
खलङ्गा । संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति प्युठानले झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेको छ ।
२०८१ मङ्सिर ४ गते मङ्गलबार मुद्दा दर्ता गरेको सङ्घर्ष समितिले प्रेसवक्तव्य जारी गर्दै जानकारी दिएको हो ।
उपाध्यक्ष पोखरेल विरुद्ध जातीय अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै वाहनचालक रेशम सुनारले गत कात्तिक २३ गते झिमरुक गाउँपालिकाको दलित सञ्जालमा निवेदन दिएका थिए । दलित सञ्जालले संयुक्त दलित सङ्घर्ष समितिसित छलफल गर्ने बताएको थियो ।
कात्तिक २९ गते दलित सञ्जालकै निवेदनमा मुद्दा दर्ता गरिएको वक्तव्यमा उल्लेख छ ।
वक्तव्यमा उपाध्यक्ष पोखरेलको अभिव्यक्ति नेपालको संविधान र जातीय छुवाछुत कसुर सजाय ऐन–२०६८ विपरीत भएको बताउँदै उनीमाथि हदैसम्मको कानुनी बारबाही गर्न माग गरिएको छ ।
यस कार्यक्रमा सहयोग गर्न सङ्घर्ष समितिले सबैसित अपिल गरेको छ ।
प्रेसवक्तव्यमा जातीय समता समाज प्युठानका सल्लाहकार रेकम सुनार र प्रतिनिधि खिमबहादुर विक, मुक्ति समाज नेपाल प्युठानका अध्यक्ष निमबहादुर सुनार, नेपाल दलित मुक्ति मोर्चा प्युठानका इन्चार्ज सुनिल सापकोटा र संयोजक केशव विक, क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रतिनिधि जितामित्र सुनार, दलित सञ्जाल प्युठानका अध्यक्ष विनोद विक र सल्लाहकार संयोजक अइन्द्र विक, दलित अधिकारकर्मीहरू बाबुराम सुनार, गिरजोन विक, दिलिपकुमार विक र अर्जुन सुनारको हस्ताक्षर रहेको छ ।

















