कुलमानलाई बर्खास्त गर्ने निर्णयको राजमोद्वारा विरोध

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गरेको छ ।

अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८१ चैत १३ गते बुधबार जारी गरिएको वक्तव्यमार्फत् विरोध तथा भर्त्सना गरिएको हो ।

वक्तव्यमा ठुला व्यापारी घराना तथा उद्योगपतिसित रहेको विद्युत् वक्यौता रकम उठाउने विषयमा कुलमानलाई बर्खास्त गर्नुलाई राजमोले गलत कार्यशैली बताएको छ ।

यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

“नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने ओली सरकारको निर्णय गलत छ । उक्त गलत निर्णयको हाम्रो दल राष्ट्रिय जनमोर्चाले विरोध तथा भर्त्सना गर्दछ ।

ठुला व्यापारिक घराना र विभिन्न उद्योगको लामो समयदेखि विद्युत् महसुलको बुझाउन बाँकी रहेको बक्यौता रकम असुलउपर गर्न कुलमानले अगाडि बढाएको प्रक्रिया र विद्युत् महसुलको बाँकी बक्यौता नतिर्ने उद्योगी र ठुला व्यापारिक घराना र सरकारका बिच साँठगाँठ भई त्यसलाई रोक्न वा अवरोध खडा गर्न सरकारले दिइरहेको प्रशासनिक दबाबका बिच लामो समयदेखि द्वन्द्व चलिरहेको थियो । त्यो अन्तरविरोधमा कुलमानले आफ्नो अडानबाट पछाडि नहटेपछि नै सरकारले उनलाई पदबाट बर्खास्त गर्ने गलत निर्णयमा पुगेको हो । त्यसैले सरकारको त्यस्तो गलत कार्यशैलीको हाम्रो दलले विरोध गर्दछ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार