नेकपा (मसाल) को नवौँ महाधिवेशन सम्पन्न

काठमाडौँ । नेकपा (मसाल) को नवौँ महाधिवेशन सम्पन्न भएको छ । देशको कुनै भागमा भूमिगत प्रकारले उक्त महाधिवेशन सम्पन्न भएको जानकारी दिइएको छ ।

महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ वैशाख ४ गते मङ्गलबार जारी प्रेसविज्ञप्तिमार्फत पार्टीले सो जानकारी दिएको हो ।

  • चारओटा राजनीतिक दस्तावेजहरू पारित
  •  महामन्त्री मोहनविक्रम सिंह, प्रवक्तामा रामप्रकाश पुरी
  • २९ पूर्ण, नौ वैकल्पिक र नौ सल्लाहकारसहितको ४७ सदस्यीय केन्द्रीय समिति गठन
  • सात पूर्ण र दुई वैकल्पिकसहितको नौ सदस्यीय पोलिटब्युरो, तीन सदस्यीय कार्यालय
  • २२९ सदस्यीय राष्ट्रिय परिषद् गठन, १० प्रतिशत अस्थायी सदस्य
  • प्रतिगामी खतरा अझै यथावत्, एमाले अझै पनि अविश्वनीय शक्ति
  • भारत र चीन दुवै साम्राज्यवादी तर चीनसित सम्बन्धको विशेष महŒव
  • छिट्टै बस्ने केन्द्रीय समितिको बैठकले राजनीतिक अभिभाराअनुसारको कार्यक्रम बनाउने

महाधिवेशनले चारओटा दस्तावेज पारित गर्नुका साथै महामन्त्रीमा मोहनविक्रम सिंहलाई र प्रवक्तामा रामप्रकाश पुुरीलाई चयन गरेको छ ।

प्रेसविज्ञप्तिका अनुसार महाधिवेशनबाट २९ पूर्ण, नौ वैकल्पिक सदस्य र नौ सल्लाहकारसहितको ४७ सदस्यीय केन्द्रीय समिति गठन भएको छ । त्यस्तै सात पूर्ण र दुई वैकल्पिक सदस्यसहितको पोलिटब्युरो (पिबी) गठन गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :

“नेकपा (मसाल) को नवौँ महाधिवेशन हालै सम्पन्न भएको छ । त्यो महाधिवेशनले पार्टीका चारओटा दस्तावेजहरू न्यूनतम कार्यक्रमसम्बन्धी संशोधन प्रस्ताव, विधानमा संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र सङ्गठनात्मक प्रस्ताव पारित गर्नुका साथै कामरेड मोहनविक्रम सिंहको नेतृत्वमा ४७ सदस्यीय केन्द्रीय समिति पनि गठन गरेको छ ।

महाधिवेशनले नयाँ जनवादी क्रान्तिलाई आफ्नो आधारभूत कार्यक्रम ठेगान गरेको छ । लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षाका लागि सङ्घर्ष गर्ने तथा जनजीवनसित सम्बन्धित समस्याको समाधानका लागि सङ्घर्ष गर्ने आफ्नो तात्कालिक कार्यदिशा निश्चित गरेको छ । त्यसका साथै सङ्घीयताका विरुद्धको सङ्घर्षलाई निरन्तरता दिने पनि निर्णय गरेको छ । त्यसका साथै उपर्युक्त उद्देश्यहरू पूरा गर्नका लागि पारस्परिक समझदारीका आधारमा विभिन्न राजनीतिक पक्षसित संयुक्त मोर्चा, कार्यगत एकता गर्ने नीतिमा जोड दिने पनि हाम्रो नीति छ तर त्यसका साथै पार्टीको आफ्नै स्वतन्त्र भूमिकालाई अगाडि बढाउनका लागि हामीले मुख्य जोड दिने छौँ ।

अन्तर्राष्ट्रिय स्तरमा साम्राज्यवाद र फासिवादका विरुद्ध तथा विश्वशान्तिका लागि विश्वव्यापी स्तरमा एकता कायम गरेर सङ्घर्षलाई अगाडि बढाउनु हाम्रो अन्तर्राष्ट्रिय दायित्व भएको कुरा पनि महाधिवेशनले स्पष्ट गरेको छ ।

महाधिवेशनको उद्घाटन कार्यक्रमको प्रारम्भ अन्तर्राष्ट्रिय गीतका साथै सुरु भयो । कामरेड हर्षको अध्यक्षतामा सुरु भएको उद्घाटन कार्यक्रको सञ्चालन का. सुरजले गर्नुभएको थियो । पार्टीका प्रवक्ता कामरेड रामप्रकाश पुरीले स्वागत भाषण गरेपछि महामन्त्री कामरेड मोहनविक्रम सिंहले पानसमा द्वीप प्रज्ज्वलित गरेर महाधिवेशनको उद्घाटन गर्नुभएको थियो । त्यसपछि नवौँ महाधिवेशनको सफलताका लागि विदेशी भाइचारा पार्टी एमएलपिडी जर्मनका प्रतिनिधि का. पिटर, वैधानिक मोर्चाबाट का. सरद, साम्राज्यवाद विरोधी मोर्चाका प्रतिनिधि का. संस्करण, युवक मोर्चाबाट का. मञ्जुश्री, मजदुर मोर्चाबाट का. विश्व, किसान मोर्चाबाट का. विजय, महिला मोर्चाबाट का. हिमाली, विद्यार्थी मोर्चाबाट का. सफल, बुद्धिजीवी मोर्चाबाट का. चेतन, जनजाति मोर्चाबाट का. पासाङ, समता मोर्चाबाट का. एकलव्य, सांस्कृतिक मोर्चाबाट का. उत्सव, शिक्षक मोर्चाबाट का. पुञ्ज, कानुन व्यवसायी मोर्चाबाट का. प्रज्ज्वल, तराई मधेस जनवादी मोर्चाबाट का. सञ्जय, मूल प्रवाहबाट का. निरज, अन्तर्राष्ट्रिय नेपाली एकता समाजबाट का. सन्तोष, पत्रकार मोर्चाबाट का. सागर, उद्योग व्यापार सङ्घको तर्फबाट का. कुवेरले शुभकामना मन्तव्य दिनुभएको थियो ।

उद्घाटन कार्यक्रमको अवसरमा लामो समयसम्म पार्टीमा योगदान दिनु भएका वयोवृद्ध कामरेडहरू का. प्रदीप (प्युठान), का. गौरव (प्युठान), का. शिव (बागलुङ), का. ओम (बागलुङ), का. रमण (कैलाली), का. भौम (बर्दिया), का. गर्जन (प्युठान), का. ज्वाला (दाङ), का. जन्जिर (रोल्पा), का. अमर (प्युठान) लाई कामरेड मोहनविक्रम सिंहले अबिर, माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । त्यसका साथै केही समयपहिले निधन हुनुभएका कामरेड जयकृष्ण सञ्ज्याल (कालिकोट) लाई पनि सम्मान गरिएको थियो ।

महाधिवेशनमा भारतमा हुन थालेको चुनावका कारणले भाइचारा प्रतिनिधि पठाउन नसकेको भनी भाकपा (जनदिशा) ले शुभकामना सन्देश पठाएको थियो । त्यही प्रकारले महाधिवेशनको समयभन्दा केही पछि बङ्गलादेश सोसलिस्ट पार्टीले पनि शुभकामना सन्देश पठाएको थियो ।
अन्तमा, कामरेड हर्षले उद्घाटन कार्यक्रमको समापन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रमपछि महाधिवेशनको बन्दशेसन सुरु भयो । आयोजक समितिको तर्फबाट का. सुरजले अध्यक्षमण्डलका लागि का. विश्वास, का. सञ्जय, का. निरज, का. जेनी र का. सन्तोष रहेको पाँच सदस्यीय अध्यक्षमण्डलको नाम प्रस्तावित गर्नुभएको थियो । हाउसबाट त्यसको अनुमोदन भएपछि बन्दशेसनको कार्यक्रम प्रारम्भ भयो ।

हाउसमा का. मोहनविक्रम सिंहले राजनीतिक प्रतिवेदन, का. सुरजले सङ्गठनात्मक प्रस्ताव, का. रामप्रकाश पुरीले न्यूनतम कार्यक्रममा संशोधन प्रस्ताव र कामरेड विश्वासले विधानमा संशोधन प्रस्ताव छलफलका लागि प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावहरूमध्ये राजनीतिक प्रतिवेदन र सङ्गठनात्मक प्रस्तावमा दशओटा ग्रुप बनाएर छलफल गरिएको थियो भने न्यूनतम कार्यक्रमको प्रस्ताव र विधानमा संशोधन प्रस्तावमा हाउसमा नै छलफल गरिएको थियो । अन्तमा सबै प्रस्तावहरू सर्वसम्मतिबाट पारित भएका थिए ।

महाधिवेशनले ४७ सदस्यीय केन्द्रीय समितिको गठन गरेको छ, जसमा २९ जना पूर्ण सदस्य, नौ जना वैकल्पिक सदस्य र नौ जना सल्लाहकार हुनुहुन्छ । उक्त केन्द्रीय समितिमा एक जना महामन्त्री र दुई जना वैकल्पिक सदस्यसहित नौ जनाको पिबिएम र महामन्त्रीसहित तीन जनाको कार्यालय बनेको छ ।

नयाँ निर्वाचित समितिले १० प्रतिशत अस्थायी सदस्यसहित २२९ जनाको राष्ट्रिय परिषद् गठन गरेको छ ।

नवनिर्वाचित केन्द्रीय समितिले आठौँ महाधिवेशनदेखि नवौँ महाधिवेशनसम्मको हिसाबको लेखापरिक्षणको लागि तीन जनाको लेखापरीक्षण समिति पनि गठन गरेको छ । राष्ट्रिय परिषद् र लेखा परीक्षण समितिलाई महाधिवेशनले अनुमोदन गरेको छ ।

अन्तमा, का. शरदको अध्यक्षता र का. समीर सिंहको सञ्चालनमा समापन कार्यक्रम सम्पन्न भयो । त्यो समापन कार्यक्रममा महामन्त्री का. मोहनविक्रम सिंह, पिबिएम का. हर्ष, एमएलपिडीका का. पिटर र गाबी, मूल व्यवस्थापन समितिको तर्फबाट का. सन्देश, हाउसको तर्फबाट का. रोजा, स्वयम्सेवकको तर्फबाट का. सहर्षले मन्तव्य राख्नुभएको थियो ।

अन्तमा का. शरदले आफ्नो मन्तव्यसहित महाधिवेशनको कार्यक्रमको समापन गर्नुभएको थियो ।

राजनीतिक प्रतिवेदनमा गतकालको मूल्याङ्कन, अन्तर्राष्ट्रिय परिस्थिति र विश्व कम्युनिस्ट आन्दोलनको मूल्याङ्कन तथा देशका राजनीतिक शक्तिको पनि विश्लेषण गर्दै देशको तात्कालिक राजनीतिक परिस्थितिसम्बन्धी नीतिको निर्धारण गरिएको छ ।

पार्टीको तत्कालीन कार्यदिशा निर्धारण गर्ने बेलामा सर्वप्रथम यो कुरा स्पष्ट गरिएको छ कि हाम्रा दीर्घकालीन उद्देश्यहरू समाजवाद र साम्यवाद हुन् तर नेपालको विशिष्ट ऐतिहासिक अवस्थामा नयाँ जनवादी क्रान्ति नै हाम्रो अहिलेको आधारभूत कार्यक्रम हो । त्यो कार्य कम्युनिस्ट पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र दीर्घकालीन जनयुद्धद्वारा नै सम्भव हुने छ भन्ने हाम्रो दृढ विश्वास छ तर अहिलेको अन्तर्राष्ट्रिय र नेपालको समेत स्थितिमाथि ध्यान दिँदा त्यसरी सशस्त्र सङ्घर्ष सञ्चालन गर्नु सम्भव छैन । त्यसैले हामीले देशको तात्कालिक स्थितिमा शान्तिपूर्ण आन्दोलनलाई नै सङ्घर्षको प्रधान स्वरूपको रूपमा लिनुपर्दछ ।

चुनावको सम्बन्धमा विचार गर्दै राजनीतिक प्रतिवेदनमा भनिएको छ : आवश्यकताअनुसार चुनावको बहिष्कार र उपयोगका दुवै नीति अपनाउन सकिन्छ तर तत्कालको अवस्थामा हाम्रो पार्टीले एकातिर चुनावको उपयोग गर्दै संसदीय प्रणालीको भण्डाफोर गर्ने र जनआन्दोलनमा जोड दिने नीति अपनाएको छ ।

हाम्रो पार्टीले प्रतिगमनको खतरालाई अत्यन्त गम्भीर रूपमा लिएको छ । त्यो खतरा पहिलेभन्दा झन् गम्भीर यस कारणले भएको छ कि अहिले भारतका कट्टर हिन्दुवादी शासक वर्गद्वारा पनि नेपालका प्रतिगामी शक्तिलाई समर्थन प्राप्त भइरहेको छ । भारतका कट्टर हिन्दुवादी शासक वर्गहरूले धर्मको आडमा फासिष्ट शासन कायम गर्ने प्रयत्न गरिरहेका छन् । चुनावमा उनीहरूको जित भएमा नेपालमा प्रतिगमन र फासिष्ट शासनको खतरा बढेर जाने छ । भारतमा हिन्दु फासिष्टवादीको शक्ति बढ्दै गएको देखेर नेपालका कतिपय प्रमुख राजनीतिक शक्तिहरूले पनि धर्मनिरपेक्षताको विरोध गर्दै नेपालमा हिन्दु राज्यको स्थापना गर्ने नीति अपनाउने सम्भावना बढ्दै गइरहेको छ । त्यसले पनि नेपालमा प्रतिगमनको खतरा अरू बढेर जाने सम्भावना छ ।

एमालेले दुई/दुई पल्ट संसद्को विघटन गरेर प्रतिगमनको दिशा समातेको आम रूपमा थाहा भएको कुरा हो । अहिले त्यसले राजाको पुनस्र्थापनाको विरोधमा आवाज उठाएको पाइन्छ तर त्यसले दुई/दुई पल्ट संसद्को विघटन गरेको र अधिनायकवादी प्रवृत्तिको प्रदर्शन गरेको हुनाले त्यसमाथि पूरै विश्वास गर्न सकिने स्थिति छैन ।

हामीले प्रतिगमनका विरुद्ध पाँचदलीय गठबन्धन बनाएर काम गरेका थियौँ तर त्यो गठबन्धनमा भएका कतिपय पक्षले इमानदारितापूर्वक काम नगरेको तथा सत्ताका लागि गठबन्धनलाई स्वेच्छाचारी प्रकारले तोड्नेसमेत काम गरेको हुनाले अहिले देशमा प्रतिगमनका विरुद्ध कुनै गठबन्धनको अस्तित्व रहन गएको छैन । त्यसले गर्दा पनि प्रतिगमनका विरुद्धको सङ्घर्ष बढी कठिन हुन गएको छ तर त्यो कुरा जे भए पनि हामीले प्रतिगमनका विरुद्ध आउने सबै शक्तिसित एकता कायम गर्ने प्रयत्न गरेर र जनतामाथि भर गरेर प्रतिगमन विरुद्धको सङ्घर्षलाई शक्तिशाली प्रकारले अगाडि बढाउन प्रयत्न गर्नुपर्ने आवश्यकता छ ।

आज देशमा राष्ट्रियतामाथिको खतरा पनि धेरै नै गम्भीर भएर गएको छ । खास गरेर नेपालको भूराजनीतिक स्थिति समेतमाथि ध्यान दिँदा भारतीय साम्राज्यवादबाट नेपालको राष्ट्रियतामाथि सबैभन्दा बढी खतरा छ । त्यसमाथि अमेरिकाको हस्तक्षेप पनि लगातार बढ्दै गइरहेको छ । खास गरेर चीनका विरुद्ध सैनिक मोर्चाबन्दीको उद्देश्य पूरा गर्नका लागि त्यसले नेपालको भूमिलाई रणनीतिक रूपले प्रयोग गर्न चाहन्छ । नेपालका विभिन्न राजनीतिक शक्तिले अमेरिकाप्रति सम्झौतापरस्त र दब्बु नीति अपनाए पनि उनीहरूले चीनसित पनि मैत्रीपूर्ण सम्बन्ध राख्ने नीति अपनाएकाले अमेरिकाले उनीहरूको सट्टा नेपालमा प्रत्यक्ष रूपले आफ्नै निर्देशनमा चल्ने सरकारको स्थापना गर्न चाहन्छ र त्यसले नेपालमा त्यस प्रकारको सरकार गठनको लागि प्रत्यक्ष रूपले आफ्नै निर्देशनमा चल्ने पार्टीको गठनका लागि सुनियोजित प्रकारले काम गरिरहेको छ । त्यो नेपालको लागि अत्यन्त गम्भीर खतराको कुरा हो ।

नेपालको राजनीतिको एउटा गम्भीर कमजोर पक्ष यो हो कि नेपालका विभिन्न राजनीतिक पार्टीहरूले प्रतिगमन र खास गरेर साम्राज्यवादी शक्तिप्रति ढुलमुल, अवसरवादी र सम्झौतापरस्त नीति अपनाउने गरेका छन् । त्यसले गर्दा एकातिर प्रतिगामी शक्ति र अर्कातिर साम्राज्यवादी शक्तिलाई धेरै नै बल पुग्ने गरेको छ । यहाँसम्म कि नेपालका अन्य कतिपय वामपन्थी समूहले पनि प्रतिगमनप्रति प्रत्यक्ष वा अप्रत्यक्ष प्रकारले सम्झौतापरस्त नीति अपनाएका छन् भने भारतलाई साम्राज्यवादी देशको रूपमा स्वीकार गर्न पनि उनीहरू तयार भएका छैनन् । उक्त कारणले पनि नेपालको प्रतिगमन वा साम्राज्यवादका विरुद्धको सङ्घर्ष धेरै नै कमजोर अवस्थामा छ । नेकपा (मसाल) ले नै उक्त प्रश्नमा दृढ नीति अपनाउँदै आएको छ । अन्तमा सही राजनीतिक लाइन नै निर्णयात्मक कुरा हो । त्यसैले सही राजनीतिक लाइनको पक्षमा जनमत बढ्दै जाने छ र अन्तमा देशमा शक्तिशाली जनआन्दोलन उठेर प्रतिगामी र साम्राज्यवादी शक्तिमाथि विजय प्राप्त गर्नु सम्भव हुने छ भन्ने कुरामा हामीलाई पूरा विश्वास छ ।

महाधिवेशनले देशमा बिग्रँदै गएको आर्थिक अवस्था, कृषि, उद्योग, व्यापार र जनजीवनसमेतको दुरावस्था, देशमा बढिरहेको भ्रष्टाचार, महङ्गी आदि समेतमाथि विचार गर्दै जनताका प्रगतिशील र न्यायपूर्ण माग तथा देशको दिगो विकासका लागि पनि जनतालाई सचेत गर्दै सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । महाधिवेशनले विश्वमा बढ्दै गएको युद्धको अवस्था वा तेस्रो विश्वयुद्ध र आणविक युद्धसमेतको खतरामाथि गम्भीरतापूर्वक विचार गरेको छ । त्यस सिलसिलामा संसारका विभिन्न देशमा लोकतन्त्र समाप्त हुँदै गएर फासिवादी सरकारको स्थापना हुँदै गएको कुराप्रति पनि राजनीतिक प्रतिवेदनले विशेष ध्यान दिएको छ र विश्वस्तरमा साम्राज्यवाद र फासिवादका विरुद्ध संयुक्त मोर्चा बनाउने आवश्यकतामा विशेष जोड दिएको छ ।

हाम्रो पार्टीको आठौँ महाधिवेशनले भारतका साथै चीनलाई पनि साम्राज्यवादी देश घोषित गरेको थियो । नवौँ महाधिवेशनले पनि त्यो निर्णयलाई कायम राखेको छ तर त्यस सन्दर्भमा हामीले यो पनि प्रष्ट गर्न चाहन्छौँ कि चीन साम्राज्यवादी देश भए पनि नेपालमा अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादको नेपालमाथि बढिरहेको हस्तक्षेपका विरुद्ध नियन्त्रण र सन्तुलनका लागि चीनसितको मित्रताले सकारात्मक महत्त्व राख्दछ । त्यसैले नेपालको भूराजनीतिक स्थिति समेतमाथि ध्यान दिँदा चीनसितको मित्रतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ र त्यसका साथै कालापानी क्षेत्रलाई नेपालको क्षेत्रमा नदेखाएर चीनले जुन नक्सा प्रकाशित गरेको छ, त्यसको महाधिवेशनले विरोध गरेको छ ।

महाधिवेशनले एमसिसी र बिआरआई दुवैलाई समकक्षमा राखेर विरोध गर्ने नीतिलाई गलत ठहराएको छ र विरोध गरेको छ । एमसिसीको उद्देश्य निश्चित रूपले नेपाललाई अमेरिकी सुरक्षानीतिको घेराभित्र ल्याउने र त्यसरी नेपाललाई चीनका विरुद्ध युद्धभूमि बनाउने हो भने बिआरआईको उद्देश्य नेपालको विकासमा सहयोग गर्ने र उत्तरतर्फ पनि नेपालको यातायातलाई खुला गर्ने हो । त्यसरी यी दुवैलाई समकक्षमा राखेर विरोध गर्ने नीतिलाई हाम्रो पार्टीले गलत ठहराएको छ ।

हाम्रो पार्टीले पहिले बनेको गठबन्धन र त्यसको सरकारलाई समर्थन गरेको थियो तर अहिले बनेको गठबन्धन एमाले र कथित स्वतन्त्र पार्टी समेतसित मिलेर बनेको हुनाले त्यसको विरोध गरेको छ तर अहिले जुन गठबन्धन बनेको छ, त्यो पनि स्थायी रहने सम्भावना देखिंँदैन ।
प्रथमतः अहिलेको गठबन्धन ‘स्वतन्त्र पार्टी’ को वैशाखीमा टिकेको छ र आफ्नो अस्तित्व बचाउनका लागि प्रचण्ड सरकारले त्यसको सहकारीतासम्बन्धी भ्रष्टाचारको भारीलाई पूरै बोक्नुपरेको छ । त्यो अवस्थामा प्रचण्ड सरकार कहिलेसम्म टिक्ने हो ? अनिश्चित छ । द्वितीय– नेकाभित्रको प्रतिपक्षले पहिलेदेखि नै एमालेसित गठबन्धन गरेर सरकार बनाउने कुरामा जोड दिंदै आएको छ र त्यसले अहिले पनि त्यही रणनीतिअन्तर्गत काम गरिरहेको छ । त्यो अवस्थामा वर्तमान गठबन्धन सरकारको अस्तित्व धरापमा नै परेको कुरा प्रष्ट छ । तृतीय– अमेरिकाको लागि नेपालमा कुनै पनि प्रकारको वामपन्थी शक्तिहरूको सरकार सह्य हुन्न । त्यसकारण त्यसले पनि वर्तमान सरकारमाथि कुनै पनि बेला बज्र प्रहार गर्न सक्दछ ।

महाधिवेशनले गतकालमा विभिन्न पक्षसित गठबन्धन वा तालमेल गर्ने नीतिप्रति पनि प्रश्न उठाएको छ । गतकालका चुनावी तालमेलमा अन्य पक्षले इमानदारिता नदेखाएको पृष्ठभूमिमा आगामी चुनावमा त्यस प्रकारको तालमेलको औचित्यताबारे अनिश्चिय उत्पन्न भएको छ । हामीले चुनावसम्बन्धी तालमेलको समझदारीलाई इमानदारितापूर्वक नै लागु गर्ने गरेका छौँ । तर अन्य पक्षले स्थानीय, प्रदेश वा सङ्घका चुनावमा अन्तरघात गरेका कैयौँ उदाहरण छन् । त्यो अवस्थामा चुनावसम्बन्धी तालमेल गर्नेबारे गम्भीरतापूर्वक विचार वा पुर्नविचार गर्नु आवश्यक हुने छ वा एक्लै पनि चुनावमा जान तयार हुनुपर्ने छ ।

आठौँ महाधिवेशनदेखि अहिलेसम्मको हाम्रो पार्टीको इतिहास सङ्घर्षले भरिएको छ । आठौँ महाधिवेशनको लगत्तैपछि हामीले देशव्यापी रूपमा सङ्घर्षका कार्यक्रम बनाएका थियौँ तर कोरोनाका कारणले ती सबैलाई रोक्नुपरेको थियो । पछि पनि हामी एमालेको नेतृत्वको प्रतिगमनका विरुद्ध संयुक्त आन्दोलनदेखि विभिन्न स्तरका चुनाव, कालापानी, एमसिसी, भ्रष्टाचार र महङ्गी, प्रतिगमनको खतरा र अमेरिकी साम्राज्यवादका विरुद्ध सङ्घर्षमा लगातार सक्रिय रहने गरेका छौँ । अब पनि आवश्यकताअनुसार त्यस प्रकारको सङ्घर्षको नीतिमा निरन्तरता रहने कुराको जानकारी गराउन चाहन्छौँ ।

सशस्त्र द्वन्द्वकालमा सरकार वा माओवादी पक्षबाट भएका विभिन्न प्रकारका अमानवीय र अपराधजन्य कारवाहीद्वारा पीडित जनतालाई न्याय दिने कार्य अहिलेसम्म हुन सकेको छैन । सशस्त्र द्वन्द्वका दौरानमा भएका हत्या वा हिंसाका कारबाहीबारे शान्ति सम्झौतापछि कुनै कारबाही गर्नुपर्ने आवश्यकता छैन तर दुवै पक्षद्वारा निअपराध जनतामाथि भएका हत्या, हिंसा, बलात्कार आदि अपराधजन्य कारबाहीबारे निष्पक्ष र उच्चस्तरीय छानबिन गरेर दोषीलाई अपराधअनुसार सजाय दिने कार्यमा धेरै ढिलाइ भएको छ । हामीले छिटोभन्दा छिटो उक्त कारबाही गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

महाधिवेशनमा पारित सङ्गठनात्मक प्रस्तावमा एउटा जुझारु, अनुशासित र लेनिनवादी सिद्धान्तमाथि आधारित कम्युनिस्ट पार्टीको स्थापनामा विशेष जोड दिइएको छ । अहिले विश्वस्तरमा नै लेनिनवादी सङ्गठनात्मक प्रणालीमा आइरहेको विचलन र नेपालको कम्युनिस्ट आन्दोलनमा पनि त्यसको असर बढ्दै गएको हुनाले त्यस प्रकारको कम्युनिस्ट पार्टीको गठन एउटा अत्यन्त कठिन, जटिल र कष्टसाध्य कार्य हो तैपनि अहिले हाम्रो पार्टीको अवस्था, कार्यशैली र दृष्टिकोणमा क्रान्तिकारी रूपान्तरण गर्दै त्यस प्रकारको क्रान्तिकारी पार्टीको निर्माणको उद्देश्यलाई पूरा गर्ने निश्चय गरेका छौँ किनभने त्यो अहिलेको देशको राष्ट्रिय आवश्यकता पनि हो । त्यस प्रकारको पार्टीबिना आज देशमा गम्भीर बन्दै गएका प्रतिगमन र साम्राज्यवादको खतराका विरुद्ध तथा जनजीवनसित जोडिएका समस्याबारे शक्तिशाली आन्दोलन उठाउनु सम्भव हुने छैन तर त्यो कार्य हामीले एक्लै होइन, सबै प्रगतिशील, वामपन्थी र प्रजातान्त्रिक शक्तिसित एकता गरेर नै पूरा गर्न सक्ने छौँ र त्यसका लागि हामीले इमानदारितापूर्वक पहलकदमी पनि गर्ने छौँ ।

हाम्रो पार्टीको केन्द्रीय समितिको छिट्टै बस्ने अर्को बैठकले उक्त सबै विषयमा ठोस कार्यक्रम बनाएर योजनाबद्ध प्रकारले काम गर्ने छ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार