कुलमानलाई बर्खास्त गर्नु गलत : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयलाई गलत बताउँदै विरोध गरेको छ ।

महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ चैत १३ गते बुधबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले सो निर्णयको विरोध गरेको हो ।

उद्योगपति वा व्यापारीसित बाँकी रहेको राजस्व उठाउन पहल गरेदेखि नै विवाद सुरु भएर घिसिङलाई बर्खास्त गरिएको निष्कर्ष निकाल्दै मसालले ओली सरकारको यस खालको कार्यविधिबाट देशको सुशासन र सम्पूर्ण देशको विकासमा बाधा पुग्ने बताइएको छ ।

यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

“सरकारले कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने जुन निर्णय गरेको छ, त्यसलाई नेकपा (मसाल) ले गलत मान्दछ र विरोध गर्दछ ।
नेपालको विद्युत्को इतिहासमा कुलमानको महत्त्वपूर्ण भूमिका रहेको छ । लोडसेडिङ हटाउन र घाटामा गएको विद्युत् उद्योगलाई नाफामा लैजानसमेत उनको जो महत्त्वपूर्ण भूमिका रह्यो, त्यो अवस्थामा उनलाई हटाउने सरकारको निर्णयलाई अवश्य पनि सही भन्न सकिन्न ।

अहिलेको कुलमानसम्बन्धी विवाद उनले उद्योगपति वा व्यापारीसित बाँकी रहेको राजस्व उठाउन पहल गरेपछि नै सुरु भएको हो । प्रधानमन्त्री ओलीले उनीहरूबाट राजस्व असुल गर्न रोक्ने जुन काम गरे, त्यसपछि नै अहिलेको विवाद सुरु भएको हो र त्यो क्रममा अन्तमा कुलमानलाई पदबाट बर्खास्त गर्ने निर्णय गऱ्यो । त्यसबाट वर्तमान सरकारको पूरै छवि बिग्रन गएको छ । प्रश्न कुलमानको मात्र होइन, त्यो प्रश्न सरकारको सम्पूर्ण कार्यविधिसित सम्बन्धित छ । ओलीको सरकारले जुन कार्यविधि अपनाएको छ, त्यसले देशमा सुशासन र देशको सम्पूर्ण विकासमा नै बाधा पुऱ्याउनेछ र त्यसप्रति सम्पूर्ण जनताको ध्यान जानुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार