
काठमाडौँ । एघार विद्यार्थी सङ्गठनले ज्ञानेन्द्र शाहमाथि कारबाही गर्न माग गरेका छन् ।
चैत १५ गते राजावादीको अराजक, हिंसात्मक र आपराधिक गतिविधिका लागि जिम्मेवार ठहऱ्याउँदै उनीहरूले ज्ञानेन्द्र शाहमाथि कारबाही गर्न माग गरेका हुन् ।
वर्तमान यथास्थितिको विकल्प पश्चगमन होइन, अग्रगमन हो भन्दै उनीहरूले ज्ञानेन्द्र शाहसँगै पूर्व पञ्च र घटनाका दोषीमाथि कडा कारबाहीका माग गरेका छन् ।
त्यस्तै, उपकुलपति प्राडा केशरजङ्ग बरालको राजीनामा राजनीतिक भागवण्डाको परिणाम बताउँदै उनीहरूले विश्वविद्यालयलाई त्यसबाट पूरै मुक्त गराउन माग गरेका छन् । त्यसो नगरिएमा आफूहरूले निर्मम सङ्घर्ष गर्ने चेतावनीसमेत दिएका छन् ।
प्रेसवक्तव्यमा अखिल (छैठौं) का अध्यक्ष सुवाश जिसी, अखिल (क्रान्तिकारी) का अध्यक्ष वीरेन्द्र शाह, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन नेपालका अध्यक्ष हिमांशु, विद्यार्थी जनमत सङ्घका पोषण यादव, समाजवादी विद्यार्थी युनियन नेपालका अध्यक्ष रमेश यादव, लोकतान्त्रिक विद्यार्थी सङ्घका अध्यक्ष रोशन मिश्र, अखिल (क्रान्तिकारी) का केन्द्रीय कार्यालय सदस्य नेत्रबहादुर शाही, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष प्रकाश चाम्लिङ राई, नयाँशक्ति विद्यार्थी युनियनका अध्यक्ष बलबहादुर रम्तेल, अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराई र अखिल (पाँचौँ) का अध्यक्ष पवित्रा आचार्यको हस्ताक्षर रहेको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“१) २०८१ चैत १५ गते कथित राजावादीद्वारा आयोजित प्रदर्शनको क्रममा भएको आगलागीमा परी पत्रकारको हत्या, व्यावसायिक भवनमाथिको आगजनी, तोडफोड र लुटपाटजस्ता अराजक, हिंसात्मक र आपराधिक गतिविधिप्रति हामी संयुक्त विद्यार्थी सङ्गठनको गम्भीर ध्यान आकर्षण भएको छ । देशको वर्तमान परिस्थितिमा जनताको असन्तुष्टिलाई दुरूपयोग गरी तथाकथित राजावादीको नाममा प्रतिगमन र पश्चगमनको दुष्प्रयासलाई संयुक्त विद्यार्थी सङ्गठनको तर्फबाट खारेज गर्दछौँ । हामी संयुक्त विद्यार्थी सङ्गठन स्पष्ट छौँ कि वर्तमान यथास्थितिको विकल्प पश्चगमन होइन, अग्रगमन हो । हामी उक्त हिंसात्मक घटनाका मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । उक्त घटनाको मुख्य योजनाकार ज्ञानेन्द्र शाह, पूर्व पञ्च, र घटनाका सम्पूर्ण मतियारमाथि अनुसन्धान अगाडि बढाई कडाभन्दा कडा कारबाहीको माग गर्दछौँ ।
२) त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले हठात् दिएको राजीनामाबारे संयुक्त विद्यार्थी सङ्गठनको गम्भीर ध्यान आकर्षण भएको छ । विश्वविद्यालयमा विगतदेखि नै लगातार सरकारका प्रमुख तथा विश्वविद्यालयका कुलपतिद्वारा चरम राजनीतिक हस्तक्षेप गर्ने र विश्वविद्यालयलाई तहसनहस गराउने षड्यन्त्र हुँदै आइरहेको छ । यो घटना पनि राजनीतिक भागबण्डाको परिणाम हो । यसरी सरकारले गर्ने हस्तक्षेपबाट विश्वविद्यालयको उपकुलपतिले राजीनामा दिनुपर्ने अवस्था आउनु दुःखद हो । हामी विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप र भागबण्डा मुक्त गर्न सरकारसँग जोडदार माग गर्दछौँ । यस्ता राजनीतिक हस्तक्षेपका गतिविधि दोहोरिरहे कडा प्रतिवाद गर्दै निर्मम सङ्घर्ष गर्ने चेतावनी दिन चाहन्छौँ ।”















