चेन्नै । पाँचथर जिल्ला याङबरक गाउँपालिका वडा नं. ३ निवासी शेरबहादुर राईका ४१ वर्षीय साहिला छोरा अनिल राईको निधन भएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दाहसंस्कार गरेको छ ।
मूल प्रवाहले राईको शवको सम्पूर्ण औपचारिक प्रक्रिया पूरा गरी जनवरी १५ का दिन स्टालिन हस्पिटल रायपुरमा पोस्टमार्टम गरी मुलकोत्तुलम सुरघाटमा दाहसंस्कार गरेको हो ।
जनवरी ७, २०२५ का दिन न्यू जलपाइगुडीदेखि बेङ्गलोर आउने क्रममा उनको निधन भएको थियो । उनको शव प्रहरीले फेला पारेको थियो ।
दाहसंस्कारस्थलमा मूल प्रवाहका केन्द्रीय सदस्य केशमान नेपाली, दक्षिण भारत क्षेत्रीय समितिका कोषाध्यक्ष लोकेन्द्र पौडेल, अर्का क्षेत्रीय सदस्य जीवन शर्मा, क्षेत्रीय सल्लाहकार सदस्य नेत्रलाल शर्मा, चेन्नै दक्षिण नगर समितिका अध्यक्ष खगराज आचार्य, चेन्नै पूर्व नगर समितिका अध्यक्ष ओमकान्त शर्मा, चेन्नै उत्तर नगर समितिका अध्यक्ष गोपाल विक र चेन्नै पश्चिम नगर समितिका अध्यक्ष बुद्धिराम पौडेलको उपस्थिति रहेको थियो ।
त्यस्तै, दाहसंस्कारमा चेन्नै उत्तर नगरका सचिव विष्णु विक, चेन्नै दक्षिण नगरका भीमलाल पौडेल, चेन्नै दक्षिण नगरका कृष्णप्रसाद शर्मा, चेन्नै पश्चिम नगरका राजेश विक र मिलन नेपाली साथै आफन्तहरू भीम लिम्बू र बाबुराम लिम्बूको पनि उपस्थिति रहेको थियो ।