
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राजतन्त्रको पुनर्स्थापना भएमा मुलुकमा दमन र आतङ्कको स्थिति सिर्जना हुने बताएको छ ।
चैत १५ गते राजावादीको कथित प्रदर्शनबारे धारणा राख्दै राजमोले यस्तो अभिव्यक्ति दिएको हो ।
अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८१ चैत १६ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै राजमोले राजावादी आन्दोलनको क्रममा घटेका घटनाका दोषीमाथि कारबाही गर्न माग गरेको छ ।
अहिले देशमा देखा परेका विभिन्न विकृति, विसङ्गतिको समाधान प्रतिगमन हुन नसक्ने ठोकुवा गर्दै राजमोले देशलाई अझै उन्नत प्रकारको लोकतन्त्रको दिशामा लैजानुपर्ने आवश्यकतामा जोड दिएको छ ।
लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि अग्रगमनका पक्षधर शक्तिको सहकार्यमा जोड दिने नीति अहिले स्थापित भएको बताउँदै राजमोले यस्तो सहकार्यका लागि सम्बन्धित सबै पक्षसित आग्रह गरेको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“१. २०८१ चैत १५ गतेका दिन राजावादीको कथित प्रदर्शनले हिंसात्मक रूप लिएको घटनाप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर रूपले ध्यानाकर्षित भएको छ ।
२. राजावादीको कथित प्रदर्शनले निजी घर, व्यावसायिक प्रतिष्ठान, स्वास्थ्य संस्था, विभिन्न सञ्चारगृह र सरकारी तथा निजी गाडी, पत्रकारलाई निसाना बनाएर तोडफोड, आगजनी, लुटपाट र पत्रकारलाई जिउँदै जलाएर हत्या गर्ने जघन्य आपराधिक कार्यको हाम्रो पार्टीले घोर विरोध तथा कडा शब्दमा भर्त्सना गर्दछ । राजावादीले योजनाबद्ध ढङ्गबाट घटाइएको हिंसात्मक घटनाको विरोध गर्दछ । योजनाबद्ध ङ्गबाट नै हिंसा भड्काउने र हिंसामा संलग्न दुइटै पक्षलाई कानुनको दायरा ल्याई सरकारसँग कडा कारबाहीको माग गर्दछौँ ।
३. राजावादीले निजी घर, स्वास्थ्य संस्था, सञ्चारगृह र पत्रकारलाई निसाना बनाउनुका साथै गणतन्त्रका पक्षधर शक्तिका कार्यालयमा समेत आगजनी र हिंसात्मक आक्रमण गरेको कार्यप्रति पनि हाम्रो पार्टीले विरोध तथा भर्त्सना गर्दछ ।
४. चैत १५ गते राजावादीको प्रदर्शनले गरेका हिंसात्मक आपराधिक घटनाबाट पनि स्पष्ट भएको छ कि यदि राजतन्त्रको पुनर्स्थापना भएमा मुलुकमा आतङ्क र दमनको स्थिति पैदा हुनेछ । त्यो स्थिति आउन नदिन प्रतिगमनका विरुद्ध गणतन्त्रवादी शक्तिका बिच सहकार्यको आवश्यकतामाथि हामीले सुरुदेखि नै जोड दिँदै आएका छौँ । अहिले हाम्रो त्यो नीतिको औचित्य झन् थप स्थापित भएको छ । त्यसैले प्रतिगमनका विरुद्ध सङ्घर्ष गर्न गणतन्त्रवादी शक्तिका बिचको सहकार्यलाई अगाडि बढाएर राजतन्त्र पुनर्स्थापनाको खतरालाई पराजित गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।
५. मुलुकमा गणतन्त्रको स्थापनापश्चात पनि जनताको जनजीविकाका समस्या समाधान हुन सकिरहेको छैन । राष्ट्रियताको स्थिति झन् गम्भीर भएको छ । बेरोजगारी र भ्रष्टाचार झन मौलाएको छ तर विद्यमान व्यवस्थामा देखा परेका विकृति, विसङ्गति, अन्याय, अत्याचार, बेरोजगारी र भ्रष्टाचारको समाधान प्रतिगमन होइन, हुन सक्दैन । यी सबै समस्याको समाधान प्रतिगमन नभएर अग्रगमन र पूर्ण प्रजातन्त्र वा उन्नत लोकतन्त्रमा मात्र समाधान हुन सक्दछ । त्यसैले प्रतिगमनलाई परास्त गर्न र उच्च प्रकारको लोकतन्त्रको सङ्घर्षका लागि आन्दोलन अगाडि बढाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।
६. सङ्घीयताका कारण गणतन्त्र तथा राष्ट्रियतासमेत कमजोर भइरहेको छ । सङ्घीयतालाई कायम राखेर गणतन्त्र तथा राष्ट्रियताको रक्षा हुन सक्दैन । सङ्घीयताले मुलुकलाई विकासभन्दा विनाशतर्फ धकेल्दै लगिरहेको छ । सङ्घीयता खारेजीले गणतन्त्रलाई रक्षा गर्नसमेत मदत पुग्नेछ यद्यपि गणतन्त्रवादीका बिच सङ्घीयताका विषयमा मतभेद भए पनि प्रतिगमनको विरोध तथा गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा हाम्राबिच कायम भएको एकतालाई थप मजबुत धरातलमा स्थापित गर्नुपर्ने कुरामा जोड दिन्छौँ ।”
















