ओलीको आलोचना गर्दा कोशीका पूर्वसांसद कार्की एमालेबाट निलम्बित

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति आलोचना गरेको आरोपमा कोसी प्रदेश सभाका पूर्वसांसद विमल कार्की ६ महिनाका लागि निलम्बनमा परेका छन् ।

कार्कीसहित अन्य दुईजनालाई एमाले कोसी प्रदेश समितिले स्पष्टीकरण सोधेकोमा कार्कीलाई निलम्बन गरेको हो । स्पष्टीकरण सोधिएका अन्यको नाम सार्वजनिक गरिएको छैन ।

पुस २७ र २८ मा विराटनगरमा बसेको कोसी प्रदेश कमिटीको बैठकले कार्कीलाई ६ महिनाका लागि पार्टीका जिम्मेवारीबाट मुक्त गरेको एमाले कोसीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए।

निलम्बनमा परेका कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबारे सामाजिक सञ्जालमा टीकाटिप्पणी गर्दै आएका थिए।

कार्कीलाई मंसिर १६ मा एमाले कोसीका अध्यक्ष खतिवडाले नै स्पष्टीकरण सोधेका थिए। पत्रमा तीन दिनभित्र जवाफ दिन भनिएको थियो ।

उनी २०७४ को प्रदेशसभा निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर १ (१) बाट निर्वाचित भएका थिए।

भीम रावल, बिन्दा पाण्डे र उषा किरण तिम्सेनालाई स्पष्टीकरण सोध्ने पार्टी केन्द्रको विपक्षमा उभिएका कार्की पनि निलम्बनको कारबाहीमा परेका हुन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार