माटा घैंटा बन्नु भन्दा पहिल्यै फूट्यो !

काठमाडौं । शुक्रबार नेकपा मोटो मशाल दाङ जिल्ला समितिले एकतामा नजाने घोषणा गरेलगत्तै तनहुँ जिल्ला समितिले पनि सोही प्रकृतिको विज्ञप्ति जारी गर्दै मोहन वैद्यको पार्टीसँग मिसिन नहुने बताएको छ ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्यूनिष्ट पार्टी, नेपाल र सन्तबहादुर नेपाली नेतृत्वको मोटो मशाल बीच हुन लागेको एकतामा सामेल नहुन मोटो मशालको दाङ जिल्ला समितिले अपील गरेको छ ।

मोटो मशाल दाङ जिल्ला समितिले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी सिद्धान्तहिन एकता गर्न लागिएको भन्दै सो एकतामा सामेल नहुन कार्यकर्ता पंक्तिसित आग्रह गरेको छ ।

जिल्ला समितिका सचिव रामबहादुर जिएमले प्रेशित गरेको वक्तव्यमा भनिएको छ, ‘सैद्धान्तिक रूपमा पथ प्रदर्शक सिद्धान्तको रूपमा माओवाद वा विचारधारा के मान्ने, दशवर्षे सशस्त्र द्वन्दलाई उग्रवामपन्थी गल्ती भन्ने वा नभन्ने, नेपाललाई एकात्मक राज्य मान्ने कि बहुराष्ट्र साथै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले मानेको संघीयताको विषयमा जातिय पहिचानसहित पृथक हुन पाउने आत्मनिर्णयको अधिकारबारे गम्भीर विवाद थिए । मोटो मशालले यस प्रकारको सिद्धान्त र नीतिमा पार्टी एकता गर्ने भन्ने कहीँ पनि निर्णय भएको थिएन ।’

साथै वक्तव्यमा ‘त्यसरी गलत प्रकारको पार्टी एकता गर्नु कम्युनिस्ट आन्दोलनलाई गलत बाटोमा लैजानु साथै समाप्त पार्ने खेल हो’ भनिएको छ ।त्यस्तै तनहुँ जिल्ला सचिव नरबहादुर थापाद्वारा जारी विज्ञप्तिमा पनि ‘सिद्धान्तविहीन र राष्ट्रिय विखण्डनको नीतिलाई समर्थन गरी क्रान्तिकारी माओवादीसँग पार्टी एकताको निर्णय गरेको’ आरोप लगाइएको छ ।

साथै, राष्ट्रिय भेलामा नै तनहुँ जिल्ला समितिको निर्णय स्पष्टसँग राखेको उल्लेख गर्दै सो एकतामा सामेल नहुन देश विदेशमा रहेका पार्टी सदस्यहरूसँग आव्हान गरिएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालल र मोटो मशाल बीच यही वैशाख १९ गते पार्टी एकता हुँदैछ । सिद्धान्तहिन ढंगले माओवादीमा समाहित हुन लागेको भन्दै मोटो मशालभित्र तीब्र असन्तुष्टि बढेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार