समष्टि मगर ##
कलेज छुट्टी भएकाले सँगै कोठामा बस्ने साथीहरू अगाडि नै घर गइसकेका थिए । म भने अखिल (छैठौं) को तेइसौँ राष्ट्रिय सम्मेलनमा भाग लिनुपर्ने भएकाले काठमाडौँमा नै रोकिएकी थिएँ । यो सम्मेलन २०८१ असोज १०, ११ र १२ गते दाङमा हुँदै थियो ।
सम्मेलन स्थल मेरा लागि घरपायक नै परेकाले सम्मेलनमा भाग लिएर त्यतैबाट घर जाने मेरो योजना बन्यो । सोहीबमोजिम सम्मेलनमा जाने तयारीका साथ मैले काठमाडौंबाट यात्रा सुरु गरेँ । यसरी राष्ट्रिय सम्मेलनमा मैले पहिलोपटक भाग लिँदै थिएँ ।
सम्मेलनमा भाग लिनका लागि काठमाडौँदेखि नौ जनाको टोली थियो । हामी असोज ९ गते साँझ रात्रिबस चढेर असोज १० गते बिहान करिब १० बजेतिर सम्मेलन हुने स्थानमा पुगेका थियौँ ।
यसरी असोज १०, ११ र १२ गते सम्मेलनलाई सफल पार्न हामी सबै जना लागिपरेका थियौं । सम्मेलन भव्य रूपमा सफल पनि भयो । देशका विभिन्न क्षेत्रबाट सम्मेलनमा उपस्थिति रहेको थियो । सम्मेलनमा हामीले थुप्रै नयाँ कुरा सिक्ने अवसर प्राप्त गरेका थियौँ ।
सम्मेलन सकिएलगत्तै मैले घरतिर प्रस्थान गर्नको लागि तयारी गरेँ । मसँगै रुकुम पश्चिम जानको लागि रुकुम पूर्वबाट सम्मेलनमा प्रतिनिधित्व गर्न आएका विद्यार्थी साथीहरू पनि हुनुहुन्थ्यो । यसका साथै मेरो भाइ पनि साथमै थियो । भाइले पनि राष्ट्रिय सम्मेलनमा रुकुम पश्चिमबाट प्रतिनिधित्व गरेर आएको थियो ।
सम्मेलनमा उपस्थित भएदेखि मैले मोबाइल चलाउने असर पाएको थिइनँ । यसरी गाडी कुर्ने समयमा मैले मोबाइल खोलेर सामाजिक सञ्जाल हेर्न थालेँ । सामाजिक सञ्जालभरि देश डुबानमा परेको खबर छ्याप्छ्याप्ती थियो तर हामी सम्मेलनको कार्यक्रममा हलभित्रै व्यस्त रहेकाले बाहिरतिरको कुरामा हाम्रो खासै ध्यान गएको थिएन ।
बाढीपहिरोको कारणले देशभरि धनजनको क्षति भइसकेको रहेछ । यस्तो समाचार देख्दा मलाई निकै नै दुःख लागेर आयो । असोज १२ गते ७ बजेतिर हामी दाङबाट रुकुम पश्चिम जाने गाडी चढेका थियौँ । गाडी चढेर पनि बारम्बार मेरो ध्यान यही बाढीपहिरोले गरेको क्षतितर्फ केन्द्रित भइरहेको थियो ।
देशमा कुनै पनि बिपत्ति आउँदा सास्ती पाउने भनेको गरिब जनताले नै हो । नदीछेउमा रहेका गरिबका बस्ती बगेको देख्दा मन साह्रै निराश थियो । न उनीहरूको बासको ठेगान छ, न उनीहरूको खानाको ठेगान छ । यसपालि त झन् मेरो देशको राजधानीमै बस्ने जनताले समेत समयमा नै उद्धार पाउन सकेनन् ।
यस्तै यस्तै कुरा सोच्दै थिएँ, हामी चढेको गाडी अचानक रोकियो । बाहिर निस्कन पनि मनै थिएन । एक क्षणपछि हल्लाखल्ला हुन थाल्यो । के रहेछ भनेर बाहिर हेरेँ । रोडमा त बडेमानको ढुङ्गा माथिबाट पल्टेको रहेछ । यसरी हामी चढेको बस सल्यानको कपुरकोट नपुग्दै सुनसान जङ्गलमा रोकिन पुग्यो ।
रातको त्यो सुनसान जङ्गलमा हामीले धेरै बेर त्यो ढुङ्गालाई नियालेर बस्यौँ । गाडीका स्टाफहरूले ढुङ्गा हटाउन अनेक गरे तर त्यो ढुङ्गा हटाउन सकेनन् । सहयोगका लागि प्रहरीलाई फोन गर्ने कुरा भयो तर सहयोग बिहान मात्र प्राप्त हुने कुरा आयो । यति बेला मेरो मनले सोचिरहेको थियो– वास्तवमा यो देशको शासनसत्ता कति निरीह ढङ्गले चलिरहेको छ ? बाटोमा खसेको एउटा ढुङ्गासमेत समयमा हटाउन वर्तमान सत्ता असक्षम छ । अप्ठ्यारोमा परेका नागरिकलाई यथाशीघ्र उद्धार गर्न सक्दैन । सायद अरू देशमा भइदिएको भए त्यो सडकमा खसेको ढुङ्गा क्षणभरमै हट्थ्यो होला र हामीले रातभरि कष्ट भोग्नु पर्दैनथ्यो होला तर यति बेला हामीले के नै गर्न सक्थ्यौँ र ? चुपचाप बिहानी कुर्नुबाहेक हामीसँग अरू कुनै उपाय थिएन । बिहानीपख बल्ल डोजर आएर ढुङ्गा हटायो ।
सानोतिनो समस्या त बाटोभरि आई नै रह्यो । यसरी हामी समयभन्दा करिब १२ घण्टा ढिलो हुन पुग्यौँ । यसैबिच घरपरिवारलाई पनि निकै तनाव हुन पुग्यो । यात्रुलाई पीडा त छँदै थियो; प्राकृतिक विपत्तिलाई त हामीले रोक्न सक्दैनौँ, यसबाट हुने क्षतिबाट हामी अवश्य पनि जोगिन सक्छौँ तर हाम्रो देशमा यो किन सम्भव छैन ?
यात्राकै क्रममा हाम्रो देशमा चलिरहेको सङ्घीय शासन प्रणालीको सम्बन्धमा कुरा मनमा खेल्न थाल्यो । कहिलेकाहीँ मलाई हामी नेपाली जनता धेरै नै सोझो छौँ जस्तो लाग्छ । कसैले मिठो बोल्यो भने सही बोल्यो भन्ने सोच्छौँ । हाम्रो जस्तो सानो देश, त्यसैमाथि आर्थिक हिसाबले गरिब देशले कसरी यो सङ्घीयताको भार थेगोस् र ?
सङ्घीयता आएपछि देश समृद्धितिर जान्छ; देशमा विकास हुन्छ; देशका जनताले दुःख पाउने छैनन् भने झैँ लाग्थ्यो तर यतिका वर्ष भयो, अवस्था भने झन्भन्दा झन खस्किरहेको छ । सङ्घीयताभन्दा पहिले र सङ्घीयता आएपछिको अवस्था हेर्दा मैले देशमा केही उल्लेखनीय परिवर्तन देखिनँ । देशमा भ्रष्टाचार बढेको छ । देशका युवाजति विदेश छन् । देश रित्तिँदै छ । गरिब जनता झनै गरिब हुँदै गइरहेका छन् । देश लुटिखानेहरू अग्लो मञ्चमा बसेका छन् । न तिनीहरूलाई बाढीले भेट्छ, न पहिरोले नै लग्छ । बाटैभरि यस्तै खालका अनेकौँ सोचाइ र कल्पना मनमा आइरह्यो ।
यसै क्रममा हामी चढेको बस खौला नाम गरेको भञ्ज्याङमा आइपुग्यो । खौला सल्यान र रुकुम पश्चिमको सिमाना हो । खौला भञ्ज्याङमा पुग्नेबित्तिकै यहाँबाट उत्तरतिरको मनोरम हिमाल देखियो । ठुली दह र जन्तीबस्या लेकको उच्च पहाडी शृङ्खला पनि देखियो । यसैको काखमा झकिझकाउ खलङ्गा बजार पनि देखियो । रुकुम पश्चिमको सदरमुकाम भएकाले यो ठाउँमा विकास अलि धेरै पुगेको छ । सुन्दर खलङ्गा बजारको दृष्यले मन प्रफुल्ल भयो । यसले यात्रामा भोगेका सबै दुःखकष्ट पनि बिर्साइदियो ।
खौला भञ्ज्याङबाट केही घण्टामा नै म त्यही सुन्दर खलङ्गा बजारमा पुग्दै थिएँ । यति बेला मेरो मनमा बेग्लै खुसी महसुस भइरहेको थियो किनकि अबको केही घन्टाभित्रै करिब एक वर्षपश्चात म मेरो घर मुसिकोट खलङ्गामा पुग्दै थिएँ ।