
काठमाडौँ । नेकपा (मसाल) ले सिराहाको औरही–५ मा महायज्ञको नाममा दलित परिवारको वासस्थान भत्काउने कार्यको विरोध भइरहेकोमा ऐक्यबद्धता प्रकट गरेको छ ।
राष्ट्रिय जनमोर्चाका सांसदहरू प्रतिनिधिसभामा चित्रबहादुर केसीले र राष्ट्रियसभामा राजेश विश्वकर्मा (तुलप्रसाद) ले घटनाको विरोध गरेपछि त्यसप्रति मसालले ऐक्यबद्धता प्रकट गरेको हो ।
प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०८१ चैत ९ गते शनिबार जारी प्रेसवक्तव्यमा मसालले पीडित परिवारलाई तुरुन्त राहत प्रदान गर्न माग गरिएको छ ।
यस खालका जघन्य र मानवता विरोधी घटना हुन नदिन जातीय भेदभाव विरोधी कानुनको प्रभावकारी कार्यान्वयनमा पनि मसालले जोड दिएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“सिराहा जिल्लाको औरही गाउँपालिका–५ मा जग्गे गर्ने माटो छोइन्छ भनेर घरसमेत भत्काएर एक दलित परिवार (दीपक मरिकको परिवार) माथि भएको मध्ययुगीन र बर्बर अत्याचारको राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद कामरेड चित्रबहादुर केसी र राष्ट्रियसभामा राष्ट्रिय जनमोर्चाका सांसद कामरेड तुलप्रसाद विश्वकर्मालगायत अन्य विभिन्न सांसदले समेत संसद्को बैठकमा जोडदार आवाज उठाउनुको साथै उक्त घटनाको विरोध गर्नुभएकोमा त्यसलाई हामीले स्वागत गर्नुका साथै त्यसप्रति ऐक्यबद्धता प्रकट गर्दछौँ । जातीय भेदभाव गरी मानवता विरुद्ध गरिएको उक्त जघन्य अपराधिक घटनाको हाम्रो पार्टीले कडा विरोध र भर्त्सना गर्दछ ।
उक्त घटनाको आवश्यक छानबिन गरी संलग्न सबै दोषीलाई कडा कारबाही गर्नका लागि हामीले सरकारसित माग गर्दै घर भत्काइएपछि बासस्थानविहीन बन्न गएको उक्त परिवारलाई आवश्यक राहतसहित तुरुन्त बसोबासको व्यवस्था मिलाउनका लागि पनि हामीले सरकारको ध्यान आकर्षित गर्दछौँ । आगामी दिनमा त्यस प्रकारका मानवता विरोधी र कलङ्कित घटना हुन नदिन सरकारले समयमा नै ध्यान पुऱ्याउनुपर्दछ र त्यसका लागि जातीय भेदभाव विरुद्धका ऐन कानुनलाई प्रभावकारी प्रकारले कार्यान्वयन गर्नुपर्ने आवश्यकतामाथि हाम्रो पार्टीले सरकारको ध्यान गम्भीर रूपमा आकर्षित गर्दछ ।”