अलग भएर गएका पार्टीसदस्यलाई मसालमा फर्कन अपिल

काठमाडौँ । नेकपा (मसाल) ले विभिन्न समयमा विभिन्न प्रसङ्गका कारणले अलग भएर गएका आफ्ना पार्टीसदस्यलाई पुनः पार्टीमा फर्किन आह्वान गरेको छ ।

महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ वैशाख १५ गते शनिबार जारी प्रेसवक्तव्यमार्फत् यस्तो आह्वान गरिएको हो ।

वक्तव्यमा पार्टीमा फर्किंदा विधान र महाधिवेशनको नीति तथा कार्यक्रमलाई स्वीकार गर्नेबाहेक अरू कुनै शर्त नहुने तथा अनुशासनअन्तर्गत रहेर आफ्ना भिन्नमतलाई सुरक्षित गर्ने अधिकार दिइने उल्लेख छ ।

यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“यही २०८१ वैशाख १३ गते नेकपा (मसाल) को उपलब्ध पी.वी.एम. सहित बसेको केन्द्रीय कार्यालयको बैठकले विभिन्न बेलामा र विभिन्न प्रसङ्गमा पार्टीबाट अलग भएर गएका पार्टीका सदस्यलाई पार्टीमा फर्कनको लागि आह्वान गर्ने निर्णय गरेको छ । त्यसबाट पार्टीको नवौँमहाधिवेशनपछि पार्टीलाई एकताबद्ध र शक्तिशाली बनाएर पार्टीका नीति कार्यक्रम वा उद्देश्यको पक्षमा शक्तिशाली आन्दोलन अगाडि बढाउन मदत पुग्ने छ भन्ने हामीलाई विश्वास छ ।

त्यस सन्दर्भमा केन्द्रीय कार्यालयको बैठकले यो पनि स्पष्ट गरेको छ कि त्यसरी पार्टीमा पुनरागमनका लागि पार्टीको विधान र महाधिवेशनले पारित गरेका नीति र कार्यक्रमलाई स्वीकार गर्नेबाहेक अरू कुनै शर्त हुने छैनन् । जहा“सम्म पार्टीको विधान र महाधिवेशनद्वारा पारित पार्टीको नीति र कार्यक्रमलाई स्वीकार गर्ने प्रश्न छ, ती कुनै पनि कम्युनिस्ट पार्टीभित्र सबै पार्टी सदस्यहरूले पालन गर्नुपर्ने जनवादी केन्द्रीयताका न्यूनतम र अनिवार्य शर्त हुन् । त्यस सिलसिलामा केन्द्रीय कार्यालयले यो पनि स्पष्ट गरेको छ ।

त्यसरी पार्टीमा पुनः प्रवेश गर्ने पार्टीका कार्यकर्तालाई पार्टीको विधान र अनुशासनअन्तर्गत रहेर आफ्ना भिन्नमतलाई सुरक्षित राख्ने वा सञ्चालन गर्ने अधिकार सुरक्षित रहने छ ।

अन्तमा, त्यसरी हाम्रो पार्टीमा फर्कन चाहने सबै पार्टी सदस्यलाई हामीले हार्दिक स्वागत गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार