागि अहिले नै केही भन्न गाह्रो छ तैपनि हामी पूरै निराश भएका छैनौँ र भविष्यप्रति आशावादी नै छौँ ।

उपन्यास भनेपछि त्यसमा कल्पनाको अंश हुन्छ नै तैपनि उपन्यास काफी हदसम्म वास्तविक घटनामाथि नै आधारित छ । त्यसका साथै उपन्यासमा कैयौँ वास्तविक पात्रलाई पनि प्रयोग गरिएको छ; जस्तै कि निर्मल लामा, चित्रबहादुर केसी, खगुलाल गुरुङ, रश्मीराज नेपाली, जयगोविन्द शाह, सत्यमोहन जोशी, भारतका प्रसिद्ध स्वतन्त्रता सेनानी चन्द्रसिंह गढवाली, सुन्दरलाल बहुगुणा, सरला बहन, राधा बहन, प्युठान विजुवारका रामहरि श्रेष्ठ, बर्मन बुढा, यदु गिरी, रणबहादुर खड्का, काले कामी, लिले कामी, सिद्धिमान खड्का, थम्मन बुढा, बद्रे आलम, शिव पौडेल, टेकबहादुर पन्थी, जुठे कामी, मोहनसिंह जिसी, हर्के र हमाने आदि ।

यो उपन्यासको काल करिब २०३४ देखि २०४१ सम्मको नै छ । त्यसैले त्यो कालमा उपन्यासमा सम्बन्धित भएका व्यक्तिको नाम नै त्यसमा दिइएको छ तर ती सबैलाई औपन्यासिक रूपमा नै प्रयोग गरिएको छ ।

मोहनजीले त्यो उपन्यास लेख्न थालेको करिब २२ वर्ष भयो । त्यो उपन्यास यहीँ सालमा प्रकाशित हुने कुरा थियो तर नेकपा (मसाल) को ऐतिहासिक तीन अभियान र त्यसको नवौँ महाधिवेशनसमेतमा व्यस्त हुनुपरेकाले यो साल त्यो उपन्यासको प्रकाशन हुन सकेन । महाधिवेशन समापन भएको एकाध महिनापछि नै त्यो पुस्तक प्रेसमा जाने छ र त्यो बेला हामीले त्यो पुस्तकको विमोचनको मितिको पनि घोषणा गर्ने छौँ ।

त्यो पुस्तक १४–१५ सय पृष्ठ लामो हुने छ । त्यसैले सम्भवतः त्यो पुस्तकको मूल्य पनि करिब ३–४ हजारको बिचमा हुन सक्ने कुरा प्रकाशकले बताएका छन् । त्यै पनि त्यो पुस्तकलाई पहिले नै बुक गर्ने साथीहरूलाई हामीले त्यसको करिब ३० देखि ३५ प्रतिशत मूल्य कम गरेर उपलब्ध गराउन सक्ने छौँ । पुस्तक बुक गर्नका लागि मेरो तलको मेल ठेगानामा अग्रिम सूचना पठाउन सक्नुहुने छ ।

२०८० चैत २५ गते

दुर्गा पौडेल

मोबाइल ००९७७–९८५११९८८१०

Email: paudeldurga21@yahoo.com

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार