बाढीपहिरोको जोखिम न्युनीकरण गर्न मसालको आग्रह

काठमाडौँ । नेकपा (मसाल) ले बाढीपहिरोको जोखिम न्युनीकरण गर्न सरकारसित आग्रह गरेको छ । “अहिले देशमा बाढीपहिरोबाट भएका घटनामा उद्धारका लागि सुरक्षाकर्मीको परिचालन गरे पनि त्यो जनशक्ति पर्याप्त हुन सकेको देखिदैँन” मसालले भनेको छ– “उद्धार कार्यलाई प्रभावकारी बनाउनका लागि सरकारले पर्याप्त जनशक्ति परिचालन गर्नुपर्नेमा समेत हामीले जोड दिन चाहन्छौँ ।”

बाढीपहिरोमा जीवन गुमाउनेप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरिएको उक्त प्रेसवक्तव्यमा मृतकलाई क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेका निःशुल्क उपचारको प्रभावकारी व्यवस्था मिलाउन मसालले सरकारसँग माग गरेको छ ।

यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“देशका विभिन्न भागमा बाढीपहिरोले ठुलो जनधनको क्षति भइरहेको छ । यातायातमा बाधा उत्पन्न हुनुका साथै नागरिक जीवन अस्तव्यस्त बन्न गएको छ । कैयौँले जीवन गुमाउनुका साथै बेपत्ता भएका छन् । कैयौँको घरबास बाढीपहिरोमा परी लोप भएका छन् । देशमा त्यसरी बाढीपहिरोबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति हामीले गम्भीर दुःख प्रकट गर्दै बाढीपहिरोबाट जीवन गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । बाढीपहिरोका विभिन्न घटनामा बेपत्ता भएका सबै नागरिकको खोजतलासमा प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिन्छौँ ।

देशमा बाढीपहिरोको घटना पहिलेदेखि नै गम्भीर रूपले हुँदै आएका छन् । बाढीपहिरोको रोकथाम र त्यसबाट हुने क्षतिलाई कम गर्नका लागि सरकारले प्रभावकारी पहलकदमी लिएको पाइँदैन । बाढीपहिरोबाट मानव बस्ती, सडक बाटोघाटो, जग्गाजमिनमा रहेका जोखिमबारे सरकारको कुनै अध्ययन र तथ्याङ्क देखिँदैनन् । सडकमा रहेका सवारी, गाडी आदि पहिरोमा परेर पुरिने क्रम दोहोरिरहेको छ । यसले सरकारको चरम प्रकारको लापरवाही र दायित्ववोधको अभावलाई देखाउँछ । यो दुःखको कुरा हो कि बाढीपहिरो जोखिम प्रबल भएको बेलामा सडकयात्राको जोखिमप्रति सरकार सचेत रहेको देखिँदैन । त्यसले गर्दा देशले बढी क्षति ब्यहोर्नुपरेको छ । हामीले यी सबै समस्या समाधानका लागि सरकारले प्रभावकारी कदम उठाउनका लागि जोड दिँदै बाढीपहिरो नियन्त्रण र जोखिमतालाई न्युनीकरण गर्न सरकारको ध्यान गम्भीर रूपमा आकर्षित गर्दछौँ । अहिले देशमा बाढीपहिरोबाट भएका घटनामा उद्धारका लागि सुरक्षाकर्मीको परिचालन गरे पनि त्यो जनशक्ति पर्याप्त हुन सकेको देखिदैँन । उद्धार कार्यलाई प्रभावकारी बनाउनका लागि सरकारले पर्याप्त जनशक्ति परिचालन गर्नुपर्नेमा समेत हामीले जोड दिन चाहन्छौँ ।

अन्तमा, बाढीपहिरोमा परी मृत्यु भएका सबै नागरिकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेका निःशुल्क उपचारको प्रभावकारी व्यवस्था मिलाउनका लागि हामीले सरकारसँग माग गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार