दिनेश रैदास,
दाङ । दाङका मिटरब्याजपीडित यादवप्रसाद चौधरीले राष्ट्रिय जनमोर्चालाई धन्यवाद दिएका छन् ।
आफ्नो समस्या समाधान भएपछि २०८१ साउन १२ गते लिखित वक्तव्य जारी गर्दै उनले राजमोलाई धन्यवाद दिएका हुन् ।
पीडित चौधरी पहिला समस्या समाधानको प्रयासमा दुर्गा प्रसाईंले नेतृत्व गरेको समूहको दाङ कार्यालयमा पुगेका थिए । तर उनको समस्यालाई उक्त समूहले समाधान गर्न सकेन ।
त्यसपछि उनी राजमो दाङका अध्यक्ष गणेश आचार्यको सम्पर्कमा पुगे । चौधरीले भनेका छन्– “उहाँले नै मेरो सम्पूर्ण समस्या बुझी अन्यायी पक्षसँग समन्वय गरी मेरो समस्या समाधान भयो । राष्ट्रिय जनमोर्चाबाट नै मैले न्याय पाएँ ।”
यता, दुर्गा प्रसाईं समूहका मान्छेहरूले भने पटक पटक फोन गरी ‘तेरो समस्या हामीले समाधान गरेका हौँ, त्यसैले हामीलाई एक लाख पैसा बुझा’ भनेर प्रेसर दिने काम गरिरहेको चौधरीले बताएका छन् ।
उनले आग्रह गरेका छन्– “यसरी सामाजिक कामको नाममा कामै नगरी पैसा असुली गर्ने धन्दाबाट सचेत रहन सम्पूर्ण पीडित महानुभावमा अनुरोध गर्दै अनुचित धन्दा नगर्न सम्बन्धित समूहलाई खबरदारी गर्न यो प्रेसविज्ञप्ति जारी गरेको छु ।”