त्यो (कथा)

मोहनविक्रम सिंह ##

त्यो कहाँ बस्थ्यो ? के गर्दथ्यो ? यो कसैलाई थाहा थिएन ।

बिहान घाम झुल्केको केही बेरपछि त्यो बजारमा आइपुग्थ्यो । बजारका माझमा एउटा पिपलको रुख थियो । त्यो दिनभरि त्यहीँ नै बसिराख्थ्यो । घाम अस्ताएको केही बेरपछि त्यो पिपलको रुखबाट उठेर जान्थ्यो । फेरि अर्को दिन बिहानै । त्यो क्रम चलिरहन्थ्यो ।

जङ्गलमा गएर त्यो कहाँ बस्दछ ? के गर्दछ ? यो कुरा कसैलाई पनि थाहा थिएन । त्यो व्यक्ति रातमा गएर कहाँ बस्छ ? यो पत्ता लगाउन कैयौँ गोठालाले कोसिस गरे । सिकार खेल्ने मानिसले रातमा गएर खोजे तर सारा जङ्गल चाल्दा पनि उसको डेरा पत्ता लाग्न सकेन । त्यो झन्पछि झन् सबैका लागि रहस्यमय व्यक्ति बन्दै गयो ।

त्यसको उमेर कति वर्षको थियो ? यो भन्न मुस्किल पर्थ्यो । मुखबाट केही अन्दाज लगाउन सकिन्थ्यो । त्यो मानिस २५/३० वर्षको पनि हुन सक्थ्यो तर ४०/५० वर्षको पनि ।

त्यसका शरीरमा केही कपडा थिएनन्, सिवाय एउटा पुरानो टोपी र फाटेको दौरा ।

त्यसका साथमा अरू केही सम्पत्ति थिएन, सिवाय एउटा माटाको हाँडी । त्यो हाँडी कैयौँ ठाउँमा फुटेको, पुरानो र कालोमैलो थियो । त्यसले त्यो हाँडीलाई कहिल्यै पनि छाड्दैनथ्यो । त्यसले त्यो हाँडीलाई सधैँ नै हातले छातीमा अड्याएर ल्याउँथ्यो र त्यसै गरेर फर्काएर लैजाने गर्थ्यो । पिपलका बोटमुनि आइपुगेपछि हाँडीलाई अगाडि राखेर दिनभरि बस्थ्यो ।

त्यसका अगाडि बाटोमा सयकडौँ मानिस हिँडिराख्थे तर त्यसले कहिल्यै पनि कसैसित केही थापेर मागेको कसैले देखेको थिएन । उसले बाटामा हिँड्ने प्रत्येक मानिसलाई ध्यानपूर्वक हेर्थ्यो; कसैलाई खोजे झैँ कसैलाई चिन्न खोजे झैँ, कसैको जाँच गर्न खोजे झैँ तर न त्यो कसैसित बोल्दथ्यो, न त्यसले कसैसित केही माग्दथ्यो ।

प्रायः बाटामा हिँड्ने मानिसले त्यसलाई केही न केही दिइराख्थे, कसैले उसका अगाडि चुरोटका ठुटा फालिदिन्थे । कसैले दहीचिउरा खाएका जुठा पात, कसैले जुठो भात, कसैले १/२ पैसा । यसरी जम्मा भएका चिजबिजलाई त्यसले ध्यानपूर्वक बटुल्थ्यो, कुनै कुरा हाँडीमा हालेर राख्थ्यो, कुनै कुरा खान्थ्यो । साँझमा हाँडीलाई छातीमा अडाएर वनतिर जान्थ्यो कसैसित केही नबोलिकन तर सबैका मुखमा ध्यानपूर्वक हेर्दै । त्यो त्यसरी त्यहाँ बस्ने गरेको छ महिना भइसकेको थियो ।

त्यो सबै जनाका लागि रहस्यको पात्र बनेको थियो । कैयौँ जनाले त्योसित कुरा गर्न खोजे, त्यसका बारेमा जानकारी प्राप्त गर्न खोजे, केटाकेटीहरूले चलाउन खोजे तर त्यसबाट कहिल्यै कुनै कुराको उत्तर कसैले पाउन सकेनन् । केटाकेटीहरूले उसलाई साना माटाको डल्लाले हान्ने गर्दथे तर त्यसले केही ध्यान दिँदैनथ्यो । कसैले कुरा गर्न खोजे चुपचापसित सुनिरहन्थ्यो ।

प्रायः बजारमा त्यो मानिसको बारेमा निकै चर्चा चलिरहन्थे । कसैले त्यसलाई भूतपिचास भन्दथे । कसैले महादेवको अवतार । कसैले त्यसलाई कुनै महान् ज्ञानी भन्थे, कसैले मगज बिग्रेको बहुला ।

कुनै दिन उसलाई साहुसेठहरूले पेटभरि मिठाई, दहीचिउरा खुवाएर ग्रह कटाउँथे भने कुनै साहुसेठले उसलाई भोजन गराएर महादेवलाई खुशी गराउने कुरा सोच्दथे ।

बजारमा अरू भिखमङ्गा पनि थिए तर कोही पनि त्यसको नजिक आउँदैनथे । उनीहरूले प्रायः त्यसको बारेमा कुराकानी गर्थे, उसको भाग्यमाथि डाहा गर्थे । यो अचम्मको रहस्यमय व्यक्ति स्वतः सबैको ध्यान, चर्चा र सहानुभूतिको पात्र बनेको थियो । सबैले उसलाई केही न केही दिइराख्दथे । प्रायः अरू भिखमङ्गाले देख्थे– उसको भाँडो कहिल्यै पनि रित्तो हुँदैनथ्यो । त्यसले बिनाहातमुख चलाएर नै सबैबाट केही न केही पाइराख्थ्यो जबकि अरू भिखमङ्गालाई कैयौँ दौडधुप गर्दा पनि भोकै बस्नुपर्थ्यो । अरू सबै भिखमङ्गाका लागि त्यो डाहाको विषय बनेको थियो । त्यही रहस्यमय मान्छे बस्ने पिपलको रुखदेखि तलपट्टि एउटा सेठको महल थियो ।

ती सेठले प्रायः मानिसका साथमा कुरा गर्दा भन्ने गर्थे– यो पिपलका रुखमुनि बसेको मानिस पक्कै पनि महादेवको अवतार हो । पहिले पनि महादेवले महारोगी भएर वा योगी भएर मानिसका पाप र धर्मको जाँच गर्ने गरेका कुरा शास्त्रमा लेखेको छ । यो मानिस साधारण मानिस भए यो मानिस बस्ने ठाउँ पत्ता लगाउन सक्नुपर्ने ! यो मानिस रातमा कहाँ बस्छ ? यो अझैसम्म कसैले पत्ता लगाउन सकेका छैनन् । महादेव दिनभरि यहाँ आएर बस्छन्, रातमा पार्वतीका साथ बस्न कैलाशमा जाने गर्छन् ।

सेठका छोराको केही दिनपहिले मात्र विवाह भएको थियो । विवाह गरेको केही दिनपछि सेठकी बुहारी घर हेर्ने भएपछि सेठका परिवारले त्यो अनौठो मानिसको झन् ख्याल राख्न थाले । उसलाई लगेर दुध, केरा, चिउरा, मिठाई चढाउन थाले ।

सेठले कैयौँपल्ट उसका अगाडि गएर भन्दथे– ‘हे महादेव दया गर ।’

यसो गर्नु कुनै नयाँ कुरा थिएन । प्रायः केही मानिस सिकिस्त बिरामी भयो र अरू औषधीमूलोले निको भएन भने मानिसहरूले गएर त्यो मानिसलाई फूल, प्रसाद चढाउँथे र मनमनै आराधना गर्थे । त्यसो गरेर प्रायः कैयौँ मानिसलाई सन्चो पनि भइहाल्थ्यो ।

नभन्दै सेठकी बुहारीलाई केही सन्चो भएर गयो । यो देखेर त्यो मानिसप्रति सेठका परिवारको झन् श्रद्धा र विश्वास बढेर गयो । त्यो मानिसको झन् ख्याल हुन थाल्यो : झन् हेरविचार, दुध, भात, केरा, फलफूल तर केही दिनपछि अकस्मात् रोग बढेर सेठकी बुहारीको मृत्यु भयो ।

बुहारीको मृत्युले सेठको मनको पिर उम्लियो । उनको ध्यान फेरि पिपलका रुखमुनि बसेको त्यो मानिसमाथि गयो । उनको आँखाअगाडि त्यो रहस्यमय व्यक्तिको तस्बिर नाच्यो, फुस्रो, मैलो, फोहोर र भयानक । त्यो मानिसमाथि सेठको कत्ति श्रद्धा र विश्वास थियो झ् तर बुहारीको आकस्मिक मृत्युले सेठको त्यो मानिसमाथिको श्रद्धा खतम भयो । त्यसमाथि उनका मनमा क्रोध र रिस उम्लेर आयो– त्यही भूतले नै मेरी बुहारी खायो, घरका नजिकै भूतप्रेतको बास भएपछि पनि । सधैँ पिपलको रुखमुनि बस्ने राक्षस नभएर को हो ?

सबैले रिसले दाह्रा किट्दै भने– “यस्तो भयानक, जसको पायो उसको जुठो खाने, त्यो भूतप्रेत नभएर अरू के हुन्थ्यो ? त्यो राक्षस नभएको भए यस्तो अलच्छिन् हुन्थ्यो ? बैँसमा नै…. ।”

सबैले आफ्नो लौरो त्यो मानिसमाथि बर्साए ।

एक चोट, दुई चोट, कैयौँ चोट । “ऐय्या” भन्दै त्यो मानिस पल्टियो । सेठको अर्को एक चोटले त्यसका नजिकै रहेको हाँडी फुटेर सय टुक्रा पयो । लौराको चोटले त्यो मानिसको शिरमा गहिरो चोट पयो । त्यसबाट रगतका धारा सबैतिर पुगे । त्यसको सारा शरीर रगतले मुछियो ।

बजारका मानिसहरू पनि सबै जना त्यहाँ दगुर्दै जम्मा भए । पहिले ता सबै जना अलमल्ल परे तर पछि सेठको कुरा सुनेर सबैले एकै स्वरले भन्न थाले– “यो पक्कै पनि भूत हो । राक्षस हो । यसलाई यहाँ बस्न दिनुहुन्न ।”

सबैले त्यसलाई पिट्न थाले, घोक्र्‍याउन थाले ।

मानिसहरूले घोकर्‍याउँदा त्यो केही पर गयो तर फेरि फर्केर आफ्ना ठाउँमा आयो र यताउता छरिएका ठाउँका हाँडीका टुक्रा टिप्न थाल्यो । मानिसहरूले त्यसलाई फेरि समातेर घोकर्‍याउन थाले तर त्यो आफ्ना फुटेका हाँडीका टुक्रालाई छातीमुनि च्यापेर तिनीहरूको रक्षाका लागि मोर्चा कसे झैँ गरेर सुत्यो ।

मानिसहरूले त्यसलाई केही परसम्म घोकर्‍याएर सबै जना घरतिर गए तर त्यसले हाँडीका सबै टुक्रालाई टिपेर दौराका फेरामा पोको पार्‍यो । त्यही बेला सेठको घरबाट बाहिर लास निस्क्यो । लास नदीतिर गयो पछाडि सयकडौँ मलामी । अगाडि सेतो कपडामा लास बेरिएको थियो, पछाडि मानिस रुँदै कराउँदै गइरहेका थिए । सेठकी बुहारीको मृत्युमा सबै जना दुःखी थिए ।

‘त्यो’ मानिसलाई त्यो हाहाकार
जुन बेला
ठिक त्यही बेला…. ।

पिपलको रुखमुनिबाट उठेर एउटा भिखमङ्गा वनतिर हिँड्यो । उसले हाँडीका टुक्रालाई दौराको फेरामा पोको पारेर लगिरहेको थियो । ऊ चिन्तित थियो, उसका शरीरबाट बगिरहेको रगतका धाराका लागि होइन, उसको फुटेको हाँडीका निमित्त । त्यो एक्लै थियो, त्यसका साथमा मिलेर रुने कोही थिएन ।

त्यसको एक मात्र सम्पत्ति, साथी त्यही हाँडी थियो तर त्यसको हाँडी अब फुटेको थियो । अब फुटेका टुक्रा मात्र बाँकी थिए । त्यो सधैँ झैँ घाम अस्ताए पनि वनमा पस्ने गर्थ्यो तर आज त्यो वनमा पस्ने बेलामा सूर्यका तेजहरू अझै पनि चम्किरहेका थिए ।

सधैँभरि त्यो निस्फिक्रीका साथ कदम बढाउँदै जान्थ्यो तर आज उदास थियो । त्यो गयो, एक पल्ट पनि पछाडि नहेरिकन दायाबाया नहेरिकन । त्यो सधैँका लागि गयो । त्यसपछि बेपत्ता भयो । त्यसपछि कहिल्यै पनि फर्केर आएन ।

एक दिन मानिसहरूले देखे, खोलाको तिरमा, जहाँनेर सेठको बुहारीको दाहसंस्कार भएको थियो, त्यही ठाउँमा खोलाले एउटा लास बगाई ल्याएर पल्टाइदिएको थियो । त्यो लास पिपलको रुखमुनि बस्ने मानिसको थियो, जसलाई सबैले भूत भनेर पिटेर निकालेका थिए । अझ पनि उसका शरीरमा सेठका मानिसहरूले कुट्दा बनेका घाउ थिए तर कुहेर किरा परेका । उसका शरीरमा उनै कपडा थिए । कम्मरमा एउटा रुमालमा केही पदार्थ बाँधेको जस्तो देखिन्थ्यो । मानिसहरूले आपसमा मुखामुख गरेर कुरा गरे– “यस्ता मागीखानेले त पैसा सुनचाँदी राखेका हुन्छन् ।”

सबैले कम्मरको रुमाल फुकाएर हेरे तर त्यहाँ पैसा थिएन, त्यहाँ थिए, फुटेका डाँडीका टुक्राहरू ।

२०१२ मङ्सिर ८ गते

पाल्पा जेल

…………………………………………………….

स्पष्टीकरण

मेरो “त्यो” कथा यही सालको साउन महिनाको “मधुपर्क” मा प्रकाशित भएको छ ।

मेरो त्यो कथा २०१२ साल मङ्सिरमा करिब ७ दशक पहिले म पाल्पा जेलमा हुँदा लेखिएको थियो । त्यो बेला मैले दुईओटा उपन्यास र करिब १०० ओटाजति कथा लेखेको थिएँ । मलाई पाल्पा जेलबाट प्य्ठान जेलमा चलान गर्ने बेलामा मैले आफ्नो सबै रचना पाल्पाको एउटा व्यापारी मित्रकहाँ राख्न दिएको थिए तर उनले पार्टीका कागजपत्र राख्दा डर हुन्छ भन्ने सोचेर मैले राख्न दिएका सबै रचना नष्ट गरिदिएछन् ।

त्यो बेला लेखेका रचनामध्ये मेरा कागजपत्रमा दुईओटा कथाहरू सँगै आएछन्– एउटा “त्यो” र अर्को “बालैमा दिनमा लागेको माया” । पहिलो कथा करिब दुईदशकभन्दा पहिले जीवन शर्माद्वारा सम्पादित “रातो लालटिन” मा प्रकाशित भएको थियो । अर्को कथा मेरा कागजमा कतै हरायो र मैले अहिले त्यसलाई भेट्याउन सकेको छैन ।

पाल्पा जेलबाट राख्न दिएका मेरा उपन्यास र कथाका पाण्डुलिपिहरू नष्ट हुनु मेरा लागि धेरै दुःखको कुरा थियो । मेरा रचनाहरूको दुःखको सिलसिला त्यहीँसम्म सीमित रहेको छैन । गत कालमा मैले कथाहरू त कम नै लेखेँ, सिवाय केही वर्षपहिले लेखेको एउटा कथा “मास्टर छत्तल सिंह” तर उपन्यासहरू पाँचओटा लेखेँ । सात दशकपहिले पाल्पा जेलमा लेखिएका दुईओटा उपन्यासहरू “बुढा बा” र “झिलिमिली” । २०१८ सालमा तौलिहवा जेलमा परेपछि लेखिएको उपन्यास “ओखरकोट” । त्यो उपन्यास लेख्न मैले करिब चार वर्ष कडा मिहिनेत गर्नुपरेको थियो । तौलिहवा जेलबाट भैरहवा जेलमा चलान हुने बेलामा मैले त्यो उपन्याससहित आफ्ना सबै रचनाहरू तौलिहवाका एक जना मित्र टेकबहादुर पन्थीकहाँ राख्न दिएको थिएँ । म जेलमा भएको बेलामा नै उहाँको मृत्यु भयो । जेलबाट छुटेपछि खोज्न जाँदा त्यो उपन्यास पत्ता लागेन ।

काठमाडौँको हनुमानढोका खोरमा एक वर्षजति बस्दा “बुढा बा” शीर्षकले नै एउटा उपन्यास लेखेको थिएँ । जेलबाट छुट्दा पनि त्यो उपन्यास मसित नै थियो तर पछि त्यो कता हरायो, मलाई थाहा भएन । बनारसमा बस्दा मैले “तारा” शीर्षकको एउटा उपन्यास लेखेको थिएँ । काठमाडौँ आउँदा मसँग त्यो उपन्यास थियो तर पछि कता हरायो ? त्यो पनि थाहा हुन सकेन । त्यसरी अहिलेसम्म मैले लेखेका पाँचओटा उपन्यास हराइसकेका छन् । त्यसरी उपन्यास रचनाको मेरो लामो दुखान्त कथा छ । त्यस प्रकारको पृष्ठभूमिमा मैले “कामरेड जलजला” उपन्यास लेख्ने काम गरिरहेको छु । यो मैले लेखेका उपन्यासमध्ये छैटौँ हुने छ ।

त्यो उपन्यास लेख्न मलाई करिब २२ वर्ष लामो समय लागेको छ । त्यो बिचमा पार्टीका विभिन्न काम र विभिन्न पुस्तक र दस्तावेज लेख्ने कार्य तथा विभिन्न भ्रमणमा धेरै समय लागेकाले पनि त्यो उपन्यास पूरा गर्न बढी समय लागेको हो । अब यही महिनाको अन्त वा भदौको प्रारम्भमा त्यो पुस्तक प्रेसमा जाँदै छ र दशैँतिहारसम्म त्यो प्रकाशित हुने छ भन्ने मैले आशा गरेको छु । त्यो उपन्यासको प्रकाशनद्वारा मेरा पहिलेका हराएका वा नष्ट भएका पाँचओटा उपन्यासको दुःख र पीडाका पूर्ति हुने छ भन्ने मैले आशा गरेको छु ।

यहाँ यो पनि उल्लेखनीय छ कि अहिलेको उपन्यासका टाइप गरेका कपी पनि एक पल्ट सबै हराएका थिए तर कम्प्युटरमा तिनीहरू सुरक्षित भएको हुनाले ती बचे । मैले अहिलेसम्म पनि बुझ्न सकेको छैन, त्यो उपन्यासका ती मेरा फाइल कसले लगेको थियो होला वा तिनीहरूलाई कसले कसरी उपयोग गर्‍यो होला ?

माथि उल्लेखित “त्यो” कथा पहिले प्रकाशित भएको भए पनि अहिले “मधुपर्क” मा “हालसम्म अप्रकाशित” भनेर लेखिएको छ । मैले त्यो कथा पठाउदा अप्रकाशित भनेर लेखेर पठाएको थिइनँ तैपनि “मधुपर्क” मा मेरो त्यो कथा धेरै पहिले लेखिएको हुनाले अहिलेसम्म अप्रकाशित भएको भन्ने भ्रम भएको हुन सक्दछ । त्यसैले मैले यो स्पष्टीकरण प्रकाशित गर्दै छु । मैले “मधुपर्क” मा पनि त्यो कुरा उल्लेख गरेर पठाएको छु र “मधुपर्क” को अर्को अङ्कमा त्यसका सम्पादकले त्यसमा भएको भुल सच्याएर प्रकाशित गर्ने वचन दिनुभएको छ ।

मेरा लागि “त्यो” कथाको महत्त्व यो कुरामा छ कि त्यो कथा करिब सात दशकपहिले मैले लेखेका उपन्यास र कथाहरूको एक मात्र “जीवित” प्रतिनिधि हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार