“कामरेड जलजला” उपन्यास विमोचन

काठमाडौँ । प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहको उपन्यास “कामरेड जलजला” विमोचन भएको छ ।

विद्या ढकाल (जलजला) की आमा ललिता ढकालको हातबाट २०८१ मङ्सिर १५ गते शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात सभाकक्षमा आयोजित औपचारिक कार्यक्रममाझ सो उपन्यास विमोचन भएको हो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीको अध्यक्षता तथा अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का अध्यक्ष समीर सिंहको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा उपस्थित जनसमुदायलाई प्रकाशक जनशिक्षा गृहकी दुर्गा पौडेलले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा उपन्यासकार सिंहको लिखित मन्तव्य सञ्चालक सिंहले वाचन गर्नुभएको थियो ।

उपन्यासको समीक्षा गर्दै समीक्षक डा. देवी नेपालले “कामरेड जलजला” मा खालि प्रेम मात्रै नरहेर दर्शन, कला, संस्कृति, खेलकुद, राजनीति जस्ता विविध विषय समेटिएको बताउनुभयो ।

‘यसमा के छ भन्नेहरूलाई म सोध्न चाहान्छु’ उहाँले अगाडि भन्नुभयो– ‘यसमा के छैन ? सबैथोक छ ।’

अर्का समीक्षक डा. रामप्रसाद ज्ञवालीले ‘कामरेड’ शब्दको मूल्यमा ह्रास आइरहेको अवस्थामा “कामरेड जलजला” जस्तो वैचारिक कृति आउनु स्वागतयोग्य भएको बताउनुभयो ।

‘प्रस्तुत उपन्यासमा कालचेतना, सौन्दर्यचेतना, तत्त्वचेतना सबै आएको छ । यसमा महाकाव्यिक गुण समावेश भएको छ’ उहाँले भन्नुभयो– ‘तर यति ठुलो कृति प्रकाशन हुँदा आम पाठकले पढ्न नसक्ने गरी यो कृति जनसाहित्य नबन्ने त होइन भन्ने मलाई शङ्का छ ।’

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ बाबा बस्नेतले “कामरेड जलजला” उपन्यास प्रकाशन भएपछि साहित्यको नयाँ विधाको रूपमा “महाउपन्यास” को जन्म भएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘नेपालको मात्रै होइन, विश्व साहित्यमा नै यो उपन्यासलाई शीर्षस्थ उपन्यासको कोटिमा राख्न सकिन्छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपालले मन्तव्य राख्दै उपन्यासकार मोहनविक्रम सिंह राजनीतिक लेखनमा मात्रै नभएर साहित्यिक लेखनमा पनि त्यत्तिकै सशक्त रहेको धारणा व्यक्त गर्नुभयो ।

सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाशीश कल्याण श्रेष्ठले यति विस्तृत उपन्यास आफूले अहिलेसम्म नदेखेको, नसुनेको बताउँदै विश्वकोशको रूपमा “कामरेड जलजला” उपन्यास आएको बताउनुभयो ।

नेकपा (एमाले) का नेता तथा प्रगतिवादी साहित्यकार रघुजी पन्तले विस्तृत उपन्यासको रूपमा “कामरेड जलजला” प्रकाशित भइरहँदा कतै औपन्यासिक मूल्य कमजोर हुने त होइन भन्दै आशङ्का व्यक्त गर्नुभयो ।

प्रगतिवादी समीक्षक निनु चापागाईंले उपन्यासमा सुनन्दा पात्र जलजलामा समाहित भएको प्रसङ्ग उठाउँदै यसमा भारतीय जनता र नेपाली जनतामाझको सर्वहारा अन्तर्राष्ट्रवादी भावना व्यक्त भएको बताउनुभयो ।

जर्मन कम्युनिस्ट पार्टीका नेता गाबीले मोहनविक्रम सिंह नेपालको मात्रै नभएर संसारभरिको र जर्मनीका कम्युनिस्टको पनि प्रिय नेता भएको बताउनुभयो । प्रस्तुत कृति अङ्ग्रेजीमा पनि अनुवाद भइरहेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रगतिवादी साहित्यकार रामप्रकाश पुरी, वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतम, सर्वोच्च अदालतमा पूर्व प्रधान न्यायाधीश हरिकृष्ण कार्की, पूर्व गृहमन्त्री वामदेव गौतम, उपन्यासका आवरण सज्जाकार रतनकुमार राई, उपन्यासको अङ्ग्रेजी अनुवाद गरिरहेका डा. हरिप्रसाद शर्मा, साहित्यकारहरू गोपीरमण उपाध्याय, गोपीन्द्र पौडेल, डा. कृष्ण सुवेदी, खेम थपलिया, लेखक श्याम श्रेष्ठ, लेखनाथ न्यौपाने, वामपन्थी बुद्धिजीवी अजय शर्मा, माधव ज्ञवाली, सूर्यबहादुर सेन, प्रेम शर्मा, अधिवक्ता एकनारायण भण्डारी, जनगायक जीवन शर्मा, पूर्व राजदूत नवराज सुवेदी, विद्या ढकालको परिवारबाट कान्ता ढकाल, सरिता ढकाल, जितेन्द्र ढकाल, अजिता ढकाललगायतको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार